२०७७ को समीक्षा

२०७७ को समीक्षा-८

शरीरमा भाइरसको डर, सम्पदा-संस्कृतिमा सरकारको !

सुनीता साखकर्मी |
बैशाख १, २०७८ ७:३० बजे

सडक सुनसान । चोक सुनसान । गल्ली सुनसान । २०७७ को सुरुवात सुनसान-सुनसान नै थियो । गएको वर्ष सडक मात्र हैन, थुप्रैका मन पनि सुनसान रहे । जात्रामा रमाउने समुदाय घरभित्रै थन्किन बाध्य भयो । साथीभाइ, ईष्टमित्र, आफन्तसँग भेट भएन । न्यु इयरको पार्टीमा झुम्‍नेहरू, न्यु इयरमा घुम्‍न जानेहरू, जान पाएनन् ।

विश्वभर फैलिएको कोभिड-१९को कहरले नेपालको कला संस्कृति र सम्पदामा पनि त्यत्तिकै असर पुर्‍यायो । कोभिड-१९ बाट जोगिन सरकारले ‘लकडाउन’ (बन्दाबन्दी) घोषणा गरेपछि नेवार समुदायले हरेक वर्ष मनाउने जात्रा स्थगित भए ।  


उपत्यकाका जात्रा-पर्व पनि कोभिड-१९को चपेटामा परे । ‘आर्यवलोकितिश्वर’ (सेतो मछिन्द्रनाथ)को रथ यात्रा भएन । यात्रा नभएपछि क्षमा पूजा गरियो । असन र टुँडिखेलमा अजिमाहरूको खट जुधाउने ‘पाहाँस्चह्रे जात्रा’, ‘घोडेजात्रा’ लगायत जात्राहरूलाई पनि सामान्य विधिवत् पूजाआजामा मात्रै सीमित राखियो । भक्तपुरको टोलटोलमा देखाइने ‘नवदुर्गा’ नाच भएन । झन्डै चार सय वर्ष पछि फेरि एक पटक ‘बिस्काः जात्रा’ औपचारिक पूजाआजामा मात्रै सिमित भएको थियो । ठिमीको ‘सिन्दुर जात्रा’, ‘जिब्रो छेड्ने जात्रा’ केही भएन । चैत २७ गते नै बनाउनु पर्ने पाटनको रातो मच्छिन्द्रनाथको रथ पनि समयमा बन्‍न पाएन । 

रोग नयाँ थियो । उपचार फेला परेको थिएन । मानिसहरूमा त्यसै त्रास फैलिएको थियो । यस्तोमा मानिसहरूका लागि जात्रा भन्दा ठूलो थियो स्वास्थ्य । नेवारहरूको मात्रै नभई देशव्यापी रूपमा मानिसहरूको चाडपर्व प्रभावित बन्यो । जात्रासँगै पर्वहरू मातातीर्थ औंशी, बुद्ध जयन्ती, उभौली पर्व, चण्डेश्वरी जात्रा, ईद उल फितर, सिथि नखः, साउने संक्रान्ति, गथांमुगः चःह्रे, गुँला पर्व, ईद उल अधा, जनै पूर्णिमा (रक्षाबन्धन), गाईजात्रा, श्रीकृष्ण जन्माष्टमी, कुशे औंसी, हरितालिका तीज, गौरा पर्व, इन्द्रजात्रा, जितिया पर्व, मत्स्यनारायण मेला, दसैँ, तिहार, छठ लगायत थुप्रै चाडपर्व प्रभावित भयो । हिन्दु, मुस्लिम, बौद्ध, इसाईलगायत हरेक जात जाति, भाषा, धर्मका मानिसलाई रोगले असर गर्‍यो । 

