कोभिड महामारी
गण्डकीमा बेड नभएर संक्रमित फर्काउँदै अस्पताल
पोखरा : साउनको पहिलो दिन गण्डकीमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या २ हजार ८२१ थियो । बिहीबारसम्म यो संख्या बढेर ६ हजार ४४७ पुगेको छ । महिना दिन बित्न नपाउँदै झन्डै तेब्बर सक्रिय संक्रमित थपिएका छन् । मृतकको संख्या पनि बढ्दो छ । यही अवधिमा १२१ जनाले ज्यान गुमाइसकेका छन् ।
कोभिड संक्रमण बढिरहँदा खोप अभियानले भने तीव्रता पाउन सकेको छैन । न त बजारको भिडभाड नै कम भएको छ । न त स्वास्थ्य मापदण्ड नै पालना गरिएको छ । संक्रामक तथा सरुवा रोग अस्पताल, लेखनाथका कार्यकारी निर्देशक डाक्टर विकास गौचन खोप केन्द्रको भिडभाड, व्यापार व्यवसायका कारण कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको बताउँछन् । ‘स्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन, खोप केन्द्रमा भिडभाड त सबैले देखेकै छौं, लगाउन सक्ने जति खोप पनि नलगाउँदा अवस्था डरलाग्दो हुन पुगेको छ,’ गौचनले भने ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार गण्डकी प्रदेशभर २ लाख ३७ हजार १२५ जनाले मात्र कोभिडको पूरा डोज खोप पाएका छन् । यो कुल जनसंख्याको ९ दशमलव ८८ प्रतिशत हो । माघ १४ गतेबाट कोभिड खोप लगाउन सुरु गरिएको थियो । पहिलो चरणमा स्वास्थ्य जनशक्तिलाई खोप लगाएर अभियान सुरु भएको ८ महिना बित्दा यति कम मात्रामा खोप लगाइएको हो । ५ लाख ४८ हजार ८ सय ८० जनाले कोभिड खोपको पहिलो डोज लगाएका छन् ।
कास्कीमा निःशुल्क कोभिड उपचार दिने दुई सरकारी अस्पतालमा संक्रमितको चाप बढ्दो छ । दुवै अस्पताल कोभिड संक्रमितले भरिएका छन् । प्रदेशकै ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले अहिले ११५ जना कोभिड संक्रमित राखेर उपचार गराइरहेको छ ।
अस्पतालका कोभिड फोकल पर्सन डाक्टर शरद बरालका अनुसार ८५ जना बिरामी आइसोलेसनमा छन् । इमर्जेन्सीमा राखिएका शंकास्पद बिरामी र पीसीआर परीक्षणमा नेगेटिभ आएर सिटी स्क्यान, एक्सरे गर्दा कोभिड देखिएका बिरामीलाई जनरल वार्डमा राखेर उपचार गराइएको छ । ‘इमर्जेन्सी, जनरल वार्डमा पनि बिरामी राखेर उपचार गर्नुपरेको अवस्था छ, अस्पतालको पूर्वाधार पनि बढाउँदै लगिएपनि बिरामीलाई अहिले तत्काल हरसम्भव तरिकाले व्यवस्था गरेका छौं,’ बरालले भने ।
अस्पतालले ओपिडीका बिरामीलाई डिस्चार्ज गरेर शंकास्पद संक्रमित र अन्य संक्रमितलाई उपचार दिइरहेको छ । संक्रमितहरु अस्पतालमा बेड कुरिरहनुपर्ने अवस्था सिर्जना भएकाले केही ‘स्टेबल’ भएका बिरामीलाई घर पठाएर संक्रमितहरुको उपचार गरिरहेको डाक्टर बरालले बताए ।
‘जसोतसो अहिलेसम्म म्यानेज गरेका छौं, स्टेबल बिरामीलाई पठाएर संक्रमित राखेर उपचार दिएका छौं, ओपिडिमा पनि चाप छ, संक्रमितहरु पनि राख्नुपरेको छ,’ उनले भने । अहिलेसम्म अस्पतालले बिरामी फर्काउनु नपरेपनि त्यो अवस्था आउन सक्ने बरालको अनुमान छ । ‘अहिलेसम्म त फर्काउनुपरेको छैन, अवस्था भयावह बन्दै छ, बेड सक्दो बढाएका छौं,’ बरालले भने ।
प्रदेश सरकारले बनाएको संक्रामक तथा सरुवा रोग अस्पतालमा अहिले ५५ जना कोरोना संक्रमित छन् । कोरोना संक्रमितका लागि ५० बेड छुट्याइए पनि इमर्जेन्सी वार्डमा राखेर उपचार गराइरहेको अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचन बताउँछन् ।
‘इमर्जेन्सीमै राखेर उपचार गराउनु परेको छ, जनशक्तिको पनि अभाव छ, विशेषज्ञ चिकित्सक, नर्स, बायो मेडिकल टेक्निसियन सबै कम छन्,’ गौचनले भने । अस्पतालमा अहिले दिनहुँ ५–१० बिरामी फर्काउनुपर्ने अवस्था आइसकेको गौचनले बताए । ‘बिरामी फर्काउने इच्छा होइन, बेड नै अपुग छ, समयमै स्वास्थ्य प्रणालीको स्तरोन्नति नभएपछिको नतिजा हो,’ उनले भने । अस्पतालमा ३४ वटा हाई डिपेन्डेन्सी युनिट (एजडियु) र ६ वटा आइसीयुमा बिरामी भरिभराउ छन् ।
अक्सिजनको माग फेरि चुलियो
