बुन्डेसलिगा राउन्ड–अप
हेर्थासँग डर्टमन्ड स्तब्ध, शीर्ष स्थानको बायर्नलाई नौ अंकको अग्रता
काठमाडौँ- शनिबार राति बोरुसिया डर्टमन्डले अप्रत्याशित पराजय भोगेपछि बार्यन म्युनिखले बुन्डेसलिगाको शीर्ष स्थानमाथि पकड बलियो बनाएको छ । हेर्था बर्लिनसँग ३–२ ले हारेपछि डर्टमन्डको लिग लिडर बार्यनसँगको दूरी नौ अंकमा पुगेको छ । समान १७–१७ खेल खेलेका यी बायर्न र डर्टमन्डको खातामा त्रमशः ४३ र ३४ अंक छ ।
यो सप्ताहन्तको पहिलो खेलमा बार्यनले उल्फ्सबर्गलाई पराजित गरेपछि डर्टमन्डलाई आफ्नो खेल जित्नै पर्ने दबाबमा थियो । अनिवार्य जितको खोजीमा हेर्थाको मैदान पुगेको डर्टमन्डले ३१ औँ मिनेटमा अग्रता लिएको थियो । तर युलियान ब्रान्डले गोल गरेको २० मिनेटपछि हेथौ खेलमा फर्कियो । उसका लागि इसाक बेलफोडिलले बराबरी गोल गरेका थिए ।
अग्रता पुनः स्थापित गर्ने ध्येयमा रहेको डर्टमन्डले दोस्रो हाफमा लगातार दुई गोल खायो । हेर्थाका लागि मार्को रिचरले दुई गोल गरे । ८३ औँ मिनेटमा स्टेफन टिगेसले गोल गर्दा डर्टमन्डले खेल बराबरीमा लैजाने संकेत गरेको थियो । तर उसले गोल थप्न सकेन ।
११ औँ स्थानको हेर्थासँग हारेपछि डर्टमन्डका गोलरक्षक मार्विन हिजले आफ्नो टिमले सजिलै खेल गुमाएको प्रीतक्रिया दिए । ‘हामीले सजिलै हार मान्यौँ । विशेषगरी दोस्रो हाफको सुरुवाती २० मिनेटमा हामीले केही गर्न सकेनौँ,’ हिजले भने ।
बुन्डेसलिगाको अर्को खेलमा फ्रान्कफर्टले मेन्जलाई १–० ले पराजित गर्यो । सात खेलमा छैटो जित हासिल गरेपछि फ्रान्कफर्ट पाँचौँ स्थानमा पुगेको छ । फ्रान्कफर्टको जति नै अंक भएको युनियन बर्लिन भने छैटो स्थानमा छ । शनिबार राति बोचुमलाई हराएपछि युनियन बर्लिनको २७ अंक भएको हो ।
उता होफेनहाइम र बोरुसिया मन्चुनग्लाडबागले १–१ को बराबरी खेले । पछिल्ला चार खेल हारेकाले अनिवार्य जितको खोजीमा रहेको मन्चुनग्लाडबागले होफेनहाइमविरुद्ध अग्रता लिएको थियो । उसका लागि ब्रिल एमबोलोले गोल गरेका थिए । तर ९० औँ मिनेटमा केभिन आक्पोगुमाले गोल फर्काएपछि होफनहाइमले अंक खोस्यो ।
आरबी लाइपजिगको भने खराब प्रदर्शन जारी रह्यो । शनिबार राति नै भएको खेलमा लाइपजिगलाई अर्मिनिया बेलेफेल्डले २–० ले स्तब्ध बनायो । रेलिगेसन क्षेत्रमा रहेको बेलेफेल्डसँग हारेपछि लाइपजिग नवौँ स्थानमा छ । १७ खेल खेलिसकेको लाइपजिगको खातामा २२ अंक छ ।