कृषि

किसानलाई दुधमा प्रतिलिटर थप दुई रुपैयाँ अनुदान

इकागज |
पुस ३०, २०७८ शुक्रबार १०:४३ बजे

सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले किसानलाई कृषिबाट आत्मनिर्भर बनाउन दुधमा प्रतिलिटर दुई रुपैयाँ अनुदान दिने भएको छ। उत्पादित दुध सहकारीमार्फत विक्री गर्ने किसानलाई गाउँपालिकाले अनुदान दिने भएको हो।

गाउँपालिकाको १० औं अधिवेशनमा सभाले पालिकाको कृषि उपज संकलन, प्रशोधन तथा विक्री केन्द्र संचालन तथा ब्यवस्थापन, दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि पारित गरेको छ । गाउँपालिका अध्यक्ष वंशलाल तामाङले कार्यविधि स्वीकृत भएसँगै किसानले दुधमा प्रतिलिटर दुई रुपैयाँ पाउने भएका हुन्।


कृषिबाट गाउँपालिकालाईअर्थतन्त्रमा अब्बल बनाउन सकिन्छ भन्ने ध्येयका साथ यस्तो कार्यविधि बनाइएको उनले बताए । ‘दुधमा मात्रै हैन हामीले तरकारी तथा फलफूल, माछा मासुलगायत व्यवसायिक रुपमा कृषि उपज उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेका छौं,’ अध्यक्ष तामाङले भने, ‘कृषिले तल्लो तहका किसानलाई समेट्ने हुँदा यसलाई प्राथमिकतामा राखेका हौं ।’

कृषि क्षेत्रलाई व्यवस्थित गराउनका लागि गाउँपालिकाले सहकारी तथा तरकारी संकलन केन्दकोसमेत स्थापना तथा प्रवद्र्धन गरेको छ। किसानलाई अनुदान दिने कार्यविधि पारित भएसँगै कृषकहरू व्यवसायिक उत्पादनतर्फ उन्मुख हुन हौसिएको गाउँपालिकाको दावी छ। ‘इन्द्रावती समृद्विको आधार–शिक्षा–कृषि–स्वास्थ्य–पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ गाँउ सभाको दशौं अधिवेशन गरिएको हो। 

यसैगरी इन्द्रावती नदी किनारमा वर्षाैदेखि भोगचलन गर्दै आईरहेको ऐलानी जग्गा नापी,नक्सा गर्न आवस्यक बजेट ब्यवस्था गर्ने निर्णयसमेत पारित गरिएको छ भने  सिपाघाट–ज्यामिरेमाने–नवलपुर–सिम्पालकाभ्रे सडकलाई भृकुटी मार्ग नामाकरण गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ।

सभामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले पालिकाले आर्थिक वर्ष ०७७–७८ को हालसम्म हासिल गरेका मुख्य–मुख्य उपलब्धीहरुको बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरे । यो आर्थिक वर्षमा गाउँपालिकाले १९.८१ प्रतिशत मात्रै खर्च गरेको बताउदै शर्माले बाँकी योजना सम्झौता र भुक्तानीका क्रममा रहेको उल्लेख गरे ।  गाँउ सभाले चौमासिक समीक्षासँगै योजना संशोधन र रकमान्तर, करका दर र दायरा थप तथा संशोधन, ऐन, कार्यविधि, निर्देशिका स्वीकृत एवं खरिद समिति र मूल्यांकन समिति गठनलगायतका एजेण्डा पारित गरेको छ।

गाउँपालिकाको सहयोग एवं अगुवाइमा इन्द्रावतीमा रंगशाला निर्माण, सुविधा सम्पन्न अस्पताल, गाउँपालिकाको प्रशासकीय भवन, एकिकृत बस्ती, सडक, विद्युतलगायतका क्षेत्रमा नीति बनाएर काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।
 


Author

थप समाचार
x