धेरैलाई यो समय उकुसमुकुस भयो । तर भक्तपुर नगरपालिकाले भने यो समयको राम्रो सदुपयोग गर्‍यो । भक्तपुर नगरपालिकाले जीर्ण सम्पदाको पुनःर्निर्माण गर्यो । नगरबासीलाई आफ्नो टोल र नगरभित्रका काममा संलग्न गराउँदै सम्पदा पुनःर्निर्माण गर्‍यो । २०७२ सालको विनाशकारी महाभूकम्पले क्षतिग्रस्त ङातापोल(पाँचतले) मन्दिर स्थानीय कालिगढ, महिला, पुरुष मिलेर श्रमदान गरी बनाए । नगरबासीले सम्पदा बनाउनको लागि आर्थिक सहयोग पनि दिए । नगरपालिकाका थुप्रै सम्पदा यसरी नै बने । भक्तपुरको च्यामासिंह ध्वाका (ढोका) बन्यो । छिपा ताः (हनुमानघाट पुल) ढलान गर्ने, सूर्यमढीस्थित टुलुहिटीको निकास खोल्ने, ऐतिहासिक मंगलतीर्थ शिवालय परिसरको पर्खाल शिलान्यास गर्ने, जनस्वास्थ्य सेवा केन्द्र अगाडिको फार्मेसी ब्लक ढलान कार्य सम्पन्‍न भयो । 

महाभूकम्पले भत्काएको काठमाडौंको रानीपोखरी पनि पुरानै शैलीमा कात्तिक ५ गते उद्घाटन भयो । भूकम्पले उपत्यका र उपत्यका बाहिरका गरी ८ सय ९१ सम्पदा क्षतिग्रस्त भएका थिए । जसमा ४ सय ५५ सम्पदा पुनर्निर्माण भएका छन् । जात्रापर्व मनाउन नपाएपनि मानिसले भर्चुअल्ली पर्व मनाउन छाडेनन् । मातातीर्थ औंशी, कुशे औसी, दसैँ, तिहार लगायत थुप्रै चाडपर्व भिडियो कलबाटै मानिसले मनाए । एक हिसाबले संस्कृति भर्चुअलतिर सर्‍यो । वर्षको सुरुवातमा मानिसलाई जात्रापर्व भन्दा स्वास्थ्यको चिन्ता थियो । आफू र आफ्ना परिवारलाई कोभिड १९ संक्रमण हुन्छ भनेर सतर्क थिए । मास्क, स्यानिटाइजर लगाउनेको संख्या ह्वात्त बढ्यो । अत्यावश्यक नभई बाहिर निस्कदैनथे मानिसहरू । तर वर्षको अन्त्यसम्म आइपुग्दा मानिसलाई स्वास्थ्य भन्दा पनि आफ्नो रीतिरिवाज, परम्पराको मोह बढी भएको देखियो । जसले गर्दा विवाद पनि सामना गर्नुपर्‍यो । 

कोरोना १९ को संक्रमण बढेपछि भदौ ३ गते राति १२ बजेदेखि उपत्यकामा निषेधाज्ञा जारी भएको थियो । त्यसको एक हप्तापछि भदौ १० मा निषेधाज्ञा एक हप्ता थपियो । तर कोभिड संक्रमितहरूको संख्या घटेन । झनै बढ्दै गयो । तत्कालीन समयमा उपत्यकामा मात्रै ५ हजार बढी सक्रिय संक्रमित थिए । त्यसपछि फेरि भदौ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो । 

कोरोना महामारीको जोखिमकाबीच लगाइएको निषेधाज्ञाको अवज्ञा गर्दै भदौ १८ गते सयौँ नेवार समुदायको उपस्थित भएर रातो मच्छिन्द्रनाथको रथ सडकमा ल्याए । हुनतः रातो मच्छिन्द्रनाथको रथ चैत २७ गते नै बनाउनुपर्ने थियो । तर कोभिड १९ को कारण रथ बन्‍न सकेन । रातो मच्छिन्द्रनाथको इतिहास पुरै उपत्यकासँग जोडिएको छ । मलमास सुरु हुनु अघि नै रथ तान्‍ने काम सकिसक्नुपर्ने थियो । तर लामो समय यो जात्रा हुन सकेन । 

असार १० गते लकडाउन खुकुलो भएपछि गुठी संस्थानले रथ बनाउन अनुमति दिएपछि स्थानीयहरूले रथ बनाउन थाले । रथमा बुंगमतीको बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथ पनि राखियो । रथ तयार भएपछि भने निषेधाज्ञा जारी भइरहेको थियो । सो समयमा मानिसहरू आपसी सद्भावका कारण रथ तान्‍न सडकमा ओर्लिएका थिए । 

