बैंक-वित्त

दुर्गा प्रसाईंको २० लाखसम्म ऋण मिनाहा गरिने हल्लाले कर्जा प्रवाह गर्न बैंकहरु हच्किए : गभर्नर अधिकारी

इकागज |
मंसिर २०, २०८० बुधबार १७:४४ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालू आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन् । 

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालू वर्ष १४.९ प्रतिशतले बढेको पनि बताए । उनले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताए । उनले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप बढ्ने आकलन राष्ट्र बैंकको रहेको बताए । उनले मौद्रिक नीतिको लचकताको कारण बैंकको ब्याजदर निरन्तर रुपमा घटिरहेको बताए । उनले गत वर्ष टेजरी बिलको पारित ब्याजदर १०.१४ प्रतिशत रहेकोमा २०८० असोजमा ४.९४ प्रतिशत रहेको बताए । उनले ९१ दिने टेजरी विलको भारत औसत ब्याजदर थप घटेर २.६२ प्रतिशत रहेको बताए । उनले गत वर्षको तुलनामा अल्पकालीन ब्याजदरहरु घट्दै गएको बताए । उनले बैंकहरुको अन्तर ब्याजदर पनि असोजमा २.२६ प्रतिशत रहेको ब्याजदर थप घटेर १ प्रतिशतको हाराहारीमा रहेको बताए । उनले बैंकहरुको बेस रेट घटेर ९.९४ प्रतिशत भएर एकल अंकमा आएको भन्दै कर्जाको ब्याजदर पनि गत वर्ष माघमा १३ प्रतिशत रहेकोमा अहिले घटेर १२.१ प्रतिशतमा झरेको बताए । उनले बैंकहरुका निक्षेपको ब्याजदर घटाउँदै ल्याएकाले कर्जाको ब्याजदर पनि थप घट्ने क्रममा रहेको बताए । गभर्नर अधिकारीले चालु आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने आकलन गरेको बताए । उनले चालू आर्थिक वर्षमा पर्यटक आगमन र विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको, ब्याजदर घटिरहेको र कर्जा प्रवाह बढ्न सुरू भएकोले ४ देखि ५ प्रतिशत आर्थिक वृद्धि हुने बताए । उनले उपभोक्ता मूल्यवृद्धिमा सुधार आउने अपेक्षा गरिएको बताए । उनले देशको आर्थिक स्थितितर्फ आर्थिक वर्ष २०७९/०८० असोजको मूल्यवृद्धि ७.५ प्रतिशत रहेको  बताए । उनले बाह्य क्षेत्र थप सुदृढ हुँदै गएको पनि बताए । 


उनले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कार्तिकमा आएर पुनः ३.८ प्रतिशतले र व्यापार घाटा पनि ३.३ प्रतिशतले घटेको बताए । उनले २०८० असोजसम्म विप्रेषण आप्रवाह ३० प्रतिशतले बढेका कारण चालू खाता ५९ अर्ब रुपैयाँले वचतमा रहेको बताए । उनले पर्यटक आगमन सन् २०२२ को १० महिनाको तुलनामा ७१ प्रतिशतले बढेको बताए । उनले वैदेशिक रोजगारीको लागि जाने व्यक्तिहरू अघिल्लो दुई आर्थिक वर्षमा बढेकोमा चालू आर्थिक वर्षको तीन महिनासम्ममा २१ प्रतिशतले घटेको उल्लेख गरे । 

गभर्नर अधिकारीले राष्ट्र बैंकले वाह्य क्षेत्रको स्थायित्व, बैंक तथा वित्तीय क्षेत्रमा स्थिरता कायम गर्ने र बजार मूल्य स्थिर राख्ने काममा होसियार पूर्वक काम गरिरहेको बताए । उनले यी तीन विषयमा स्थायित्व दिनेसके मात्रै समग्र अर्थतन्त्रमा स्थायित्व कामय हुने बताए । उनले अर्थतन्त्रका यी तीन वटा विषयमा राम्रो अवस्था रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका समस्याको सबै जड गभर्नर हो भन्ने पनि आफूले अर्थतन्त्रमा समस्या हुने काम केही नगरेको बताए । उनले निर्माण उद्योगमा आएको समस्याका कारण उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालन गर्न नसक्दा कर्जाको मागमा कमी रहेको बताए । उनले बैंकहरुमा कर्जाको माग कमी हुनुमा दुर्गा प्रसाईले २० लाखसम्मको ऋण मिनाहा गराई दिने तिर्नुपर्दैन भन्ने आन्दोलनको कारण पनि कर्जा प्रवाहमा  बैंकहरु हच्केको बताए । 


त्यस्तै, नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले ब्याजदर एकल अंकमा ल्याउँदा टिकाउन नसकिने बताए । उनले ब्याजदर एकल अंकमा आउनासाथ आयात बढ्ने र यसले सञ्चितिमा दबाब पर्ने दाबी गरे । उनले ब्याजदर एकल अंकमा आउनासाथ अर्कोतर्फ घरजग्गालगायत सम्पतिको मूल्य बढ्ने र यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने पनि बताए । 

उनले नेपाल आन्तरिक उत्पादन कमजोर रहेकाले एकल अंकमा ब्याजदर ल्याउँदा फाइदा नहुने बताए । उनले डिपार्टमेण्ट स्टोरलगायतका ठूला व्यवसायहरू, सञ्चालनमा रहेका खुद्रा व्यवसायहरू समस्या रहेको बताए ।  


Author

थप समाचार
x