कृषि

बझाङका प्रकाश, जसले दुई वडावासीलाई अर्ग्यानिक तरकारी खुवाउँछन्

इकागज |
असोज १२, २०७९ १४:१५ बजे

बझाङ- बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन् बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनीसँग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन्, ‘गोपाल फलफूल तथा तरकारी फार्म’ ।    
    
गाउँघरमा तरकारी उत्पादन गर्नुपर्छ भन्ने धेरैको चेत हराइसकेको छ । खेतबारी तथा पाखो बाँझै राखेर भारतमा मजदुरी गर्ने परिवारका एक–दुई सदस्यको मात्रै भर पर्थे पूरै परिवार । छिमेकी जिल्ला बाजुराको काँडा, डोगटी, खप्तडछान्ना–७ कै लामागडामा फल्ने तरकारीको ग्राहक मात्रै थिए दुई दर्जनभन्दा बढी गाउँ ।    
    
खत्री परिवारले भने २०५४ सालदेखि नै आफ्नै बारीको अग्र्यानिक तरकारी तथा फलफूल खाइरहेको छ । तीन वर्षदेखि भने व्यावसायिकरुपमा तरकारी फार्म दर्ता गरेर दुई वडालाई नै तरकारी तथा फलफूल खुवाइरहेको छ । खत्रीको फार्ममा केरा, नासपाती, अङ्गुर, कागती, सुन्तला, ओखर, किबीजस्ता फलफूल यामअनुसार पर्याप्त पाइन्छन् भने तरकारीमा रायो, सुइचार्ड, झुकेनी, सिमला मिर्चा, स्थानीय तरकारी उत्पादन भइरहेका छन् ।    
    
खत्रीले गत वर्षमात्रै झण्डै चार क्विन्टल बेमौसमी तरकारी बिक्री गरेका थिए । उनले यस याममा पनि गत वर्षकै जस्तै बेमौसमी तरकारी बिक्री हुने अनुमान गरेका छन् । विसं २०७४ मा सुरू गरेको पहिलो तरकारी टनेलपछि अहिले खत्रीसँग पाँच तरकारी टनेल छन् । खत्रीका लागि उत्पादित तरकारीको बजार धेरै टाढा छैन, न त बीउबिजन ल्याउने ठाउँ नै टाढा छ । उहाँ बीउ ल्याउन पनि आफन्तको सहयोगमा तराईका जिल्लाबाट भित्र्याउनुहुन्छ । कतिपय तरकारीको बीउ नै राम्रो नपाउँदा लगानी नै उठ्दैन त कतिपय ठाउँमा राम्रै उत्पादन हुन्छ ।    
    
छैन माटो परीक्षण    
    
अहिले व्यवसायी बनेका प्रकाश खत्रीलाई कुन माटोमा कुन प्रजातिको तरकारी तथा फलफूल उत्पादन हुन्छ भन्ने अहिलेसम्म जानकारी छैन । सामान्य किसानका रूपमा उनी आफैँ परीक्षण गर्छन्, उत्पादन गर्छन् र आफैं बेचबिखन गर्छन् ।    
    
खत्रीले सुरूआती दिनमा तरकारीले राम्रै फल दिएपछि दोस्रो वर्ष त्यसलाई बढाए । जमिन बढाए, उत्पादन बढाए । फलफूलका बिरुवाले पनि राम्रै फल दिएपछि त्यसलाई पनि थप्दै गए । आफूलाई खानलाई पर्याप्त हुँदै गएपछि बिक्री गर्न थाले ।    
    
“माटो परीक्षण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयमातहतको कृषि ज्ञान केन्द्रले पनि परीक्षण नगरेर अन्य जिल्लामा पठाउने रहेछ”, खत्री भन्छन्, “अहिलेसम्म यो आसपासको माटो परीक्षण गरिएको छैन । जति फलफूल, तरकारी लगाएँ, मलबिनै पनि राम्रै उत्पादन भयो । यो अनुभवबाटै जुनसुकै प्रजातिका तरकारी तथा फलफूलसमेत उत्पादन हुने रहेछ ।”    
    
