प्रवास

एनआरएनए पैसावालाको संस्था हो भन्ने भ्रम तोड्ने बेला आयो : उपाध्यक्ष शर्मा

इकागज |
साउन २, २०८० मंगलबार १९:४३ बजे

लण्डन- गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले संस्थाको निर्वाचनमा ८ देखि १० करोडसम्म खर्च गर्ने परम्परा तोड्नु पर्ने बताएका छन् । 

डा. शर्माले गैरआवासीय नेपाली संघ यूकेको ११ औँ साधारणसभालाई आइतबार अल्डरशटमा सम्बोधन गर्दै आफू सन् २००५ देखि अनवरत रूपमा संस्थामा लागेर उपाध्यक्ष हुँदा पनि अध्यक्ष बन्ने कुरा मानिसहरू शंका गर्ने गरेको बताए । उनले भने, 'म निरन्तर संस्थामा लागेको छु तर मानिसहरूलाई डा. हेमराज शर्मा अध्यक्ष बन्छ भन्ने लाग्दैलाग्दैन किनभने मसँग पैसा छैन । संघको चुनावमा ८ देखि १० करोड खर्च हुन्छ । सदस्यता वितरणदेखि प्रतिनिधिहरूलाई काठमाडौँका पाँचतारे होटलमा ब्लुलेभल उम्मेदवारले बेहोर्नु पर्छ ।' उनले संस्थाको चुनाव खर्च कम गर्न प्रविधिको प्रयोग गर्न सकिने बताए । 


डा. शर्माले वर्तमान संरचनाले संस्था चल्न नसक्ने बताएका छन् । संघ अहिलेको संरचनाले चल्न नसक्ने भन्दै बदल्नुपर्ने उनकाे धारणा छ । उनले आफैँ सदस्यता दिने आफैँ निर्वाचन लड्ने र नेता बन्दा पैसा हुने मात्रै नेतृत्वमा पुग्ने उनले तर्क गरे । उनले सदस्यता वितरणदेखि निर्वाचन गर्न स्वायत्त संस्था खडा गरिनुपर्ने पनि बताए ।

स्वायत्त संस्थाबाट निर्वाचन गरिँदा पैसा खर्च नहुने र असल नेतृत्व आउने उनको भनाइ छ ।

बेलायतको अधिवेशनलाई सम्बोधन गर्दै डा. शर्माले अनलाइन भोटिङ नहुँदा उम्मेदवार र भोटरको समय र पैसा धेरै खर्च भएको भन्दै अनलाइन भोटिङमा जानुपर्ने बताए । अहिले प्रविधिले धेरै सहज बनाएको बताउँदै संस्थालाई त्यसैअनुसार चलाउन सक्नु पर्ने उनकाे सुझाव छ ।

अहिले ट्रान्जेक्सन पिरियड रहेको उल्लेख गर्दै उनले दोस्रो पुस्ताको एनआरएनए आउने बेलासम्म सुधार गरिनुपर्ने बताए ।

‘केन्द्रीय महाधिवेशन आउँदै गरेकाले अनलाइनबाट भोटिङ गर्ने व्यवस्था मिलाउन सके काठमाडौँ जाने बस्ने खर्च जोगिने उनको तर्क छ । त्यस्तै शर्माले एनआरएनएमा समाज सेवाको भावले आउन समेत सुझाएका छन् । एनआरएनएमा लाग्दा नेपाली समाजबाट इज्जत पनि पाइने उनको भनाइ छ ।

उपाध्यक्ष डा हेम राज शर्माले एनआरएनएलाई पैसा र राजनीतिको प्रभावबाट मुक्त गर्न आफूले अनलाइन मतदानमा जान जोड दिँदै आएको उल्लेख गरे । उनले नेपाल बाहिर हुर्किरहेको दोस्रो पुस्ताले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेको बताउँदै उनीहरूलाई नेपालसँग जोडेर ‘ब्रेन गेन’ गर्नुपर्ने बताए । उनले संसारभरिका नेपालीलाई एक अर्कासँग जोड्न पनि यो संस्थालाई बचाउनु पर्ने बताए ।


Author

थप समाचार
x