ब्लग

ल्हासाको भव्य पोताला दरबार

अजय अलौकिक |
असार ३०, २०७८ १६:३७ बजे

नेपालको उत्तरी सीमा तिब्बतसँग जोडिएबाट प्रागैतिहासिक कालदेखि नै नेपाल र तिब्बतबीच घनिष्ट सम्बन्ध रहँदैआएको छ । यस कारण पनि नेपालीको जनजिब्रोमा तिब्बतको खासा र ल्हासाको नाम झुण्डिएको छ । यसबाहेक, ताजमहल या ग्रेटवालका बारेमा पुस्तक पढेर मात्रै थाहा पाएको हाम्रो पुस्ता पोताला दरबारबारे परिचित पनि छन् ।

यसै गरी, ल्हासाको सानदार पोताला दरबारबाटै ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ भन्ने उखान पितापुर्खाले बनाएको हुनुपर्छ । यो मनोरम, भव्य दरबार तिब्बतको सदरमुकाम ल्हासा सहरमा विगत तेह्र सय वर्षदेखि इतिहासको साक्षी बनेर उभिइरहेको छ ।


ADVERTISEMENT

समुद्री सतहबाट औसत ३७०० मिटरको उचाइमा रहेको लाल पहाडमा अवस्थित यो ल्हासाको मुख्य शान पोताला दरबारले ३,६०,००० वर्ग मिटर क्षेत्रफल ओगटेको छ । साथै पूर्वबाट पश्चिमसम्म ३६० मिटर र दक्षिणबाट उत्तरसम्म २७० मिटर फैलिएको छ । यो दरबारको सबैभन्दा अग्लो भवनको उचाइ ११७ मिटर छ, जुन तेह्र तल्लाको छ ।

मुख्य बाहिरी प्रवेशद्वारबाट भित्र प्रवेशपछि पहाडमा बनाएको दरबारसम्म पुग्न धेरै खुड्किला उक्लिनुपर्छ । त्यसपछि भेटिने अर्को द्वारभित्र प्रवेशपछि एउटा चोक देखिन्छ । चारैतिर दरबारले घेरेको चोकमा उभिँदा पनि जो कोही रोमाञ्चक हुन्छन् । दरबार प्रवेशपछि उक्लँदै माथि कौसीबाट ल्हासा सहरको दृश्य समेत हेर्न पाइन्छ ।

यो आकर्षक पोताला दरबारलाई पाँचौँ दलाई लामाले सत्रौँ शताब्दीमा विस्तार गरेका हुन् । यो उनीहरूको हिउँदे दरबारको रूपमा परिचित पनि छ । तर यसको पहिलो निर्माण ईस्वी संवत् ६३७ मा तिब्बती राजा स्रङचन गम्पोले गराएका थिए । आफ्ना चिनियाँ तथा नेपाली रानीका लागि यो दरबार निर्माण गराइएको मानिन्छ ।

यहाँ दरबारभित्र एक कक्षमा तिब्बती राजा स्रङचन गम्पोको साथमा नेपाली र चिनियाँ राजकुमारीको मूर्ति अझै पनि छ । केही हदसम्म यो दरबारको निर्माण र गौरव सम्बन्धमा यी मूर्तिले पनि प्रष्ट्याउँदछ ।

राष्ट्रिय विभूतिको रूपमा र इतिहासको पानामा पढिएको नेपाली राजकुमारी भृकुटीको मूर्ति यसरी पोताला दरबारभित्र देख्न पाउनु हर एक नेपालीका लागि गौरवको क्षण हो । यो अनुभूत गजबको छ । नेपालीको गर्वले छाती चौडा हुने ‘प्राउड मोमेन्ट’ यहाँ पाइन्छ ।  

साथै एक कथन अनुसार, यो पोतालाको रातो दरबार नेपाली राजकुमारी भृकुटीका लागि निर्माण गरिएको थियो । यसबाहेक, जोखाङ मन्दिर पनि नेपालतिर मुख पारेर भृकुटीका लागि निर्माण गरिएको भनिन्छ । यो मन्दिर पोताला दरबारबाट २ किलोमिटर पूर्वमा अवस्थित छ ।

राजा गम्पोले आफ्नी रानीहरूका लागि ९ तल्ले पोताला दरबार बनाएका थिए, त्यस समय मुख्यतः रातो दरबारमात्र थियो । हाल रातो र सेतो दरबारको मिश्रण पोतालामा मन्दिर, दलाई लामाका स्तूप (स्तूपा) कक्ष, प्रार्थना कक्ष, अध्ययन कक्ष, स्त्रोत कक्ष गरी हजारभन्दा बढी विविध कक्षहरू छन् ।

यी कक्षहरूमा हजारौँको सङ्ख्यामा पौवा (थाङ्का) हरू छन् । यसै गरी लिपी तथा ग्रन्थहरूसँगै सुन, चाँदी, जेड, काठ र माटोबाट बनाइएका विविध देवदेवीका असङ्ख्य मूर्तिहरू सजाइएका छन् । यसबाहेक, यहाँको मुख्य विशेषता भनेको भित्ता र दलिनहरू हुन्, यी सबै रङ्गीन छन्, कलात्मक छन् साथै ऐतिहासिक किम्वदन्ती, बौद्ध कथा तथा पठारभूमिका दृश्यहरूले भरिएका छन् ।

