२०२१ मा रिलिज हुने बार्नरका फिल्म ओटीटीमा पनि !
लसएञ्जल्स: बार्नर ब्रोजले सन् २०२१ मा रिलिज हुने तयारीमा रहेका सबै फिल्म ओटीटीमा पनि सार्वजनिक गर्ने निर्णय गरेको छ । हलिउडको ठूलो फिल्म निर्माण कम्पनीमध्ये एक मानिने बार्नरले सिनेमा हलसँगै ओटीटीमा पनि एकै दिन सिनेमा रिलिज गर्ने घोषणा गरेको छ । बार्नरका अनुसार फिल्म एक महिनाका लागि एचबिओ म्याक्समा पनि स्ट्रिमिङ हुनेछ ।
बार्नरले अघिल्लो हप्ता मात्र ‘वन्डर वुमन १९८४’ सिनेमा घरसँगै एचबिओ म्याक्समा पनि रिलिज गर्ने निर्णय गरेको थियो । सोही निर्णय पछ्याउँदै बार्नरले आफ्नो निर्माण कम्पनीबाट बनेर २०२१ को रिलिज मिति कुरिरहेका सबै फिल्म एचबिओमा पनि रिलिज गर्ने निर्णय गरेको हो । सिइओ एन सर्नाफले महामारीका कारण एक वर्षका लागि कम्पनीले कतै पनि दर्शक नुछुटुन भनेर यस्तो निर्णय लिएको बताएकी छिन् ।
‘यसरी रिलिज गर्दा हलले पनि खाली बस्नु पर्दैन र हलमा गएर फिल्म हेर्न रिस्क लिन नसक्नेले पनि घरमै बसेर सिनेमा हेर्न सक्छन्,’ उनले भनेकी छिन्, ‘ यो हल सञ्चालक र फिल्मप्रेमी दर्शक दुवैका लागि बराबर फाइदा हुने योजना हो ।’आउँदो साल बार्नरको रिलिज लिस्टमा ‘म्याट्रिक्स ४’, ‘ड्युन’, ‘टम एन्ड जेरी’, ‘गडजिला भर्सेज कङ’,‘ मोर्टल कम्ब्याट’, ‘कन्जुरिङ’ जस्ता फिल्म छन् ।