ज्यानको बाजी थापेर मानिसहरू आए । ललितपुरको पुल्चोकमा भेला भएका सयौँ स्थानीयवासी र गुठियारलाई प्रहरीले तितरबितर पार्न खोजे । प्रहरीले भीड तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्‍यो । त्यसपछि स्थानीयले पनि प्रहरीमाथि ढुंगा बर्सायो । एकजना ट्राफिक त नराम्रोसँग कुटिए ।

वर्षको सुरुवातमा स्वास्थ्य ठूलो थियो तर साल बिदाइ गर्दासम्म कला-संस्कृति र सम्पदा स्वास्थ्य जस्तै महत्वपूर्ण बनेको देखियो ।

रथ तान्‍ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएपछि १९ गते ललितपुर महानगरपालिका क्षेत्रमा शुक्रबारका लागि ललितपुरको प्रमुख जिल्ला अधिकारीले कफ्र्यु नै जारी गर्नुपर्‍यो । त्यसपछि ललितपुर महानगरपालिका भित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथ भित्र पर्ने सम्पूर्ण क्षेत्रमा १९ गते बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म कफ्र्युको आदेश जारी गरेको थियो । यो आदेशको उल्लंघन गरी घरबाट बाहिर निस्केमा वा अन्य काम गरेमा सुरक्षाको लागि खटिएका सुरक्षा अधिकारीले गोलीसमेत हान्‍न सक्ने उल्लेख गरेको थियो । 

सौहार्द वातावरणमा गरिने यस्ता जात्रा पर्वले हिंसात्मक रूप लियो । कोभिडको समयमा रथ तान्‍न आउनेलाई विभिन्‍न ट्याग भिडाइयो । सामाजिक सञ्जालमा टीकाटिप्पणी समेत भयो । १४ सय वर्ष पुरानो इतिहास बोकेको रातो मच्छिन्द्रको रथ यात्रा पनि विवादको सिकार बन्यो । 

यो मात्रै होइन, यो वर्ष अन्य थुप्रै सम्पदा विवादित बने । जस्तो कि, काभ्रेपलाञ्चोकको पनौती, काठमाडौंको कमलपोखरी, पशुपतिनाथ मन्दिर, धरहरा, चाबहिलको घाट, धनकुटाको खुवालुङ, बालाजु बाइपास, खोकनाआदि इत्यादि । यसमध्येका केही विवाद पुरानै हुन् भने केही नयाँ सिर्जना भए । 

काभ्रेको पनौती नगरपालिका, ७ नम्बर वडा कार्यालयले २३ वैशाखमा जारी गरेको एउटा सूचनाले सामाजिक सञ्जाल तरंगित भयो । वडाको पुरानो बजार, स्मारक क्षेत्रभित्र नेवार जाति बाहेकका अन्यलाई घर किनबेच गर्न सिफारिस लिन आएमा सेवा प्रवाह नगर्ने निर्णय सूचनामा जनाइएको थियो । 

सामाजिक सञ्जालमा यो सूचना निकै नै आलोचित भयो । वडाको यस्तो निर्णय संविधान र कानुनसम्मत नभएको भन्दै त्यसको चर्को आलोचना गरिएको थियो । केहीले संविधान विपरीत भएकोसमेत टिप्पणी गरे । सूचनाको व्यापक बिरोध भएपछि वडा कार्यालयले सूचना परिमार्जन गर्‍यो । परिमार्जित सूचनामा बिक्री निषेध गरिएको थिएन बरु रैथाने बासिन्दाले आफ्ना पुरातात्विक घर-संरचना बिक्री नगरी संरक्षण गर्न चाहे सहयोग गर्ने जनाइएको थियो । 

चाबहिलका नेवारले दाहसंस्कारका लागि मृतकलाई हालको ओम अस्पताल पछाडि रहेको पिंग द्यः (गंगाहिटी) लैजाने गर्छन् । केही समयअघि पनि त्यहाँ विवाद भयो । घाट वरिपरिका स्थानीयले विरोध गरे । हरेक पटक शवको अन्त्येष्टि गर्ने क्रममा त्यहाँ विवाद हुने भएकाले त्यहाँ अहिले अत्याधुनिक अन्त्येष्टि गर्ने घाट निर्माण भएको छ । महानगरपालिकाको अनुमतिमा घाट बनेको छ । 

