सिनेमा

‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँधिने

इकागज |
असोज २३, २०७८ शनिबार १३:२२ बजे

काठमाडौं- अभिनेत्री तथा मोडल मलिका महतले नयाँ चलचित्र साइन गरेकी छन् । महानायक राजेश हमालको मुख्य भूमिका रहने चलचित्र ‘सत्यम्’ मा उनी अनुबन्ध भएकी हुन् । चलचित्रमा उनको जोडी  पल शाहसँग बाँधिनेछ । गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडियोमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक चलचित्रमा एकसाथ काम गर्न लागेको हो ।

चलचित्र ‘यात्रा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी मलिकाले यसपछि चलचित्र ‘पानीफोटो’ मा काम गरेकी थिइन् । यो चलचित्र प्रदर्शनमा आउन बाँकी छ ।  शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्रमा अनुप विक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहनेछ भने कृष्ण जोशीको पनि अभिनय रहनेछ । पर्दामा दर्शकले राजेश हमाल र अनुपले दाेस्राे पल्ट सँगै काम गर्न लागेका हुन् । यसअघि उनीहरुले चलचित्र ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए ।


नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने‘सत्यम्’ लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै चलचित्रका निर्माता हुन् । गणेश पौडेल एसोसियट निर्माता रहेको चलचित्रका सह-निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी रहेका छन् । त्यस्तै, लाईन प्रोड्युसरमा रेशम गौतम, सुवास भुर्तेल र कृष्ण अधिकारी छन् । चलचित्रमा योगेश काजीको संगीत, कुटुम्ब ब्याण्डको शीर्ष गीत र ब्याकराउण्ड म्युजिक, गणेश पौडेलको सह-संगीत, रेशम सापकोटा र बिष्णु निरिशको शब्द रचना, अन्जु पन्त, योगेश काजी, समिक्षा अधिकारी, गणेश पौडेल र राजु महर्जनको गीतमा स्वर सुन्न सकिनेछ । त्यस्तै, चलचित्रको डिओपीमा बिदुर पाण्डे ‘नबिन’ छन् ।

यो चलचित्रबाट  राजेश हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् ।  आउँदो तिहारपछि माथिल्लो मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने चलचित्रको इनडोरका महत्त्वपूर्ण सिनहरु छायांकन भने सेटमा खिचिनेछ । 

‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा काम गरिरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताइएको छ । निर्माता सापकोटाका अनुसार यो चलचित्रबाट सिजापतिले नेपाली चलचित्रमा डेब्यू गर्दैछन् । सिजापति नेपालमा फिजिकल मोटिभेसनल ट्रेनरको रुपमा परिचित छन् । 

यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्द सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका अन्य कलाकारहरुले डेब्यु गर्दैछन् । यी सबै कलाकारहरु अडिसनबाट छानिएका हुन् ।


Author

थप समाचार
x