बैंक-वित्त

बैंकको ब्याजदरविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा उद्योगी-व्यवसायी

बाबुराम भण्डारी |
मंसिर २६, २०७९ सोमबार २०:२ बजे

विराटनगर- प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा उद्योगधन्दा चलाइरहेका उद्योगी व्यवसायीहरूले निर्णायक आन्दोलनको तयारीमा लागेको घोषणा गरेका छन् ।

विगतमा पनि बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीहरूले चार दिनभित्र निर्णायक आन्दोलन घोषणा गर्ने बताएका हुन् । सरकारको प्रतिकूल नीतिका कारण मुलुकभरका उद्योगी व्यवसायीहरू पीडित बन्नु परेको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्षमा उनीहरू पुगेका छन् ।


विगतमा पनि सरकार र नेपाल राष्ट्र बैंकले दिएका आश्वासनहरू कार्यान्वयन नगरेको भन्दै निर्णायक आन्दोलनको तयारीमा पुगेको सोमबार आयोजित छलफल कार्यक्रममा उद्योगी व्यवसायीहरूले घोषणा गरे ।

सरकारको नीतिका कारण निजी क्षेत्र धरासायी बनेको र उद्योगीहरूले घरजग्गा लिलाम गरेर बैंकहरूलाई बुझाउनुपर्ने अवस्था बनेको बताएका छन् । राष्ट्र बैंकले ४.४ प्रतिशतको स्प्रेडदरलाई मौद्रिक नीतिको प्रथम समीक्षा अवधिमा ४ प्रतिशतमा झारे पनि आर्थिक क्षेत्रले त्यसबाट कुनै राहत महसुस नगरेको उद्योगी व्यवसायीहरूले बताए ।

‘बैंकहरू घोडामा चढेर सुट टाई लगाएर हातमा कलम बोकेर हिँडेको लुटेरा जस्तो भएका छन्,’ मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने, ‘अब निर्णायक आन्दोलनको तयारी लागेका छौं ।’

नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि आगामी आन्दोलन अन्तिम आन्दोलन हुने गरी तयारी अघि बढाइएको बताए । आन्दोलनका लागि सबै वस्तुगत संघसंगठनहरूसँग दुई दिनभित्र अन्तिम तयारी बैठक बस्ने र आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले आन्दोलनको विकल्प नभएको बताए । उनले निजी क्षेत्रले सरकारलाई माग सुनुवाइका लागि पटक-पटक आग्रह गरे पनि सरकारले बेवास्ता गरेको आरोप लगाए ।

नेपाल अटोमोबाइल्स डिलर्स एशोसिएसन (नाडा) मोरङका अध्यक्ष संजय श्रेष्ठले अटोमोबाइल्स क्षेत्रले आन्दोलन नै सुरु गरिसकेको उल्लेख गरे । उनले संयुक्त रूपमा आन्दोलनमा उत्रिन आफूहरू तयार रहेको बताए । घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष चेतन निरौलाले बैंकको चर्को ब्याजदरका कारण सबैभन्दा बढी साना उद्योगहरू प्रभावित भएको दाबी गरे ।

सरकारले व्यापार-व्यवसाय गर्ने माहौल नै बन्द गरिदिएको भन्दै आन्दोलनलाई उचाइमा पुर्‍याउन ऐक्यबद्धता जनाउने घोषणा गरे ।

यातायात व्यवसायी राजन कँडेलले कोभिड-१९ महामारीबाट यातायात क्षेत्र थिलथिलो भए पनि सरकारले कुनै सहुलियत नदिएको गुनासो गरे । उद्योगी व्यवसायीहरूले जति छलफल गरे पनि ब्याजदर बढ्न नछोडेको भन्दै चाँडो आन्दोलनको घोषणा गर्न माग गरे ।

मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले विद्यमान ब्याजदरमा कुनै पनि उद्योग व्यवसाय सञ्चालन हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरूले आफ्नो अस्तित्वको रक्षाका लागि भए पनि आन्दोलनमा उत्रिनुपर्ने सुझाव दिए । अर्का उपाध्यक्ष विकास बेगवानीले आन्दोलन गर्नका लागि नडराउन सम्बद्ध संघसंगठनहरूलाई आग्रह गरे ।

बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले संरक्षण प्रदान गरे पनि औद्योगिक क्षेत्र भने अभिभावकविहीन बनेको भन्दै चिन्ता व्यक्त गरे ।

निर्माण व्यवसायी पुष्पराज भट्टराईले बैंकहरूले व्यवसाय र उद्योगधन्दामा ऋण लगानी गर्नुभन्दा राज्यलाई नै ऋण दिने मनस्थितिमा पुगेकोले अब आन्दोलनबाहेक कुनै विकल्प नभएको भनाइ राखे ।

होटल व्यवसायी सुरज श्रेष्ठले सरकारविरुद्ध बृहत् आन्दोलनको तयारी अघि बढाउन सहयोग गर्ने बताए ।

उद्योगी व्यवसायी सम्बद्ध संघसंगठनका नेताहरूले भावी आन्दोलनको स्वरूप लगायतका विषयमा बुधबारभित्रै छलफल गरेर आन्दोलनको स्वरूप सार्वजनिक गर्ने बताए । निर्णयअनुसार आफूहरू जस्तोसुकै आन्दोलनका लागि पनि तयार हुने छलफलमा सहभागी व्यवसायीहरूले बताए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x