कृषि

नेपालमा फेरि सलह किरा भित्रिने जोखिम

इकागज |
जेठ ११, २०७८ मंगलबार १४:२१ बजे

फाइल फोटो

काठमाडौँ : नेपालमा फेरि सलह किरा भित्रिने जोखिम बढेको छ । भारत र पाकिस्तानमा अफ्रिकी महादेशबाट सलह किरा भित्रिने जोखिम बढेको भन्दै संयुक्त राष्ट्र संघले चेतावनी जारी गरेको छ । 

राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ)ले भारत र पाकिस्तानमा सलह भित्रिने जोखिम रहेको बताएको हो । पाकिस्तान र भारतको मरुभूमि क्षेत्रमा इरान अरेबियाबाट सलह किरा भित्रिने जोखिम रहेको र त्यहाँको खाद्यान्न नष्ट गर्ने सम्भावना बढेको संगठनको भनाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।


सलह किराका लागि भारतको मरुभूमि क्षेत्र मानिने राजस्थानको हावापानी उपयुक्त ठाउँ हो । जहाँ यसले अण्डा पार्ने र बच्चा जन्माएर हुर्काउने गर्छ । राजस्थानबाट सलहको झुण्ड नेपाल भित्रिने जोखिम बढेको हो । यद्यपि भारत र पाकिस्तानमा अहिलेसम्म सलह पुगिसकेको छैन । 

गएको वर्ष नेपाल भित्रिएको सलह किराले केही किसानको बालीनालीमा क्षति गरेको थियो । तर धेरै क्षति गर्ने अनुमान गरिएपनि त्यस्तो क्षति भने भएको थिएन । नेपाल कृषि अनुसन्धान परिषद नार्कका कीट वैज्ञानिक सुदीप उपाध्याय नेपालमा सलह किरा भित्रिएपनि अण्डा पार्ने र बच्चा जन्माउने उपयुक्त हावापानी नभएकाले धेरै समस्या नहुने बताउँछन् ।

‘यसबारे वैज्ञानिक साथीहरुसँग छलफल भएको छ’ उनले भने, ‘नेपालमा उपयुक्त हावापानी नभएकाले सलह भित्रिएपनि किसानले ठूलो चिन्ता लिनु पर्दैन् ।' 


Author

थप समाचार
x