फर्गुसनभन्दा एलेग्री प्रतिभाशालीः प्याट्रिस एभ्रा
काठमाडौँ- फ्रान्सका प्याट्रिस एभ्राले आफ्नो खेल करियरमा युरोपका दुई ठूला क्लब म्यानचेस्टर युनाइटेड र युभेन्टसबाट खेले । फ्रान्सकै मोनाको, मार्से, निस, इंग्ल्यान्डको वेस्टह्याम युनाइटेडबाट पनि एभ्राले खेले । यद्यपि लिग भने युनाइटेड र युभेन्टसबाट मात्रै जिते । युनाइटेडबाट त उनी च्याम्पियन्स लिग विजेता पनि बने ।
करिब आठ वर्ष युनाइटेडबाट खेलेपछि एभ्रा सन् २०१४ मा युभेन्टस लागेका थिए । जहाँ उनले दुई पटक इटालियन सिरी ए जिते । एलेक्स फर्गुसन र मासिमिलियानो एलेग्रीजस्ता प्रतिभाशाली प्रशिक्षकहरूको प्रशिक्षणमा खेलेका एभ्राले फ्रान्सको राष्ट्रिय टिमबाट ८१ खेल खेल्ने मौका पाएका छन् ।
४० वर्ष पुगेका एभ्रा बेलाबेलामा आफ्नो धारणा राखिरहन्छन् । विशेष गरी आफ्ना पूर्वक्लबहरूको प्रदर्शनबारे उनको धारणा आउँछ । यसैबीच उनले फर्गुसन र एलेग्रीबारे आफ्नो धारणा राखेका छन् । इटालीको अखबार ला रिपब्लिकासँगको अन्तवार्तामा एभ्राले फर्गुसन र एलेग्रीबीच तुलना गरेका छन् ।
दुई सफल प्रशिक्षकबीच तु्लना गर्दै एभ्राले एलेग्री बढी प्रतिभाशाली भएको दाबी गरेका छन् । ‘मलाई लाग्छ एलेग्री बढी प्रतिभाशाली छन् । कुनै पनि खेल सुरु हुनुअघि नै उनी त्यस खेलबारे विश्लेषण गर्न सक्छन् । सन् २०१६ को च्याम्पियन्स लिगमा युभेन्टसले बोरुसिया डर्टमन्डको सामना गर्ने तालिका थियो । उनले हामीलाई यो खेल मैत्रीपूर्ण सरह हो । त्यसकारण आरामले जितिन्छ भनेर ढाँडस दिए । जबकि सिरी ए मा जेनोआसँगको खेल अगाडि हामीलाई असाध्यै डर देखाए । एलेग्री यस्तै छन् । उनी ठूला टिमसँग डराउँदैनन्,’ एभ्राले भनेका छन् ।