इतिहासको पानामा पढिएको नेपाली राजकुमारी भृकुटीको मूर्ति पोताला दरबारभित्र देख्न पाउनु हर एक नेपालीका लागि गौरवको क्षण हो ।

यो एउटा बौद्ध संस्कृति, हिरा जवाहरात, सुन, चाँदी तथा नेपालको लिच्छवी, मल्लकालीन समयका धेरै दस्तावेजहरू सङ्ग्रहीत भण्डार पनि हो । यहाँ नेपाली कालिगडले खूनपसिना पनि बगाएका छन् । यहाँ तिब्बतीसँगै नेपाली वास्तुकला र रञ्जना लिपी तथा कूटाक्षरहरू कुँदिएका वस्तुहरू पनि देख्न पाइन्छ । यो यहाँ पाइने अर्को रोमाञ्चक क्षण हो ।

यस बाहेक, यहाँ चिनियाँ मिङ, छिङ वंशकालीन दस्तावेजहरू, पत्रहरू, उपहारहरू पनि छन् । साथै विभिन्न दलाई लामाका स्तूपहरू एकदमै मनमोहक छन् । सुनको जलपले ढाकिएका तथा हिरा जवाहरातले सजाइएका स्तूप निकै नै चित्ताकर्षक देखिन्छन् । यी मध्ये पाँचौँ दलाई लामाको १४.८५ मिटर अग्लो स्तूप अझै विशेष छ । यस्तै, यहाँ विशाल मन्दिर स्वरुपको तीन वटा सुनौला अष्ठमण्डला छन् र यस्ता वस्तुको निर्माणमा ६ हजार किलो सुनको प्रयोग भएको बताइन्छ ।

विश्वको छानो मानिने तिब्बत तिब्बती बौद्ध धर्म, संस्कृति तथा मनोरम प्राकृतिक दृश्यका कारण विश्व प्रसिद्ध छ नै, त्यस माथि विश्वको छानोको मोतीको रूपमा प्रसिद्ध पोताला दरबारले वर्षेनी लाखौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बीहरू आकर्षित गर्दैआएको छ ।  

तिब्बती राजाको अवसानसँगै सातौँ शताब्दीमा निर्मित यो मूल दरबारलाई धेरै पटक निर्माण तथा जिर्णोद्धार पनि गरिएको छ । पाँचौँ दलाई लामाले सन् १६४५ मा यसको विस्तार गरेका थिए । त्यसको तीन सय वर्षपछि चीन सरकारले यस दरबारलाई सन् १९६१ मा राष्ट्रिय प्रमुख सांस्कृतिक अवशेष संरक्षण एकाईको रूपमा सूचीबद्ध गरेको थियो र सन् १९८९ अक्टुबरबाट व्यापक रूपमा जिर्णोद्धारको काम थालिएको थियो ।

सन् १९९४ मा जिर्णोद्धारको काम सम्पन्न हुँदासम्म सुन, चाँदीलगायत विविध मुल्यवान वस्तुको प्रयोगका साथै १११ वटा क्षेत्रको मर्मत सम्भारमा पाँच करोड तीस लाख चिनियाँ यूआन लगानी गरिएको थियो । साथै यो पोताला दरबारलाई सोही साल विश्व सम्पदा सूचीमा सूचीकृत पनि गरिएको थियो ।

यसै गरी सन् २००२, जुनबाट पोताला दरबारको दोस्रो बृहत् जिर्णोद्धार परियोजना आरम्भ भएको थियो । जुन सात वर्षसम्म चलेको थियो, यस क्रममा भूमिसहित भित्ता र पर्खालको संरक्षण र मर्मतसँगै चीन सरकारले २९ वटा मुख्य भवन र ३५ वटा अरू भवनको जिर्णोद्धारमा बीस करोड यूआनभन्दा बढी लगानी गरेको थियो । यसै गरी सन् २०१८ मा दरबारको छानो मर्मत सम्भारमा ३ करोड १० लाखभन्दा बढि यूआन लगानी लगाएको थियो ।

यही पोतालासहित विविध पर्यटकीय, सांस्कृतिक, धार्मिक गन्तव्य स्थलमा तिब्बतले सन् २०१९ मा ४ करोड पर्यटक भित्र्याएको थियो भने ५६ अर्ब यूआन आमदानी गरेको थियो । साथै कोभिड-१९ को कहरबीच पनि सन् २०२० मा समेत ३ करोड ५० लाख पर्यटकले तिब्बतको भ्रमण गरेका थिए ।

पछिल्लो समय पोताला प्रवेशमा अग्रिम र सिमित टिकट विक्री प्रणाली लागू गर्नुका साथै दैनिक २३ सय पर्यटकमा सिमित गरेको छ । साथै गत वर्षदेखि सम्पर्कविहिन विच्याट बुकिङ प्रणाली पनि लागू गरेको छ । यो पवित्र, भव्य, सानदार पोताला दरबार एक पटक घुम्नैपर्ने ठाउँ हो ।



Author

थप समाचार