यस्तै विवादको अर्को थलो हो, ललितपुरको खोकना । काठमाडौं र तराई जोड्ने गरी बनाइन लागेको द्रूतमार्ग (फास्ट ट्रयाक) ले प्राचीन बस्ती खोकना र बुङमती नै नामेट हुने भन्दै स्थानीयले बारम्बार विरोध गर्ने गरेका छन् । ती बस्ती मासिँदा कृषि भूमि मात्र नभइ नेवारहरूको सांस्कृतिक सम्पदा, जात्रापर्व नै समाप्त हुने खतरा उनीहरूले औंल्याइरहेका छन् । 

पशुपतिमा जलहरी राख्‍ने विषय होस्, या पशुपतिमा कृपालुजी उद्यानको बोर्ड राखिएको विषय, या सम्पदाहरुमा कंक्रिट राखिएको विषय । हरेक विषयमा विवाद सिर्जना भयो । कमलपोखरीको पानी सुकाइ कंक्रिट प्रयोग गरी बनाउन थालेपछि काठमाडौंका रैथाने र सम्पदा अभियन्ताहरू रुष्ट भए । 

त्यस्तै काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले सडक विस्तार गर्न बालाजुका घर भत्काएपछि स्थानीय आन्दोलित भए । २०७० चैत २४ गते घर नभत्काउन सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश हरिप्रसाद वाग्लेको एकल इजलासले अन्तरिम आदेश दिएको थियो । गत वर्ष सर्वाेच्चले घर भत्काउने, नष्ट गर्ने काम नगर्न र गर्नैपरे मुआब्जा दिन आदेश दिएको थियो । तर यो आदेश पनि उल्लंघन भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । 

केही समयअघि धनकुटाको तमोर, अरुण र दुधकोशीको संगमस्थलमा रहेको किरातीहरूको सांस्कृतिक स्थल खुवालुङ पुगेर अभियन्ताहरूले प्रदर्शन गरे । ८  फागुनमा विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त ढुंगा फुटाएर भए पनि कोशीमा जहाज चलाइछाड्ने उद्घोेष गरेका थिए । सप्तकोशीमा जहाज चलाउने भन्दै किराँतहरूको सांस्कृतिक विम्ब खुवालुङ ढुंगा फुटाउने सरकारी कदमको विरोधमा प्रदर्शन गरिएको हो । 

केही दिन अघि मात्रै पनि भक्तपुरमा बिस्काः जात्राको भैरवनाथ रथ नतानिने र यःसिं(लिंगो) नउठाउने भनेपछि स्थानीय रुष्ट भएर आन्दोलित नै भए । त्यसपछि बाध्य भएर भक्तपुर नगरपालिकाले निर्णय बदलेर जात्रा पहिले झैँ गर्न दिनुपर्‍यो । 
सरकारले नागरिकसँग समन्वय नगर्दा यी विवाद भएको देखिन्छ । कला संस्कृति र सम्पदाको महत्व नबुझ्दा संस्कृति र सम्पदा नै मासिने खतरा बढ्दै गएको छ । 

वर्षको सुरुवातमा स्वास्थ्य ठूलो थियो तर साल बिदाइ गर्दासम्म कला-संस्कृति र सम्पदा स्वास्थ्य जस्तै महत्वपूर्ण बनेको देखियो । कला संस्कृतिलाई माया गर्नु राम्रो हो । तर ज्यान रहे मात्र कला संस्कृतिलाई माया गर्न पाइन्छ, यो पनि भुल्नु हुँदैन ।

२०७७ को समीक्षा-१ : सिनेमा-संगीत, नाटकै भो !

२०७७ को समीक्षा-२ : भाइरसको आहत, भ्याक्सिनले राहत

२०७७ को समीक्षा-३ : राज्यका अंग, सरकारका औजार बनेको वर्ष

२०७७ को समीक्षा-४ : अर्थतन्त्र जोगाउने ‘विदेशको कमाइ’

२०७७ को समीक्षा-५ : जसो जसो संघ, उसै उसै प्रदेश : गति छ, उपति छैन

२०७७ को समीक्षा-६ : आफ्नो साख आफैँ सखाप पारेको वर्ष

२०७७ को समीक्षा-७ : साल २०७७ कस्तो रह्यो ? (भिडियो)



Author

सुनीता साखकर्मी

सामाजिक तथा सांस्कृतिक विषयमा कलम चलाउने साखकर्मी संवाददाता हुन्।


थप समाचार