ग्वार्डिओला सही भन्थे, मेस्सीलाई रोक्न सकिँदैन
काठमाडौँ- मंगलबार राति च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर सिटी भिडे । युरोपियन क्लब फुटबलमा यी दुई टिमबीचको भिडन्तको व्यग्र प्रतिक्षा हुन्छ । र, यो स्वभाविक हो । किनभने दुवै टिममा एक सय एक खेलाडी छन् । अब त लियोनल मेस्सी पनि थपिएका छन् ।
उनै मेस्सीले मंगलबार राति पीएसजीको जर्सीमा पहिलो गोल गरे । संयोगवस्, आफ्ना पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीविरुद्ध । मेस्सी विश्व फुटबलको सर्वकालिन महान् खेलाडी हुन् भन्ने तर्क प्रस्तुत भइरहन्छ । मेस्सी आजको दिनमा जुन स्तरको खेलाडीका रुपमा परिचित छन्, यसमा योगदान ग्वार्डिओलाको पनि छ । किनभने युवा मेस्सीको प्रतिभा चिनेर, उनलाई निखार्ने काम ग्वार्डिओलाले नै गरेका हुन् ।
मेस्सीलाई बलिया भन्दा बलिया टिमविरुद्ध गोल गर्न सिकाएका ग्वार्डिओलाले उनलाई रोक्ने योजना पनि बनाएको हुनुपर्छ भन्ने अनुमान गरिएको थियो । तर ग्वार्डिओलाले आफ्ना पूर्व चेलालाई रोक्न सकेनन् । ग्वार्डिओला र सिटीलाई जे डर थियो, मंगलबार राति त्यही भइछाड्यो । मेस्सीले गोल गरे । र, पीएसजीलाई जिताए ।
पार्क डेस प्रिन्सेसमा भएको खेलमा पीएसजीले आठ मिनेटमै अग्रता लियो । गोल गरे मिडफिल्डर इिद्रिसा गुयले । पहिलो हाफ र दोस्रो हाफको करिब २० मिनेटसम्म पनि मेस्सीलाई रोकेको सिटी बराबरी गोल गर्ने निरन्तर प्रयासमा थियो । खेलमा इंग्लिस टिम हावी भइरहेको बेला मेस्सी र उनका साथीहरुबीच खासै तालमेल मिलिरहेको थिएन । तर खेलमा निर्धारित १५ मिनेट बाँकी रहँदा मेस्सीले गोल गरे । उनलाई साथ दिए, किलियान एमबाप्पेले । ३४ वर्षिय मेस्सीका लागि यो १२१ औँ च्याम्पियन्स लिग गोल थियो ।
ग्वार्डिओलाले मेस्सीलाई पटक पटक सर्वकालिन महान् फुटबलर भनेका छन् । ग्वार्डिओलाको यस्तो भनाइलाई मलजल गर्ने गरेको छ, मेस्सीको प्रदर्शनले । ग्वार्डिओलाले मेस्सी बार्सिलोनाको टिममा नभएको भए, च्याम्पियन्स लिग जित्न असम्भव भएको पनि बताउँदै आएका छन् । हुन पनि यी दुईको जोडीले बार्सिलोनालाई चार सिजनमा दुई च्याम्पियन्स लिगसहित १४ ट्रफी जित्न मद्दत गरेका थिए ।
बार्सिलोनामा रहँदा मेस्सीले कुल चार पटक च्याम्पियन्स लिग जिते । उनी पाँचौँ च्याम्पियन्स लिग पदकको खोजीमा छन् । पीएसजी भने पहिलो च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ । यस अर्थमा मेस्सी र उनको नयाँ क्लबको लक्ष्य मिलेको छ । अनि मेस्सीलाई नेयमार र एमबाप्पेको साथ पनि छ ।
मेस्सीलाई रोक्न नसकेकोमा सिटी निराश हुनुपर्छ । किनभने उसलाई मेस्सी र बाँकी पीएसजी टिमले कुन स्तरको चुनौती प्रस्तुत गर्न सक्छन् भन्ने थाहा थियो । फेरि सिटी आफैँ पनि बलियो टिम हो । पेरिस यात्रामा निस्कँदा, ग्वार्डिओलाले मेस्सीलाई रोक्ने मात्र होइन, पीएसजीको रक्षापंक्तिलाई छिचोल्ने योजना पनि सँगै लगेको हुनुपर्छ । तर उनको योजना सफल हुन सकेन । खेलमा सबै पक्षबाट बलियो रहे पनि नतिजामा भने सिटी कमजोर साबित भयो ।
पीएसजीसँग हारेपछि सिटी समूह ए को तेस्रो स्थानमा छ । चौँथो स्थानमा आरबी लाइपजिग छ । जो मंगलबार राति क्लब ब्रगसँग पराजित भयो । जर्मन टिम आफ्नो पहिलो खेलमा सिटीसँग हारेको थियो । यस समूहको शीर्षस्थानमा पीएसजी छ । उसले दुई खेलबाट दुई अंक जोडेको छ ।
गोलडट कमबाट