विमानस्थल र सिंचाईको लडाइँले मझेरी पाटन डुबानमा
पोखरा : पोखरा-१४ मझेरीपाटनका लक्ष्मण कार्की बुधबार राति निदाउन सकेनन् । लगातार झरी परेपछि उनलाई निद्रा परेन । ११ बजिसक्दा पनि उनलाई निद्रा नपरेपछि उनी गाउँकै साथीहरूलाई फोन गर्दै थिए । उनले आफ्नो घरको आँगनमै पानीको मात्रा बढि देखे । छिमेकका घरमा पनि पानीले पहिलो तला डुबाउला जस्तो गरिसकेको थियो ।
त्यस रात आफ्नो घरको पहिलो तला डुबानमा पर्नेमा उनमा पक्का भइसकेको थियो । ‘पानी परेको पर्यै थियो, निदाउनै सकिनँ, पछि पानीको बहाब धेरै बढेको देखेपछि छिमेकका साथीहरूलाई फोन गरें,’ उनी भन्छन्, ‘चट्याङचुटुङ गरिरहेको थियो निस्कनै डर लाग्ने गरी, एकछिन ननिस्कौं भन्ने सल्लाहले डराएर घरैभित्र बस्यौं ।’
पानी झन्झन् बढ्दै गयो । त्यसपछि भने लक्ष्मण घरैभित्र बसिरहन सकेनन् । उनी घरबाहिर निस्के । घरको पहिलो तलाभरि पानी छिरिसकेको थियो । बल्लतल्ल बाहिर निस्के । घरबाहिरको केही उकालो भागमा गएर कार्कीको परिवार बस्यो । ‘ढलान घर हुनेहरू ढलानमा बसे, ढलान नहुनेहरू त सबै सडकको बास बस्नुपर्यो,’ कार्की भन्छन्, ‘राति बादल खेलेपछि मनमा डर बढेर आउँछ ।’
यो नियति लक्ष्मणले भोग्न थालेको ५ वर्ष भएको उनको दाबी छ । ५ वर्षदेखि चैतमै पनि आफूहरू डुबानमा पर्ने गरेको कार्कीले सुनाए । ‘विमानस्थल बनाउन सम्मो बनाएदेखि हामी चैतमै पनि डुबानमा पर्छौं,’ कार्कीले बताए । त्यहाँ ढल र पानीको व्यवस्थापन गर्न पोखरा अन्तर्राष्ट्रिय विमानास्थलले नहरको व्यवस्था गरेको छ । विमानस्थलले नहर बनाएर पानीलाई विजयपुर खोलामा मिसाएको छ । तर नहरले पानी नथेक्दा बगेको पानीले वस्ती नै डुबानमा परेको कार्कीको आरोप छ ।
‘पहिला त्यहाँ रहेका ४ वटा नहर ब्लक गरेर रनवे बनाए । ४ वटै नहर ब्लक गरेर एउटामात्र नहर बनाएपछि पानी कसरी थेग्छ ? डिपिआरमा त रनवेले ब्लक गरेका ४ नहरको पनि व्यवस्थापन गरिने भन्ने छ भन्ने सुन्छु,’ कार्की सुनाउँछन्, ‘विमानस्थलले सिंचाईलाई दोष दिन्छ, कुलोले पानी नथेग्दा हामी दण्डित हुन्छौं ।’
विमानस्थलले ढलको उचित व्यवस्था नगर्दा आफूहरूको खानेपानी मुहान नै सुकेको कार्कीको आरोप छ । मुहानमा स्थानीयले बनाएको संरचना पनि विमानस्थलले क्षतविक्षत बनाएको उनले बताए । ‘पाइपहरू सबै क्षतविक्षत भए, २५ लाखको लागतमा हामी आफैंले बोरिङ बनाएर पानी खाइरहेका छौं,’ कार्की बताउँछन् ।
बुधबार राति पोखरा १४ को साधनामार्ग टोल विकास संस्थाका २५ घर पुरै डुबानमा पर्ने खतरा थियो । तर विमानस्थलले बनाएको नहरबीचमै भत्केर केही पानी अन्यत्र गएपछि वस्ती जोगिएको कार्कीले बताए । स्थानीको आवाज सुन्न कोही पनि तयार नभएका बेला क्षतिपूर्ती पाउने आशा नरहेको उनले सुनाए । ‘विमानस्थलका प्रमुख त सबै मैले गरें, पुरस्कृत हुन्छु भन्दै हामीसँग बोल्नुहुन्न, हाम्रो आवाज सुन्ने कसले ?’ उनको प्रश्न छ ।
स्थानीय हेमन्त पौडेल पनि आफूहरूको सबै लगानी वर्षेनी पानीले बगाउने गरेपनि विमानस्थल, महानगर मौन रहेको बताउँछन् । विमानस्थलले ढलको व्यवस्थापन गर्न नसकेको र स्थानीको तर्क पनि सुन्न नचाहेको उनको आरोप छ । ‘हाम्रो कुरा सुन्न खोज्दैनन्, नहर पनि लामो बनाएर वस्तीबाटै झारेका छन्, नहरको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पनि होल्डमा छ,’ उनले भने । विमानस्थलले बनाएको नहर पनि गुणस्तरहिन रहेको उनको आरोप छ ।
विमानस्थल भने स्थानीयको आरोप गलत भएको र सिंचाई कार्यालयले पानी नकाटिदिँदा समस्या आएको बताउँछ । विमानस्थलका इन्जिनियर कृष्ण पौडेल साविकका नहरमा सिंचाईले पानी नकाटिदिँदा विमानस्थलले दोष पाउने गरेको बताए । सिंचाईको आवश्यकतै नरहेको विमानस्थलमा पानी पठाइँदा समस्या आएको पौडेलले बताए । ‘विमानस्थल बनेपछि पनि सिंचाई आइरहेको छ । सिंचाईले पानी कट गर्नुपर्यो नि,’ पौडेलले सुनाए ।
पानीको स्रोत विमानस्थल नभएको र आफूहरूले झनै पानीलाई व्यवस्थित गरेर खोलामा मिसाएको पौडेलको दाबी छ । ‘मणिपाल, फूलबारीबाट पानी बगेर आउँछ । हाम्रै स्रोत भएको भए पनि एउटा कुरा, हामी त नहर बनाएर पानीको व्यवस्थापन गरिदिएका छौं,’ उनले भने । स्थानीयलाई विमानस्थलले समस्या नबनाएकाले क्षतिपूर्ती अन्य कुनै निकायले दिनुपर्ने उनको राय छ ।
यता सिंचाई कार्यालय, पोखराका प्रमुख किरण आचार्य विमानस्थलमा नहर व्यवस्थापन बुझेको कर्मचारी नै नभएको भन्दै कटाक्ष गर्छन् । सिंचाईको काम सिंचाई गर्ने भएकाले अन्य कुनै काममा दोष लगाउनु नपर्ने उनको भनाइ छ । ‘सिंचाईको नामै काफी छ, सिंचाई गर्ने हो, अरु काममा दोष लगाउनुपर्दैन,’ उनले भने, ‘विमानस्थलमा नहर व्यवस्थापन बुझेको र व्यवस्थापनको क्यापासिटी भएको मान्छे नै छैनन् ।’
अहिले विमानस्थलको काम लगभग अन्तिम चरणमा छ । अबको ६ महिनामा विमानस्थलको काम सकिने आयोजनाका पदाधिकारी बताउँछन् । २०१७ बाट निर्माण सुरु भएको विमानस्थल २२ अर्ब चिनियाँ ऋणमा बनिरहेको हो ।