प्रवास

एनआरएनएमा पाँच सय प्रतिशत तलब भत्ता वृद्धि गरेर सिइओ नियुक्त

इकागज |
साउन २१, २०७९ शनिबार १५:५७ बजे

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा नियुक्ति नियमविपरीत भएको आरोप छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यको एकल निर्णयले शुक्रबार रविकिरण अधिकारीलाई सिइओ नियुक्त गरिएको थियो । 

गैरआवासीय नेपाली संघका उपहासचिव रामशरण सिम्खडाका अनुसार अध्यक्ष आचार्यले संघको नियमावली विपरित नवनियुक्त सिइओलाई पाँच सय प्रतिशतभन्दा बढी तलब भत्ता दिने गरी करार गरेका छन् । यही कारण संघका पदाधिकारीले उनको आलोचना गरेका छन् । 


संघको नियमावलीमा सिइओले पारिश्रमिकको रुपमा एक लाख ४८ हजार तीन सय ६५ रुपैयाँ पाउनु पर्ने उल्लेख छ । अध्यक्ष आचार्यको एक निर्णयले इन्धन भत्ता ३० हजार महँगी भत्ता ३१ हजार सात सय १६ र छुट्टै खाना भत्ता १० हजार रुपैयाँ थप दिने निर्णय गरेका छन् । आचार्यको निर्णय संघको कर्मचारी नियमावली विपरित रहेको पदाधिकारीको भनाइ छ ।

यसअघि महँगी भत्तामा पाँच हजार, इन्धन भत्ता पाँच हजार, दिने गरिएको थियो । यस्तै, खाजा भत्ता ३७ सय दिँदै आइएको थियो । कर्मचारीसम्बन्धी नियमावलीअनुसार भत्ता र आधारभूत तलबको पुनरावलोकन संघको अन्तराष्ट्रिय कार्यकारी सचिवालय (आइइएस)ले मात्र गर्न सक्ने प्रावधान रहेको संघका उपाध्यक्ष डा. हेमराज शर्माले जनाए । 

शर्माले संघको अधिकारिक निर्णयविना सर्वसाधारणबाट उठाएको रकम दुरुपयोग गरेको बताए । 

सिइओ नियुक्तिमा कुनै समस्या छैन् तर तलबभत्ता के कारणले अस्वभाविक रुपमा बढाइयो त्यस बारेमा आगामी कार्यसमिति बैठकमा छलफल गर्ने शर्माले न्युज कारखानालाई बताए । 

संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समयदेखि खाली हुँदा काम पेन्डिङमा रहेकोले अन्तिम निर्णय गरेको बताए । उनले भने, ‘काम धेरै बाँकी छन्, धेरै अलमल गर्ने समय थिएन । त्यसैले शुक्रबारबाटै संघको कार्यालयको नेतृत्व समाल्ने गरी अधिकारीलाई नियुक्ति दिएको हो ।’  प्रमुख कार्यकारी निर्देशक (सिइओ)का लागि चार जना उम्मेदवारले गत शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।

मासिक करिब २ लाख तलब, गाडी र भत्तासहितको सो आर्कषक पदको लागि राजेन्द्रकुमार राउत, अग्निप्रसाद उपाध्याय, बन्दना शर्मा र रविकुमार अधिकारी अन्तरवार्तामा सहभागी थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिस गरेको थियो ।  

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनपछि संघको नेतृत्व  कुल आचार्य, रविना थापा र डा. बद्री केसीले समाल्दै आएका छन् । न्युज कारखाना


Author

थप समाचार
x