प्रवास

साउन दोस्रो सातादेखि खुल्‍दैछ इजरायल रोजगारी, सूचना निकाल्‍ने विभागको तयारी

अतिन आचार्य |
साउन १, २०७८ शुक्रबार ११:५५ बजे

फाइल तस्बिर

काठमाडौँ : वैदेशिक रोजगार विभागले एक हजार कामदार इजरायल पठाउनेगरी साउनको दोस्रोसाता सूचना निकाल्ने तयारी गरेको छ । नेपालको तर्फबाट सम्पूर्ण काम अन्तिम चरणमा पुगेकोले सूचना निकाल्‍ने तयारी रहेको विभागले जनाएको छ ।

नेपालको तर्फबाट कामदार पठाउन प्रक्रिया पूरा गरिसकेकाले साउनको दोस्रो सातादेखि इच्छुक र योग्यता पुगेका कामदारका लागि सूचना निकालिने विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए । उनकाअनुसार इजरायली पक्षसँग अन्तिम परामर्श गरी सूचना निकाल्‍ने तयारी छ ।


'इजरायली पक्षबाट प्राविधिक कारण देखाए मात्र केही दिन पर सर्न सक्छ,' निर्देशक सुनुवारले भने,' विभागको तर्फबाट साउनभित्र इजरालय जान चाहने योग्य कामदारका लागि सूचना प्रकाशित गर्ने गरी काम भइरहेको छ ।'

कोभिड-१९का कारण निषेधाज्ञाको अवस्था परिवर्तन भएकाले यसअघि प्रकाशन हुने सूचना रोकिएको थियो । मन्त्रिपरिषद्बा‍ट इजरायल कामदार पठाउन निर्देशिका स्वीकृत भए पनि कोभिड-१९ को दोस्रो लहर सुरु भएसँगै निषेधाज्ञा जारी भएकापछि कामदार पठाउने प्रक्रिया रोकिएको थियो ।

'भाषा परीक्षा र कामदारको सीपको परीक्षण गरिन्छ,' राईले भने,' कोभिडका कारण अनलाइनबाट कामदारको परीक्षा लिन सकिन्छ । निर्देशिका समितिले कुन 'मोडालिटी'को स्वीकृत हुन्छ त्यसैको आधारमा परीक्षा लिने व्यवस्था हुन्छ ।'

विभागले मस्यौदा गत माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले थप परिमार्जन गरी कानुन, परराष्ट्र  र अर्थ मन्त्रालयबाट राय लिई स्वीकृतिका लागि मन्त्रिपरिषद् लगेको थियो । 

परीक्षा मोडालिटीका लागि इजरायल पक्षसँग छलफल भएकाले जस्‍तो मोडालिटीमा परीक्षा लिने भन्‍ने सुझाव आउँछ त्यहीँ अनुसार अगाडि बढ्ने उनले जनाए। घरमा 'केयर गिभर' र अस्पतालमा कामदार लाने गरी सम्झौता भएको राईले जानकारी दिए । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष पठाउन सकिने उनले बताए । 

को-को जान पाउँछन् ?

सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् । 

इजरायल जान हिब्रु र अंग्रेजी भाषाको सामान्य ज्ञान हुनुपर्छ । ४.९ फिट र ४५ केजीभन्दा बढी भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्नेछन् । 

योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थित हुन अनुरोध गर्नेछ ।

विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्‍त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ । 

छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाई सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् । 

नेपालका कर्मचारीतन्त्रले निजीलाई नै दिने वा आफ्नो शैलीमा कामदार छान्न सक्ने प्रकारको प्रावधान राख्‍न खोज्दा यसमा ढिलाइ भएको मन्त्रालयका एक कर्मचारीले बताए ।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x