सिनेमा

बलिउडमा त्रिशंकु संकट : फ्लप स्टार, मौलिक पटकथाको अभाव र महँगिएको बजार

इकागज |
भदौ २, २०७९ बिहीबार १२:४४ बजे

मुम्बई- ‘लाल सिंह चढ्ढा’ र ‘रक्षा बन्धन’ले कल्पनातीत कमजोर व्यापार गरेपछि बलिउडले सय वर्षको इतिहासमा नदेखेका दिन हालसाल देख्नु परेको छ । पछिल्ला दिनमा सबैभन्दा भरोसा योग्य स्टार मानिएका आमिर खान र अक्षयकुमारका फिल्मले ५ दिनको लामो विदा परेको समयमा पनि अनुलेख्य व्यापार गरेपछि बलिउडमाथि संकटका बादल घना हुँदै गएको टिप्पणी हुन थालेको छ ।

रक्षा बन्धनका कारण लामो छुट्टिको फाइदा उठाउन रिलिज भएका यी दुई फिल्मले हप्ता दिनमा ५० करोडको व्यापार पनि गर्न सकेका छैनन् जबकि महामारीअघि दुवैका फिल्मले पहिलो दिन नै यही आंकडाको वरिपरि रहेर कमाइ गरेको रेकर्ड छ । जबकि यी दुवै फिल्मलाई दक्षिण भारतका कुनै पनि फिल्मले टक्कर दिएका थिएनन् । अर्थात् यो समयमा दक्षिण भारतका कुनै पनि फिल्म रिलिज भएका थिएनन् जसले यी दुई फिल्मलाई प्रभावित गरुन् । 


आगामी दिनमा अत्यधिक भीएफएक्सको प्रयोग भएको ‘ब्रम्हास्त्र’, शाहरुख खानको ‘पठान’, सलमान खानको ‘टाइगर ३’ जस्ता फिल्म प्रदर्शन हुँदैछन् । तर महामारीपछि स्टारको चमक फिका देखिएको छ भने पटकथा लेखक लयमा छैनन् । बलिउडले बनाइरहेका फिल्म हेर्न दर्शकले रत्तिभर उत्सुकता देखाइरहेका छैनन् । 
दर्शकले त्यस्ता सिनेमामा आफ्नो रुचि खन्याएका छन् जसको पटकथा धारिलो होस् । हिजोको दिनमा ‘डर’, ‘बाजिगर’, ‘कबिर सिंह’ वा आजका दिनका दक्षिणभारतीय फिल्म ‘केजीएफ २’, ‘आरआरआर’ वा ‘विक्रम’लाई दर्शकले रुचाउने मुख्य कारण यिनको पटकथा नै थियो । वा पछिल्लो समयमा दर्शकको रुचि स्वैर कल्पनामा आधारित फिल्ममा छ । हिजोको ‘बाहुबली’ वा आजको ‘विक्रान्त रोना’ यस्तै कल्पनामा आधारित छ । मार्भल सिनेमाटिक युनिभर्सको पछिल्लो रिलिज ‘डाक्टर स्ट्रेन्ज ः मल्टिभर्स अफ म्याडनेस’ले भारतमा गरेको कमाइ पछिल्ला दिनमा रिलिज हिन्दी फिल्मको भन्दा कहाँ हो कहाँ बढी देखिनुले दर्शक रुचिको कथा बयान गर्छ । 

बलिउड फिल्मका व्यापार विश्लेषकहरू फिल्मको कमजोर प्रदर्शनमा तीन मुख्य कारण रहेको बताउँछन् ।१. बलिउडले पछिल्लो समयमा सहरिया एलिटलाई केन्द्रमा राखेर फिल्म बनाइरहेको छ जसले हिन्दी फिल्मका खास दर्शकलाई टाढा बनाउँदै लगेको छ । आजका दिन कलाकारलाई एउटै फिल्मबाट १० देखि २० करोड लिने हैसियतमा पुर्याउने मध्यम वर्गीय बलिउड सिनेमाबाट पूर्णतया टाढिएको छ । 

२.बलिउडमा सिंगल थिएटर लोपोन्मुख अवस्थामा छन् । सिंगल थिएटर बन्द हुने क्रममा छन् र ती ठाउँ मल्टिप्लेक्सले लिएका छन् । तर फिल्म भनेर मरिहत्ते गर्ने दर्शकका लागि मल्टिप्लेक्समा गएर फिल्म हेर्नु असम्भव हुँदै गएको छ ।

महंगो टिकट मूल्यदेखि फुल उठेका मकै खानसम्म पनि चर्को मूल्य तिर्नुपरेपछि दर्शक ओटीटीमै त्योभन्दा गतिलो फिल्म हेरेर मनोरञ्जनको खुराक पूरा गर्न थालेका छन् । ३. दर्शकको मनोरञ्जनको भोक सामाजिक सञ्जालले पनि तृप्त पारिरहेका छन् । फेसबुक, युट्युब तथा टिकटकमा आउने कन्टेन्टले पनि दर्शकलाई इन्गेज गर्ने गरेका छन् जुन ताकत बलिउड फिल्मले राख्न छाडेका छन् । 

आइएएनएसकाे सहयाेगमा 
 


Author

थप समाचार
x