गण्डकीमा पुन: अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउन माओवादीको सिफारिस
काठमाडौँ - नेकपा माओवादी केन्द्रले आफ्ना नेता अमिक शेरचनलाई गण्डकी प्रदेश प्रमुख नियुक्ति गर्न सिफारिस गरेको छ । आज मंगलबार बसेको स्थायी कमिटी बैठकले शेरचनलाई नै प्रदेश प्रमुखका लागि सिफारिस गर्ने निर्णय गरेको हो । 'आजको हाम्रो बैठकले उहाँ (अमिक शेरचन) लाई प्रदेश प्रमुख बनाउन सिफारिस गरेको छ । आजको क्याबिनेट बैठकले नियुक्त गर्नेछ' माओवादी केन्द्र स्रोतले इकागजसँग भन्यो ।
स्रोतका अनुसार आजै लुम्बिनी प्रदेशमा पनि कांग्रेसको तर्फबाट प्रदेश प्रमुख नियुक्त हुँदैछन् । प्रदेश २ मा पनि प्रदेश प्रमुखलाई पदमुक्त गर्ने तयारी भए पनि नियुक्त भने केही समयपछि गर्ने बताइएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा खारेज भएसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश प्रमुख रहेका शेरचनलाई पदमुक्त गरेर सीता पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले शेरचनलाई बैशाख २० गते पदमुक्त गरेकी थिइन् । सरकारले गण्डकीसहित प्रदेश २ र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख फेर्न गठबन्धनका दलबीच सैद्धान्तिक सहमति भइसकेको छ ।