सुतारीगाउँ मात्रै होइन । साविकका पाटादेवल तथा कालुखेती गाविसमा पनि पहिलो व्यावसायिकरूपमा तरकारी तथा फलफूल उत्पादन गर्ने कृषक खत्री नै हुन् । दिउँसोको समय एउटा आधारभूत विद्यालयमा पढाएर साँझ–बिहानमात्रै बारीमा समय दिने खत्रीले सानो लगानीमा कृषि पेशा सुरु गरेका हुन् । “परिवारलाई पुग्ने गरी उत्पादन हुने गरेको तरकारीले अहिले करिब दुई दर्जनभन्दा बढी गाउँलाई तरकारी खुवाइरहँदा निकै खुसी भएको छु”, उनी भन्छन् ।    
कुन मौसममा कस्तो तरकारी उत्पादन हुन्छ भन्ने थाहा नभएरै व्यवसायमा हाम फालेको खत्री सम्झँन्छन् । उनी भन्छन्, ‘बीउमात्रै पाएको हुँदा सुतारी गाउँमा कुन मौसममा कस्तो खालको तरकारी फल्दोरहेछ, कुनै जानकारी थिएन । एक वर्ष त गोलभेँडा वर्षभरि नै बारीमा छरे । त्यसपछि मात्रै थाहा भयो दुई याममा गोलभेँडा राम्रै फल्ने रहेछ ।”
    
सफलतापछि सहयोग    
    
गोपाल तरकारी तथा फलफूल फार्मले छोटो समयमै लोभलाग्दो सफलता आर्जन गरेपछि जिल्लास्थित धेरै निकायले अनुदानस्वरुप आर्थिक सहयोग गर्दै आएङ्का छन् । खप्तडछान्ना गाउँपालिकाले सो फार्मलाई अनुदानवापत रु एक लाख सहयोग गरेको उनले बताए ।    
    
कृषिमा उत्साहित बनाउने प्रधानमन्त्री कृषि आधुनिकीकरण ‘आलु जोन’ बझाङबाट पनि फार्म सञ्चालक खत्रीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग प्राप्त भएको थियो । आलु जोनले तरकारी सिँचाइका लागि पहिलोपटक रु एक लाख सिँचाइपोखरी निर्माण गर्नका लागि सहयोग गरेको उनले बताए । त्यो रकमसहित रु एक लाख थपेर खत्रीले सिँचाई पोखरी बनाए । दोस्रोपटक अनुगमनमा आउँदा पुनः आलु जोनले रु एक लाख अनुदान दिएपछि त्यो पैसाले उहाँले सिँचाइ नहर बनाएको बताए ।    
    
गाउँपालिकाको कृषि शाखाबाट पनि सञ्चालक खत्रीले रु एक लाख अनुदान प्राप्त गरे । सो रकमले उनले टनेल बनाए । अहिले तीन वर्षको अवधिमा गोपाल तरकारी तथा फलफूल फार्ममा रु ११ लाखको लगानी भइसकेको छ । रु पाँच लाख विभिन्न निकायबाट अनुदान र रु छ लाख सञ्चालक खत्रीको आफ्नै छ ।    
    
खत्रीले सुरू गरेको तरकारी खेती व्यावसायिक भएको कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले बताए । “जिल्लामा धेरैले तरकारी खेती गर्नुभएको छ, तर खत्रीजस्तो मेहेनती कृषक धेरै कम हुनुहुन्छ”, उनी भन्छ्न् । छान्ना क्षेत्रमै व्यावसायिकरूपमा पहिलो कृषकका रुपमा खत्रीलाई नै फेला पारेर भीमदत्त उत्कृष्ट कृषक पुरस्कारमा छनोट गरिएको उनले बताए ।    
    
हजार रुपैयाँबाट सुरु गरेको व्यवसाय    
    
खत्रीले घरमा तरकारी उत्पादन गर्न लागेको करिब तीन दशक हुन लाग्यो । सुरुमा आफूलाई पुग्ने गरीमात्रै उत्पादन हुन्थ्यो उनको बारीमा । बाँकी जमिनमा पुख्र्यौली उत्पादनलाई नै निरन्तरता दिइएको थियो । पुख्र्यौली उत्पादनले खानलाई कमै पुग्ने गरेको थियो । उनले सुरुमा प्याजको बेर्नासहित केही तरकारीका बीउ रु एक हजारमा किने ।    
    
त्यो बीउले उत्पादन राम्रै दिएपछि विस्तारै तरकारी तथा फलफूलमा समेत लगानी बढ्दै गयो । लामो समय प्याजको बेर्ना बनाएर एक रुपैयाँवापत पाँच बोट दिएर बेर्ना बेचेका खत्री अहिले हजारौँ मूल्य बराबरको प्याज बेच्न थालेका छन् । अहिले खत्रीको व्यापार सबैभन्दा राम्रो पनि प्याजमै छ । उहाँ प्याजबाट मात्रै करिब वार्षिक रु ६० हजारदेखि रु ७० हजारसम्म बिक्री गर्छन् । प्याजसँगै केरा, काँक्रा, विभिन्न प्रकारका हरियो तरकारी, काउली, बन्दालगायत गरेर खत्रीले वार्षिकरूपमा रु चार लाखभन्दा बढी नाफा कमाउँदै आएका छ्न् ।    
 



Author

थप समाचार
ad
x