प्रवास

वसन्त उत्सव मनाउँदै चीन

अजय अलौकिक |
फागुन ३, २०७७ सोमबार ७:१६ बजे

बेइजिङ : चीन अहिले वसन्त चाडको उल्लासपूर्ण वातावरणमा रमिरहेको छ । यो वसन्त चाड चिनियाँहरूको सबैभन्दा मुख्य चाड हो । वर्षदिनपछि सपरिवार भेला भएर मनाउने चाड भए तापनि मानव ओहोरदोहोरबाट कोभिड-१९ महामारी फैलिने आशंकाका कारण यस पटक धेरै चिनियाँहरूको पारिवारिक पुनःमिलन भने भएको छैन ।

यसका साथै चीन सरकारको महामारी नियन्त्रणका लागि तत्स्थानमै वसन्त चाड मनाउने आग्रहलाई आमचिनियाँले शिरोपर गरेका छन् । एक सर्वेक्षणका अनुसार, सहरमा रोजगारी गर्नेमध्ये ७७ प्रतिशतले सहरमै बसेर वसन्त चाड मनाइरहेका छन् ।


यसका साथै सरकारले महामारी नियन्त्रणलाई जोड दिँदै जनतालाई नगद कुपन, निःशुल्क चलचित्र टिकट, पार्कलगायतका पर्यटकीय स्थलमा निःशुल्क प्रवेशलगायत विभिन्‍न कदम चालेर तत्स्थानमै वसन्त चाड मनाउन प्रोत्साहित गरेको छ । यसरी बेइजिङ, साङहाईलगायत चीनका ३६ वटा ठूला सहरमै रहेर वसन्त चाड मनाउनेको संख्या गत वर्षभन्दा ४ करोड ८० लाखले वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यसैबीच वसन्त चाडका लागि हुने विशाल मानव यात्रा (छुनयुन) जनवरी २८ देखि मार्च ८ सम्म चालिस दिनको अवधि, सन् २०१९ को तुलनामा ६० प्रतिशतले घट्ने अनुमान गरिएको छ । स्मरण रहोस्, गत वर्ष पनि चिनियाँ नव वर्ष तथा वसन्त चाडको अवधिमा भएको महामारीको फैलावटले आमचिनियाँहरूले देशविदेशको यात्रा स्थगित गर्नुका साथै चाडसमेत उल्लासपूर्वक मनाउन पाएका थिएनन् ।

गत वर्षको तुलनामा यस पटकको छुनयुनको पहिलो पन्ध्र दिनमा रेलयात्रीको संख्या ७० प्रतिशतले घटेको चीन राष्ट्रिय रेलमार्ग समूहले जनाएको छ । तर मालसामान ढुवानी भने ८.९ प्रतिशतले बढेको जनाइएको छ । यसै गरी चाइना पोस्टले नव वर्षको पहिलो दुई दिनमा १३ करोड पार्सल व्यवस्थापन गरेको जनाएको छ । सहरमै बसेर चाड मनाउनका कारण इन्टरनेटमार्फत् टाढा रहेका परिवारलाई उपहार तथा सामग्री पठाउने चलन यस पटक बढेको छ ।

फेब्रुअरी १२ बाट चीनले मूसा वर्षलाई विदा गरी गोरू वर्षलाई स्वागत गरेको हो । नयाँ वर्षसँगै चीन हाल ७ दिन लामो वसन्त चाड मनाइरहेको छ । यसै बीच बेइजिङ नगरपालिका अन्तर्गत संस्कृति तथा पर्यटन ब्यूरोले वसन्त चाडको तीन दिनको अवधिमा मुख्य स्थलहरूमा २७ लाख पर्यटक भित्रेको जनाएको छ जसबाट २ करोड २० लाख यूआन सङ्कलन भएको छ । तर महामारी नियन्त्रणका लागि ५० प्रतिशत सिमितता तोकेको छ साथै अनलाइनबाट रिजर्भेसन गर्नुपर्ने नियम पनि छ ।

पछिल्लो समयमा वसन्त चाडको अवधिमा देशविदेश भ्रमणसँगै सिनेमाघरमा गएर चलचित्र हेर्ने परिपाटीको तीव्र विकास भएको छ । यसै बीच नयाँ वर्षको पहिलो दिनमा १.७ करोड युआनको बक्सअफिस कारोबार गरेको छ । चिनियाँ टिकट प्ल्याटफर्म माओयान अनुसार, गोरू वर्षको पहिलो दिनमा १.७ करोड युआनको कारोबार गरेको छ, जसले सन् २०१९ को वसन्त चाडको अवधिमा बनाएको रेकर्ड तोडेको छ । सन् २०१९ को वसन्त चाडको अवधिको एक दिनमा १.४३ करोड युआन कारोबारको रेकर्ड थियो ।

यसै गरी नयाँ वर्षको पूर्वसन्ध्यामा आमचिनियाँहरू पारिवारिक जमघटसँगै चाइना मिडिया ग्रुपको वसन्त महोत्सव गाला प्रत्यक्ष प्रसारण हेर्ने चलन पनि रहँदैआएको छ । सन् १९८३ देखि चिनियाँहरूको साथ पाउँदैआएको उक्त गाला प्रविधिको विकाससँगै फाइभ जी, फोरके तथा एटके र एआई जोडको नवप्रविधिबाट प्रसारण गरेको छ ।

चिनियाँ प्रसिद्ध कलाकारबाट भरिपूर्ण तथा चिनियाँ जनजीवन, समाजका साथै चिनियाँ कला, संस्कृति र विश्व संस्कृतिसमेत हेर्न पाइने उक्त गालाको प्रत्यक्ष प्रसारणमा दर्शकको कुल संख्या १ अर्ब २७ करोड पुगेको बताइएको छ । तीमध्ये स्ट्रिमिङमार्फत् ७३ करोड ४० लाख दर्शकले हेरेका थिए ।

अमेरिका, रूस, ब्राजिल, दक्षिण अफ्रिका, भारत, अस्ट्रेलिया, जापान, इटाली, फ्रान्सलगायत १७० भन्दा बढी देश र क्षेत्रका ६२० भन्दा बढी सञ्चार माध्यमले सो गाला प्रत्यक्ष प्रसारण गरेको थियो । पछिल्लो तथ्याङ्क अनुसार, चीनमा घरेलु तथा स्थानीय रूपमा कोभिड-१९ को सङ्क्रमण नदेखिएको ७ दिन भइसकेको छ भने बेइजिङमा १४ दिन भएको छ ।


Author

थप समाचार
x