कोभिड १९ संक्रमितको संख्या बढेसँगै अक्सिजनको माग पनि चुलिएको छ । पोखराका दुई अक्सिजन उत्पादक कम्पनीले अहिले दिनहुँ १ हजारभन्दा बढी सिलिन्डर अक्सिजन उत्पादन गरिरहेका छन् । कालीगण्डकी अक्सिजन प्रालि र पोखरा अक्सिजन प्रालिले अहिले पोखरा र आसपासका जिल्लामा अक्सिजनको व्यवस्थापन गरेका छन् ।
कालीगण्डकी अक्सिजन प्रालिका सञ्चालक कालीदास बराल अहिले अक्सिजनको माग बढेपछि चौबिसै घन्टा नै काम गरेर दैनिक ५५० देखि ६०० सिलिन्डर अक्सिजन उत्पादन भइरहेको दाबी गर्छन् । यस कम्पनीले पोखराका निजी अस्पतालहरुमा अक्सिजन आपूर्ति गरिरहेको छ । कम्पनीबाट मेडिसिटी र मणिपाल अस्पतालमा सबैभन्दा बढी अक्सिजन जाने गरेको छ ।
यस्तै अर्को कम्पनी पोखरा अक्सिजन प्रालिले दिनहुँ ६०० देखि ८०० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको सञ्चालक दीपक भण्डारी बताउँछन् । ‘कामदार नै थपेर काम गराउनुपरेको छ, असारको अन्तिम सातापछि अक्सिजन माग चुलिएको हो,’ भण्डारीले भने । यस कम्पनीबाट दिनहुँ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले ३ सयभन्दा बढी सिलिन्डर र संक्रामक रोग अस्पतालले एक सयको हाराहारीमा अक्सिजन सिलिन्डर लैजाने गरेका छन् ।
संक्रामक रोग अस्पतालमा तीन वटा समूहले १ करोडको अक्सिजन प्लान्ट जडान गरेपनि प्रयोगमा भने आउन सकेको छैन । दिनमै एक लाखभन्दा बढी लिटर अक्सिजन उत्पादन गर्न सक्ने भनिएको प्लान्ट नै बिजुलीको समस्याले प्रयोगविहिन बनेको हो ।
पुरी फाउन्डेसन, पोखरा महानगर र एनआरएन बेल्जियमको सहयोगमा टर्कीबाट सो प्लान्ट नेपाल ल्याइएको थियो । ‘बिजुलीको समस्याले हामीले अहिले प्लान्ट चलाउन सकेनौं, अब ट्रान्सफर्मरदेखि बिजुलीका सबै समस्या हटाउन सकेमात्र प्लान्ट काममा आउँछ,’ अस्पताल प्रमुख विकास गौचनले बताए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक दिनमै दुई सय सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट जडान गरिएको छ । नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चले ६ साउनमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि ठूलो क्षमताको अक्सिजन प्लान्ट पठाएको थियो ।
के छ सरकारको तयारी ?
प्रदेश सरकारले तेस्रो लहर आउन सक्ने भन्दै तयारी थालेको छ । बालबालिकाका लागि लक्ष्य गरेर सबै जिल्ला अस्पतालमा पीआइसीयु (प्याडियाट्रिक आइसीयु) बनाउन प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम निकासा गर्न लागेको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले जानकारी दिए । मनाङ, मुस्ताङलाई ५०÷५० लाख र अरु जिल्ला अस्पताललाई ६० लाख रुपैयाँका दरले रकम निकासा गरिने उनले बताए ।
यस्तै बालबालिकाका लागि आइसोलेसन सेन्टर पनि बनाउने गरी निर्देशन गरिएको केसीले बताए । ‘असोजभित्र तेस्रो लहर सुरु हुने भन्ने छ, त्यसअघि नै बालबालिकाहरुका लागि आइसोलेसन बनाउन भनिएको छ,’ केसीले भने । खोप लगाउनेहरुले मास्क नलगाउने, कोभिड १९ संक्रमण सकिएझैं गर्दा अहिले कोभिड १९ महामारी बढिरहेको केसीको भनाइ छ ।
आइसियु, भेन्टिलेटर कति ?
स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार प्रदेशभर ५ सय ८१ आइसोलेसन बेड छन् । तीमध्ये ४ सय ६२ बेड खाली छन् । संक्रमितहरु होम आइसोलेसनमै बसेपछि आइसोलेसन बेड खाली भएका हुन् । प्रदेशभर ६ हजार २२१ जना संक्रमित अहिले होम आइसोलेसनमै बसेका छन् । प्रदेशमा २१४ आइसियु बेड रहेकोमा अहिले १४३ आइसियु खाली छन् ।
यस्तै एजडियु बेड २९९ वटा खाली रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका आइसियु, एजडियु भने भरिइसकेका छन् । अस्पतालका डाक्टर डेभिड श्रेष्ठ भन्छन्, ‘अस्पतालका आइसियु, एजडियु सबै भरिएका छन्, स्वास्थ्य निर्देशनालयले प्रत्येक घन्टा आइसियु, भेन्टिलेटरको अवस्था अपडेट नगर्दा समस्या आएको छ ।’
कोरोनाको अवस्था भयावह बन्दै जाँदा यतिको संख्याले बिरामीलाई अपुग हुने देखिन्छ ।