जोरगिन्हो चाहन्छन् मेस्सीले बालोन डोर जितुन्
काठमाडौँ- सन् २०२० मा बालोन डोरको विजेता घोषणा भएन । कोभिड-१९ महामारीका कारण फुटबल प्रभावित हुँदा बालोन डोर अवार्ड वितरण पनि स्थगित भयो । यस पटक भने बालोन डोर विजेता घोषणा गरिनेछ, आगामी डिसेम्बरमा ।
यस वर्ष दुई महत्वपूर्ण महादेशीय प्रतियोगिता भए, युरो च्याम्पियनसिप र कोपा अमेरिका । युरोपेली च्याम्पियन इटाली बन्यो भने दक्षिण अमेरिकी प्रतियोगिताको ट्रफी अर्जेन्टिनाले उचाल्यो । बालोन डोर पनि यी दुई टिमका कुनै एक खेलाडीले जित्ने अनुमान गरिएको छ ।
युरोमा इटालीका लागि गज्जबको खेल देखाएका जोरगिन्हो बालोन डोरका दाबेदार हुन् । उनले गत सिजन चेल्सीबाट च्याम्पियन्स लिग समेत जिते । उता अर्जेन्टिनाले झन्डै तीन दशक पछि उपाधि जित्दा नायक बने लियोनल मेस्सी । उनका लागि पनि राष्ट्रिय टिमबाट जितेको पहिलो उपाधि थियो, कोपा ।
यस्तोमा जोरगिन्हो र मेस्सीलाई बालोन डोरको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । जोरगिन्हो र बालोन डोरबारे एन्टोनियो कासानोले प्रतिक्रिया दिएका छन् । उनले दाबी गरेका छन्, जोर्गिन्हो आफैँ पनि मेस्सीले बालोन डोर जितेुन् भन्ने चाहन्छन् ।
‘मैले जोरगिन्होलाई केही समयअघि भेटेको थिए । मैले मेस्सीले बालोन डोर जित्नुपर्छ भने, त्यसमा उनले समर्थन जनाए । मेस्सीलाई बालोन डोर नदिइए, त्यो आफैँमा स्क्यान्डल हुनेछ,’ दुवै मिलान क्लब र रियल म्याड्रिडबाट खेलेका पूर्व स्ट्राइकर कासानो भन्छन् ।
केही समयअघि जोरगिन्होले बालोन डोर जित्ने प्रकारको खेल आफ्नो नभएको प्रतिक्रिया दिएका थिए । तर सर्वाधिक उपाधि जित्ने खेलाडीलाई मत दिइने हो भने बालोन डोर आफूले जित्नु पर्ने धारणा जोर्गिन्होले राखेका थिए ।
‘म विश्वकै सर्वोत्कृष्ट खेलाडी होइन । उपाधि जितेका आधारमा बालोन डोर दिइने हो भने, म यस सम्मानका लागि हकदार छु,’ जोर्गिन्होले गत महिना ब्राजिलको स्पोर टिभीसँगको अन्तवार्तामा भनेका थिए ।
मेस्सी र जोरगिन्हो बाहेक रोबर्ट लेवान्डोस्की, एनगालो कान्टे, क्रिस्टियानो रोनाल्डो, रोमेलु लुकाकु, किलियान एमबाप्पे लगायतका खेलाडी पनि बालोन डोर दौडमा छन् । विश्वभरबाट राष्ट्रिय फुटबल टिमका प्रशिक्षक र कप्तान अनि पत्रकारको मतदानका आधारमा बालोन डोरको विजेता चुनिन्छ ।