प्रवास

युगान्डामा छन् ३५० बढी नेपाली, प्रधानमन्त्री प्रचण्डलाई भेटेर के भने ?

इकागज |
माघ ५, २०८० शुक्रबार ६:५९ बजे

कम्पाला- असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला आएका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले युगाण्डामा रहेका नेपालीहरूसँग भेट गरेका छन् ।

भेटघाटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो युगाण्डा भ्रमण पहिलो भ्रमण रहेको बताउँदै यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।


प्रधानमन्त्रीले भने, 'युगाण्डामा मेरो पहिलो भ्रमण हो । तपाईंहरूसँग भेटेर कुराकानी गर्न पाउँदा खुसी लागेको छ । यहाँ तपाईंहरूले केही कुरा उठाउनुभयो । ती महत्वपूर्ण छन् । हिजो मात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरिएको छ । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ ।'

'विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन सक्दैन । विदेशमा रहेका नेपालीहरूका दु:खकष्ट बुझ्ने अवसर पनि पाएँ' प्रधानमन्त्रीले भने, 'अफ्रिकामा रहेका नेपालीहरू भेट्‌न पाउँदा खुसी लाग्यो ।'

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउदले युगाण्डामा रहेका नेपालीहरूले देशको अवैतनिक राजदूतका रूपमा काम गरिरहेको बताउँदै नेपालीहरूले गर्ने हरेक क्रियाकलापसँग देशको विम्ब जोडिने भएकाले देशको प्रतिष्ठा बढाउने गरी काम गर्न अपील गरे ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ युगाण्डाका अध्यक्ष रमा अर्यालले आफ्नो देशको प्रधानमन्त्रीलगायतका नेताहरू भेट्न पाउँदा अत्यन्तै खुसीका साथै अभिभावकत्व महसुस भएको बताइन् ।

सो कार्यक्रममा गैरआवासीय संघ युगाण्डाका संरक्षक रमेश कंडेलले युगाण्डामा ३५० जनाभन्दा बढी नेपाली रहेको, विगत ३० वर्षदेखि नेपालीहरूले युगाण्डाको विकास निर्माण र व्यापार व्यवसायमा समेत राम्रो भूमिका निर्वाह गरिरहेको बताउँदै युगाण्डामा रहेका नेपालीहरूको अवस्थाबारे जानकारी गराएका थिए । 

उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डसँगै स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री साउद, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. रूपक सापकोटा, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत उपस्थित थिए ।


Author

थप समाचार
x