बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि
काठमाडौँ- बंगलादेशले पहिलो पटक एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) मा आज सम्पन्न फाइनलमा बंगलादेशले घरेलु टोली यूएईलाई १ सय ९५ रनले पराजित गर्दै बंगलादेशले पहिलोपटक यू-१९ एसिया कपको उपाधि चुमेको हो ।
बंगलादेशले दिएको २ सय ८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा यूएईले २४ ओभर ५ बलमा सबै विकेट गुमाएर ८७ रनमात्र जोड्न सक्यो ।
यूएईका लागि ध्रुव पाराशारले सर्वाधिक २५ रन बनाए । यूएईलाई सस्तैमा समेट्न बंगलादेशका रोहानात बोर्सन र मारुफ मृधाले ३-३ तथा शेख पिबेज र इक्वाल हुसेनले २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८२ रन जोड्यो । बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले १ सय २९ रनको योगदान गरे ।
यूएईका लागि अयमान अहमदले सर्वाधिक ४ तथा ओमिद रहमानले २ विकेट हात पारे ।