कृषि

भक्तपुरका किसानलाई धान रोप्‍ने चटारो

इकागज |
असार ६, २०८१ बिहीबार १५:४८ बजे

भक्तपुर - यस वर्ष मनसुन चाँडै सुरु भएपछि भक्तपुरका किसानलाई धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चार वटै नगरपालिकाका खेतहरूमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । 
    
“पानी परेर खेतका गह्रा भरिएपछि धान खेती गर्न नभइ नहुने रासायनिक मल अभाव भए पनि कुरेर बस्न सकिएन, रोप्न थाल्यौँ”, चाँगुनारायण नगरपालिका–४ छालिङ्मा खेतमा रोपाइँ गरिरहेकी किसान कल्पना वासीले भनिन् । 

विगतका वर्षमा असार १५ ताका किसानलाई भ्याइनभ्याइ हुनेमा यसवर्ष असार १५ अघि नै पानी परेपछि जिल्लाका अधिकांश क्षेत्रमा रोपाइँ हुन थालेको चाँगुनारायण–९ का किसान सानुभाइ गिरीले बताए । उनका अनुसार कतिपय किसानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । 


सिँचाइ अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्थाका कारण यसवर्ष आकाशे पानी समयमा नै परेकाले किसान रोपाइँमा लागेका हुन् । 

सूर्यविनायक नगरपालिका–८ नखेलका किसान पूर्णिका थापाले खेतमा काम गर्ने ज्यामी नपाउँदा समस्या परेको बताए । उनले भने , “खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति छैनन्, यस्तो अवस्थामा पनि धान रोप्नै पर्यो, मल नपाए यसवर्ष उत्पादन घट्छ ।” 

खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएका जनशक्ति रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने चिन्ताले सताएको किसान बताउँछन् । 

धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधिको प्रयोग बढाउन सके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउन सकिने कृषि प्राविधिक हरिकृष्ण नेपालले बताए । उनले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको भन्दै सरकारले आधुनिक प्रविधिमा सहुलियत प्रदान गरी सहजीकरण गर्नुपर्नेमा जोड दिए । 

विगतका वर्षमा जस्तै पानी ढिला पर्ला भनेर ढिला धानको बीउ राख्ने किसानले छोटो बीउ नै रोप्न थालेका छन् । भक्तपुरको व्यासीमा धान रोपाइँ गर्दै गरेका किसान धनकुमार श्रेष्ठले सिँचाइ नहुँदा खेतमा भरिएको पानी सुक्ला भनेर छोटो बीउ रोपेको बताए । 


Author

थप समाचार
x