बैंक-वित्त

क्रिप्टो-करेन्सी कारोबार नगर्न केन्द्रीय बैंकको चेतावनी

इकागज |
साउन ३०, २०७९ सोमबार १७:२२ बजे

काठमाडौंँ – नेपाल राष्ट्र बैंकले बिटकोइन कारोबार, क्रिप्टो करेन्सी कारोबार र भर्चुअल करेन्सी क्रिप्टो करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार-व्यवसाय गैरकानूनी रहेको भन्दै कारोबार नगर्न चेतावनी दिएको छ । यसअघि पनि बैंकले पटक पटक सार्वजनिक सूचना प्रकाशन गरी नेपालमा यस्ता भर्चुअल करेन्सी कारोबार नगर्न अनुरोध गरेको भन्दै पुन: सूचना प्रकाशित गरेको हो।

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी-क्रिप्टो करेन्सी (स्टेबल क्वाइन्स समेत) ले कानुनी मान्यता नपाएको र नेपालमा कानूनी ग्राह्य (लिगल टेन्डर) नभएको, नेपाल सरकारको जमानत प्राप्त नभएको र यस बैंकले निष्काशन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएको हुँदा भर्चुअल करेन्सी-क्रिप्टो करेन्सी (स्टेबल क्वाइन्स  समेत) को कारोबार गैरकानूनी रहेको बैंकले सूचनामा उल्लेख गरेको छ । 


भर्चुअल करेन्सी-क्रिप्टो करेन्सी (स्टेबल क्वाइन्स  समेत), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतार–चढाव, सट्टेबाजी आदि सम्बन्धी जोखिमहरू अन्तरनिहित हुने विषय समेत उक्त सूचनामा उल्लेख गरेको छ। 

अतः नेपालभित्र बसोबास गर्ने नागरिक-फर्म/कम्पनी/संस्था (विदेशी समेत) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भइ नेपाल बाहिर रहेका फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यालय तथा एजेन्सीहरूले कुनै पनि प्रकारका भर्चुअल करेन्सी/क्रिप्टो करेन्सी (स्टेबल क्वाइन्स  समेत), पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपर फन्ड कारोबार गरे गराएको पाइएमा तथा सोको प्रयोग/संलग्नता सदस्यता लगानी स्वामित्व ग्रहण स्थानान्तरण/विप्रेषण/विनिमय/माइनिङ सम्बन्धी कार्य गर्ने गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा बैंकले जनाएको छ।


Author

थप समाचार
x