कला

नेपालमै जन्मिएका हुन्, ‘जुरासिक वर्ल्ड’ खेल्ने डिचेनदेखि जर्मन लेखक  कुइग्लेरसम्म

सामीप्यराज तिमल्सेना |
माघ १६, २०७७ शुक्रबार १७:११ बजे

काठमाडौं :  तपाईंले ‘जुरासिक पार्क’को नयाँ सिरिज ‘जुरासिक वल्र्ड’ खेल्ने डिचेनलाई कहाँ जन्मिनुभयो भनेर सोध्नुभयो भने जवाफ पाउनुहुनेछ, ‘नेपालको काठमाडौं’ । अनि यसरी नै ‘गेम अफ थ्रोन्स’ फेम अभिनेत्री अमृता आचार्यलाई सोध्नुस्, जवाफ पाउनुहुनेछ– ‘काठमाडौँ’ ।

 ‘जंगल चाइल्ड’जस्ता धेरै किताब लेख्ने जर्मन लेखक सबिने कुइग्लेरलाई सोध्नुभयो भने जवाफ पाउनु हुनेछ, ‘पाटनमा जन्मिएकी हुँ ।’ कलाकार, गायक, लेखक, कमेडियन पल हेन्डरसन पनि ‘ऐजन ऐजन’ जवाफ दिनेछन् । त्यसैगरी अमेरिकन हिट सिरिज ‘अनफर्गेटेबल’की अभिनेत्री दया वैद्यलाई जन्मस्थानको नाम सोध्नुभयो भने पनि उनले नेपालकै नाम लिनेछिन् । 


इन्टरनेट मुभी डाटाबेस (आइएमडीबी) रेटिङमा नेपालको सबैभन्दा धेरै रेटिङ पाउने सेलिब्रेटीको खोजी गर्यो भने तपाईंले डिचेन लाचमेनलाई पहिलो नम्बरमा देख्नुहुन्छ । एक वर्षपछि रिलिज मिति तोकेको ‘जुरासिक वल्र्ड : डोमिनियन’की अभिनेत्री डिचेनको बाल्यकाल काठमाडौंमा बितेको थियो । ७ वर्षसम्म काठमाडौंमा पढेकी डिचेन तिब्बतियन आमा र अस्ट्रेलियन पिताकी छोरी हुन् ।

७ वर्षको उमेरमा अस्ट्रेलिया छिरेकी डिचेनले अस्ट्रेलिया र अमेरिकाका दर्जन बढी फिल्म तथा सिरिजमा अभिनय गरेकी छिन् । सन् २००५ देखि अभिनयमा सक्रिय डिचेनको ‘जुरासिक वल्र्ड ः डोमिनियन’ सन् २०२२ को जुन १० मा रिलिज हुँदै छ ।  सिनेफिलबीच ‘गेम अफ थ्रोन्स’की ‘इरी’ निकै लोकप्रिय छिन् । बेलायतको एचबिओबाट प्रसारण भएको यो सिरिजमा ‘इरी’ बनेकी अमृता आचार्यको बाल्यकाल काठमाडौंमा बितेको थियो । 

नेपाली बुबा र युक्रेनी आमाबाट जन्मेकी अमृताको बाल्यकाल धेरै देशमा बित्यो । पाँच वर्षको उमेरसम्म नेपाल बसिन्, त्यसपछि बेलायत अनि नर्वे । प्राध्यापक बुबाको जागिरले उनलाई धेरै देश र संस्कृतिको अनुभव दिलायो ।  ‘गेम अफ थ्रोन्स’मा गरेको अभिनयले उनलाई धेरै शृंखला र चलचित्रमा काम गर्ने अवसर दिलायो । 
त्यसयता अमृताले ‘आई एम योर्स’, ‘क्यामोफ्लाज’ ‘अमर अकबर एन्ड टोनी’ ‘द गुड कर्मा हस्पिटल’,  ‘वेलकम टु क्युरिओसिटी’ आदि फिल्म तथा सिरिजमा काम गरेकी छिन् । 
केही वर्ष पहिले नेपाल आएकी अमृताले २०७२ सालको भूकम्पमा प्रभावित विद्यार्थीका लागि सहयोग जुटाउने अभियान पनि चलाएकी थिइन् । कलाकारिताबाट नेपाललाई प्रतिनिधित्व गर्ने आइएमडीबीको सूचीमा अमृता दोस्रो स्थानमा छिन् ।  आइएमडीबीको सूचीमा तेस्रो नम्बरमा रहेकी दया वैद्यको फिल्मोग्राफीमा  सिरिजको संख्या ज्यादा छ । आइएमडीबीमा उनको नाममा ३२ क्रेडिट देखाउँछ, जसमा ‘अनफर्गेटेबल’, ‘बोस’जस्ता विश्वप्रसिद्ध सिरिज पनि छन् ।

