गोल्डेन ग्लोबमा महिला निर्देशकको वर्चश्व, इतिहासमै पहिलो पल्ट तीन निर्देशक मनोनयनमा
लसएन्जल्स : सन् २०१८ मा नाटालिया पोर्टमेनले गोल्डेन ग्लोबमा एउटा पनि महिला निर्देशकका फिल्म मनोनयनमा नदेखेपछि स्टेजबाटै भनेकी थिइन्, ‘अहो, मनोनयनमा सबै पुरुष मात्र ।’
पोर्टमेन यतिबेला उत्कृष्ट निर्देशकको अवार्ड वितरण गर्न मञ्चमा थिइन् । जब नाम घोषणा गर्नु अघि मनोनयनको प्लेट बज्यो, उनले आफ्नो असन्तुष्टि लुकाएर राख्न सकिनन् । त्यसको दुई वर्ष पछि गोल्डेन ग्लोबले इतिहास बनाएको छ ।
बुधबार साँझ मनोनयन सार्वजनिक हुँदा गोल्डेन ग्लोबमा एक दुई हैन तीन तीन महिला निर्देशक उत्कृष्ट निर्देशकको मनोनयनमा परेका छन् । यो साल ‘नोमाडल्यान्ड’बाट क्लोई झाउ, ‘प्रमिसिङ योङ मेन’बाट इमेराल्ड फेनल र ‘वन नाइट इन मियामी’बाट रेगना किङ मनोनयनमा परेका छन् ।
उत्कृष्ट निर्देशकको सूचीमा यो पालि तीन जनाले डेभिड फिन्चर र आरोन सोरकिनसँग प्रतिस्पर्धा गर्नेछन् । डेभिड फिन्चर ‘मंक’बाट उत्कृष्ट निर्देशकको मनोनयनमा छन् भने सोरकिन ‘ट्रायल अफ दि सिकागो सेभेन’ बाट उत्कृष्ट निर्देशकको मनोनयनमा छन् । गोल्डेन ग्लोबको इतिहासमा पहिलो पल्ट एक साथ दुई महिला निर्देशक मनोनयनमा परेका हुन् । योभन्दा अघि जम्मा ५ जना निर्देशक उत्कृष्ट निर्देशकको मनोनयनमा परेका थिए ।
मनोनयनका मामलामा महिला खासै भाग्यमानी छैनन् । अझ ९२ वर्षको अस्करको इतिहासमा पनि उत्कृष्ट निर्देशकको सूचीमा महिलाको मनोनयन लाजमर्दो छ । लामो इतिहास भएको अस्करमा अहिलेसम्म जम्मा ५ जना निर्देशक मनोनयनमा पर्न सफल भएका छन् । ७ दशक लामो गोल्डेन ग्लोबको इतिहासमा सन् १९८४ र १९९१ गरी दुई पटक मनोनयनमा परेकी बारब्रा स्ट्रेसान्डले मात्र एक पटक उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छिन् ।
बुधबार सार्वजनिक मनोनयनमा ‘मंक’ले सर्वाधिक ६ विधामा मनोनयन पाएको छ । यसैगरी टेलिभिजनतर्फ नेटफ्लिक्समा सार्वजनिक भएको ‘दि क्राउन’ले पनि समान ६ विधामा दाबेदारी प्रस्तुत गरेको छ । ‘मंक’ पनि नेटफ्लिक्समा रिलिज भएको हो । फिचर फिल्म र टेलिभिजन गरी नेटफ्लिक्समा रिलिज भएका ४२ फिल्म गोल्डेन ग्लोबको मनोनयनमा अटाएका छन् ।
गोल्डेनलाई अस्कर चिहाउने आँखीझ्यालको रुपमा लिइने गरेको छ । गोल्डेन ग्लोबमा मुख्य विधाका अवार्ड हत्याउने फिल्म तथा टेलिभिजन अस्कर अवार्डमा पनि मुख्य दाबेदार मानिन्छन् ।