कृषि

भूमिगत सिँचाइमा क्षेत्र बढ्यो, बजेट छैन

इकागज |
माघ २५, २०८० बिहीबार १४:४१ बजे

चितवन- चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाको कार्यक्षेत्र बढे पनि बजेट बढ्न नसक्दा मागअनुसार काम गर्न कठिन भएको छ । आयोजनाले चितवनसहित छवटा जिल्ला हेर्ने भए पनि पर्याप्त बजेट नहुँदा मागअनुसारको काम हुन नसकेको हो ।

आयोजनाका प्रमुख देव कुमार स्याङ्वोका अनुसार चालु आर्थिक वर्षका लागि स्यालो ट्युबेलको एक हजारभन्दा बढी माग भएको छ । जसमा स्वीकृत कोटा १० वटामात्रै रहेको उनले जानकारी दिए । यस्तै डिप ट्युबेल ५० भन्दा बढी माग भएकामा १३ वटाको मात्रै कार्यक्रम रहेको छ । 


स्याङ्वोले भने, 'चालु आवबाट कार्यक्षेत्र थप गरिएको छ । तर बजेट बढ्न नसक्दा मागअनुसारको काम हुनसकेको छैन ।' उनका अनुसार गत आवमा चितवन र मकवानपुर जिल्ला हेर्दै आएको यस आयोजनाले अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व), बारा, पर्सा, रौतहट र सर्लाही कार्यक्षेत्र थप गरिएको हो ।

स्यालो ट्युबेलका लागि रु ५० लाख र डिप ट्युबेलका लागि रु १० करोड बजेट रहेको आयोजना प्रमुख स्याङ्वोले जानकारी दिए । यस वर्ष चितवनमा १० र मकवानपुरमा तीनवटा मात्रै डिप ट्युबेल निर्माण गर्ने योजना रहेको छ । आयोजनामा डिप ट्युबेलको बोरिङ निर्माण मात्र तीन र पाइप लाइनसहितका सातवटा रहेको उनले जानकारी दिए । स्यालो ट्युबेल चितवनमा निर्माण गरिने उनले बताए ।

स्यालो ट्युबेलले चार बिघा र डिप ट्युबेलले ४० बिघा क्षेत्रफल सिँचाइ हुने गरेको छ । गत वर्ष आयोजनामा रु ४० करोड बजेट विनियोजन गरिएको थियो । जसबाट एक सय ६० स्यालो ट्युबेल र ३५ डिप ट्युबेल जडान गरिएको थियो । 

स्याङ्वोले भने, 'डिप ट्युबेल मकवानपुरमा छ र चितवनमा २९ वटा निर्माण गरिएको थियो ।' स्थानीय सरकारले सिँचाइमा खासै चासो नदिँदा सिँचाइका कार्यक्रम प्रभावकारी रूपमा अघि बढ्न नसकेको उनले बताए । रासस


Author

थप समाचार
x