दया दुई वर्षकी हुँदा उनी बुबाआमाको साथ लागेर अमेरिका पुगेकी थिइन् । युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट थिएटर आर्टस्मा स्नातक उनले त्यहीँबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।  आइएमडीबीले उनलाई नेपालसँग नाम जोडिएका सेलिब्रेटीको श्रेणीमा तेस्रो नम्बरमा राखेको छ ।  अमेरिकी पल हेन्डरसनको बायोमा उनलाई कलाकार, गायक, लेखक, कमेडियन आदि नाममा सम्बोधन गरिएको छ ।

स्ट्यान्डअप कमेडियनका रुपमा पनि आफ्नो पहिचान बनाएका पलको जन्म भने काठमाडौंमा भएको थियो । आइएमडीबी रेटिङमा भने उनले सातौं स्थान पाएका छन् । नेपालमा जन्मेर बलिउडमा धाम जमाएकी मनीषा कोइराला र उदित नारायण झा पलभन्दा रेटिङमा अगाडि छन् । 

नानी सहारा वाकर डकुमेन्ट्री फिल्म निर्माता तथा निर्देशक हुन् । अमेरिकाको बर्कलेमा पढाउने नानीको मूलथलो पनि नेपाल नै हो । वासिङ्टन पोस्ट, बीबीसी, लसएन्जल्स टाइम्स जस्ता विश्व प्रसिद्ध सञ्चार माध्यमका लागि काम गरेकी नानीले अहिलेसम्म तीनवटा फिल्म निर्देशन गरेकी छिन् । ‘अदर नेचर’, ‘कालट्रेन एक्सप्रेस’, ‘कमिङ इन फ्रम दि कोल्ड’ गरी तीन फिल्मको निर्देशन गरेका नानीको पहिलो फिल्म ‘अदर नेचर’ भने नेपाली ट्रान्सजेन्डर भूमिका श्रेष्ठबारे हो ।

विश्वका धेरै फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्ममा नानीले भूमिका र उनको आमाको मुक्तिनाथ यात्रा समेटेकी छिन् । योसँगै फिल्मले नेपालमा लैंगिक अल्पसंख्यकको कथाव्यथालाई पनि समेटेको छ । आइएमडीबीमा भने नानी नेपालसँग जोडिएका सेलिब्रेटीको सूचीमा २१ औं स्थानमा छिन् । 

रेटिङको ५० औं स्थानमा अटाएकी सविने कुग्लेर जर्मन लेखक हुन् । पाटनमा जन्मिएकी उनको पुस्तक ‘जंगल चाइल्ड’ जर्मन भाषामा नै फिल्म बनेको छ । उनको यो पुस्तक र यसको दोस्रो भाग ‘कल्स अफ दि जंगल’ अंग्रेजीमा पनि अनुवाद भएको छ । सात वर्षको उमेरमा वेस्ट पपुवा जानुअघि उनको बाल्यकाल पनि नेपालमा नै बितेको थियो । 

आइएमडीबीले उल्लिखित सेलिब्रेटीसँगै नेपाली सेलिब्रेटीको पनि र्याङकिङ राखेको छ । जसमा बेलायती सिरिज ‘आवर गल्र्स’ र ‘ब्ल्याक नार्सिसस’ खेलेका सविन बस्नेत छैटौं स्थानमा छन् भने भर्खरै दोस्रो विवाह  विवाह गरेकी श्वेता खड्का सूचीको १० औं स्थानमा छिन् । 

५० जना नेपाली सेलिब्रेटीको सूचीमा वसुन्धरा भुसाल, राजेश हमाल, सुनिल थापा, शम्भुजित बाँस्कोटा, दयाहाङ राई, निरुता सिंह, दीपकराज गिरी, प्रदीप खड्का, बुद्धि तामाङ आदि कलाकार पनि अटाएका छन् । तर, यो सूचीमा नेपालमा सबैभन्दा धेरै फ्यान फ्लोइङ भएको भनिएका अनमोल केसी भने छैनन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x