आइभरी कोस्ट विश्वकप छनाैटबाट बाहिर, नाइजेरिया र घानाको सपना जीवितै
काठमाडौँ- अफ्रिकातर्फको विश्वकप छनौट तेस्रो चरणमा प्रवेश गरेको छ । तेस्रो चरणमा १० टिमले स्थान सुरक्षित गरेका छन् । यी १० टिम आ–आफ्नो समूहको विजता बनेर तेस्रो चरणमा पुगेका हुन् । तेस्रो चरणमा अब यी टिमले प्लेअफ खेल्नेछन् । प्लेअफमा विजयी हुने पाँच टिम कतारमा हुने विश्वकप २०२२ का लागि छनौट हुनेछन् ।
क्यामरुन, ट्युनिसिया, अल्जेरिया र नाइजेरियाले मंगलबार राति प्लेअफमा सिट पक्का गरेका हुन् । क्यामरुनले आफ्नै मैदानमा आइभरी कोस्टलाई १–० ले पराजित गर्यो । क्यामरुनका लागि कार्ल टोको एकाम्बीले गोल गरे । जितसँगै क्यामरुन समूह डीको समूह विजेता बन्यो । ६ खेलबाट क्यामरुनले १५ अंक बटुल्यो । क्यामरुनसँग पराजित आइभरी कोस्टको खातामा १३ अंक छ ।
जित्नै पर्ने खेलमा क्यामरुनसँग पराजित भएपछि आइभरी कोस्टले कतार विश्वकप गुमाउने पक्का भएको छ । आइभरी कोस्टले लगातार दोस्रो पटक विश्वकप गुमाउन लागेको हो । प्लेअफमा जित हासिल गरेको खण्डमा क्यामरुनले सन् २०१४ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।
क्यामरुनसँगै ट्युनिसिया पनि विश्वकपको नजिक पुगेको छ । मंगलबार राति नै भएको खेलमा ट्युनिसियाले जाम्बियालाई ३–१ ले पन्छायो र समूह बी को हैसियतमा प्लेअफमा स्थान सुरक्षित गर्यो । यो समूहमा इक्वेटोरियल गिनी ११ अंकसहित दोस्रो स्थानमा सीमित रह्यो ।
समूह ए बाट अल्जेरिया छनौटको तेस्रो चरणमा पुगेको छ । समूहको आफ्नो अन्तिम खेलमा बुरकिना फासोसँग २–२ को बराबरीमा रोकिए पनि विश्वकपतिर लम्किरहेको अल्जेरियाको यात्रा रोकिएन । पहिलो पटक विश्वकपमा छनौट हुने प्रयासमा रहेको बुरकिनाका लागि जितको आवश्यकता थियो । तर बराबरीपछि उ अल्जेरियाभन्दा दुई अंकले पछि रहँदै दोस्रो स्थानमै सीमित रह्यो ।
तेस्रो चरणमा पुगेको नाइजेरियाले पनि मंगलबार राति बराबरी खेल्यो । समूह सी मा रहेको नाइजेरियालाई कापे भार्डेले १–१ को बराबरीमा रोक्यो । यो नतिजासँगै नाइजेरियाको खातामा १३ अंक जोडियो । नाइजेरियासँग पराजित कापे भार्डे भने समूह विजेताबाट दुई अंकको दूरीमा रह्यो ।
तेस्रो चरण तथा प्लेअफ पुगेका टिमः
अल्जेरिया
क्यामरुन
कंगो
इजिप्ट
घाना
माली
मोरोक्को
नाइजेरिया
सेनेगल
ट्युनिसिया