नेपाललाई पराजित गर्न र च्याम्पियनसिप जित्न सक्षम छौँः भारतीय प्रशिक्षक स्टिमच
काठमाडौँ- यसअघि सात पटक साफ च्याम्पियनसिप जितेको भारत यसपालि भने दबाबमा छ । माल्दिभ्सको मालेमा भइरहेको दक्षिण एसियाली फुटबलकै सबैभन्दा ठूलो प्रतियोगितामा भारतीय टिमले जित हासिल गर्न सकेको छैन । प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको भारतले आइतबार नेपालको सामना गर्दैछ ।
शतप्रतिशत जितका साथ अंक तालिकामा शीर्षस्थानमा रहेको नेपाल र भारतबीचको खेलले तरंग ल्याउने विश्वास गरिएको छ । दक्षिण एसियाली फुटबलमा नेपाल भारतलाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी ठान्छ । उता भारतका लागि नेपाल सजिलो विपक्षी होइन । यद्यपि हेड-टु-हेडमा भने भारत निकै अगाडि छ । साफ च्याम्पियनसिपमै पनि भारतले नेपाललाई पाँच पटक हराएको छ । नेपालले भने आफ्नै भूमिमा भएको साफ च्याम्पियनसिपमा छिमेकी भारतमाथि जित निकालेको थियो ।
गत सेप्टेम्बरमा भएका दुई मैत्रीपूर्ण खेलमा पनि भारतले एक जित निकाल्यो भने अर्को खेल बराबरीमा टुंगियो । हेड-टु-हेडलाई आधार मान्ने हो भने, अहिले पनि भारत नै नेपालभन्दा बलियो टिम हो । तर जारी साफ च्याम्पियनसिपमा नेपालको लय बलियो देखिएको छ । विगत र वर्तमानको लयलाई केलाउने हो भने, यी दुई टिमबीचको खेल जारी साफकै महत्वपूर्ण खेल मान्दा फरक पर्ने अवस्था छ ।
शनिबारको प्रि-म्याच कन्फ्रेन्समा भारतीय प्रशिक्षक इगोर स्टिमचले आफ्ना खेलाडीहरुले प्रदर्शनमा सुधार गर्नुपर्ने बताएका छन् । हुन त पहिलो खेलपछि नै स्टिमचले आफ्नो टिमको प्रदर्शनमा चित्त बुझाउन सकेका छैनन् । बंगलादेशसँगको बराबरीपछि स्टिमचले भनेका थिए, ‘मेरा खेलाडीहरु अनावश्यक रूपमा नर्भस भए । आफ्नो अनुभव अनुसारको खेल्न सकेनन् ।’
गोलका मौका सदुपयोग गर्न नसक्दा भारतले पछिल्ला दुई खेलमा जित हासिल गर्न नसकेको स्टिमचको भनाइ थियो । पहिलो खेलमा गोल गरेका कप्तान तथा स्ट्राइकर सुनिल क्षेत्रीले श्रीलंकाविरुद्ध गोलका मौका खेर फालेकोमा स्टिमच असन्तुष्ट देखिए । ‘हामीले डिफेन्सिभ गल्ती गरिरहेका छौँ । गोलका मौका खेर फालिरहेका छौँ । त्यहीभएर हाम्रो खातामा दुई अंक मात्र छ । अब हामीले लिग चरणका दुई खेल खेल्न बाँकी छ । हामीसँग गुनोसो पोख्ने समय छैन । बाँकी खेल जित्ने र फाइनल पुग्नेबाहेकको उपाय छैन,’ स्टिमचले भनेका छन् ।
खेलाडीबारे असन्तुष्टि पोखिरहँदा क्रोएसियाका स्टिमचले साफ च्याम्पियनसिप जित्ने सपना भने त्यागिसकेका छैनन् । दुई खेलबाट दुई अंकमात्रै बटुल्दा पनि स्टिमच आफूहरु च्याम्पियन बन्नकै लागि माले पुगेको बताइरहेका छन् ।
‘हाम्रा लागि सबै कुरा यथावत छ । केही पनि फेरिएको छैन । अपेक्षा गरे भन्दा कम अंक बटुलेर भए पनि हामी फाइनल पुग्न सक्छौँ । धेरै अंक बटुल्नु भन्दा फाइनल पुग्नु र उपाधि जित्नु हाम्रा लागि महत्वपूर्ण हो । यदि हामीले लिग चरणबाट छ अंक बनायौँ र फाइनल पुग्यौँ भने हामी असाध्यै खुशी हुनेछौँ,’ स्टिमचले भने ।
स्टिमचको यो किसिमको आत्मविश्वास भारतीय टिमका लागि जरुरी छ । यसको कारण, खेलाडीहरुको औसत लय हो । भारतीय खेलाडीहरू आफैँ पनि चिन्तित देखिएका छन् । ड्रेसिङ रुममा कोही पनि खुलेर बोल्न नसकिरहेको बताउँछन्, मिडफिल्डर ब्रान्डन फर्नान्डेज ।
‘पछिल्ला दुई खेलका कारण हामी सबै निराश छौँ । ड्रेसिङ रुममा सन्नाटा छाएको छ । तर हामी अन्तिम समयसम्म पनि लड्न तयार छौँ । नेपालसँगको खेल हाम्रा लागि महत्वपूर्ण हुनेछ । हाम्रो उदेश्य राम्रो खेल्ने र तीन अंक बटुल्ने हुनेछ । यसबेला नेपालले राम्रो खेलिरहेको छ ।
तर हामीले विपक्षी टिमबारे धेरै सोच्नेभन्दा पनि आफ्नैबारे सोच्ने बेला छ । हाम्रो स्तर हामीले मैदानमा देखाउन जरुरी छ,’ भारतको पहिलो श्रेणीको लिग खेल्ने एफसी गोवाका आक्रामक मिडफिल्डर फर्नान्डेजले भने ।