सिनेमा

चर्चित भारतीय निर्देशक प्रकाश झा किम्फको मुख्य वक्ता

इकागज |
मंसिर १९, २०७९ सोमबार १२:५३ बजे

काठमाडाैँ-  काठमान्डू इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)को नयाँ संस्करणमा भारतीय निर्देशक प्रकाश झा मुख्य वक्ताको रुपमा रहने भएका छन् । आयोजकले फेस्टिभलको २०औं संस्करणमा प्रकाश झा मुख्य वक्ताको रुपमा रहने विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरपालिकाको सहअयोजनमा २०औं काठमान्डू इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) आगामी मंसिर २२ देखि २६ तदनुसार ८–१२ डिसेम्बर २०२२ सम्म काठमाडौंस्थित राष्ट्रि सभागृह (सिटी हल) र नेपाल पर्यटन बोर्ड (एनटीबी) मा हुन गइरहेको छ । सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्महरू प्रदर्शन गरिन्छन् । 


यस पटकको महोत्सवमा ३० मुलुकका ६० वटा भन्दा बढी फिल्महरू प्रदर्शन गरिनेछन् । कोभिड–१९ का कारण किम्फको अठारौं र उन्नाइसौं संस्करण भर्चुअल (अनलाइन) माध्यमका रूपमा सम्पन्न भएको थियो । दुई वर्षपछि दर्शकको प्रत्यक्ष उपस्थितिमा हुन लागेको यस महोत्सवमा डकुमेन्ट्री, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक फिल्महरू देखाइनेछन् । यस वर्ष किम्फको मूल नारा “सस्टेनेबल सम्मिट्स” रहेको छ । 

किम्फ २०२२ को उद्घाटन हेर्ने कथा शृंखला अन्तर्गत “बाघको बंगारा” को प्रर्दशनीबाट हुनेछ । यस फिल्मले जाजरकोट जिल्ला कर्णाली प्रदेशको हनी हन्टरको साहसिक कथालाई चित्रण गरेको छ । महोत्सवको समापन पोलियो उन्मूलनका लागि एक अस्ट्रेलियन अपांगता भएको व्यक्तिले सगरमाथा चढ्नलाई गरेको प्रयासबारे बनेको फिल्म ‘फ्लाई फ्रम एभरेष्ट’ बाट हुनेछ । 

महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो उत्कृष्ट तीनवटा फिल्मले क्रमशः दुई लाख, एक लाख पचास हजार र एक लाख रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् भने नेपाली पानोरामा अन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई रु. एक लाख र रु. पचहत्तर नगद पुरस्कार दिइनेछ । इसिमोड सदस्य मुलुकबाट छानिएको उत्कृष्ट फिल्मले ‘बेस्ट इसिमोड माउण्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकहरुको मत पाउने फिल्मले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत रु. पचास हजार पाउनेछ ।

चलचित्रकर्मी, चलचित्रअनुरागी, समीक्षक, विद्वान्, पत्रकार, कलाकार र पर्वतारोहीहरुको उपस्थितिमा हुने उक्त महोत्सवका आकर्षणहरु फिल्म सम्बन्धी गोष्ठी, प्रवचन तथा छलफल र फोटो प्रदर्शनी हुनेछन् ।    किम्फ २०२२ को जुरीमा जर्मन लेखक÷निर्देशक÷निर्माता माइकल पज, दिग्गज नेपाली एनिमेसन फिल्म निर्देशक÷निर्माता तथा इनससेन्ट रेन स्टुडियोको संस्थापक तथा सहायक कार्यकारी प्रमुख किरणभक्त जोशी र कोरियाको उल्जु माउन्टेन फिल्म फेस्टिभलका कार्यक्रम निर्देशक जिन्ना ली रहेका छन् ।


Author

थप समाचार
x