प्रवास

एनआरएनएको नवीकरण रोकिँदैन : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
चैत ४, २०८० आइतबार १४:४० बजे

काठमाडाैँ- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गैरआवासीय नेपाली संघको रोकिएको नवीकरण प्रक्रिया तत्काल टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सरकारी निवासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीसँगको भेटमा उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । परराष्ट्रमन्त्री श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरूसँग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको रोकिएको नवीकरण तुरुन्तै गर्ने प्रतिबद्धता जनाए ।


संघको गत अक्टोबरमा सम्पन्न निर्वाचनको छानबिन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाएलगत्तै डा. केसी र श्रेष्ठबीच छलफल भएको हो । संघका अध्यक्ष डा. केसीले मन्त्रिमण्डलको पुनर्गठनपछि गैरआवासीय नेपाली संघको निर्वाचित कार्यसमितिलाई सहज रूपमा काम गर्ने वातावरण बन्दै गएको प्रति धन्यवाद समेत दिए ।

डा केसीले गैरआवासीय नेपाली संघ  सरकारको सहयात्रीको रूपमा काम गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने उल्लेख गरे ।

संस्थाको विधि तथा विधानको अधीनमा रहेर संघभित्रको भातृत्व र एकतालाई कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको अध्यक्ष डा केसीले बताए ।

जवाफमा परराष्ट्रमन्त्री श्रेष्ठले संघमा  पछिल्लो समयमा देखिएका असन्तुष्टिहरूको बारेमा आफू पूर्ण रूपमा जानकार रहेको बताउँदै सबैलाई अपनत्व हुने गरी अघि बढ्न आग्रह गरे । संस्थाको निर्वाचन प्रकृयाका बारेमा असन्तुष्ट पक्षसँग छलफल गरेर अघि बढ्न सरकार सदैव तयार रहेको जानकारी मन्त्री श्रेष्ठले बताए ।

यसअघि पनि अध्यक्ष डा केसीले उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेट गरि संघको समसामयिक गतिविधि र नवीकरणका सम्बन्धमा ध्यानाकर्षण गराएका थिए ।


Author

थप समाचार
x