सिनेमा

धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा उजुरी,  प्रवक्ता भन्छन्- कारबाही अगाडि बढ्छ

इकागज |
माघ २, २०७८ आइतबार १६:५८ बजे

फाइल फोटो

काठमाडौं -  धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीले दुवैविरुद्ध आर्थिक अपचलन र ठगी गरेको आरोप लगाउँदै अनुसन्धान गर्न माग गरेका हुन् ।

अधिकारीले भरतपुर महानगरपालिका–१५ मा निर्माणधीन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सरकारी अनुदानसमेत अपचलन गरेको भन्दै कट्टेल र घिमिरेविरुद्ध छानबिन गर्न निवेदन दिएका हुन् ।  


अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले उजुरी दर्ता भएको जानकारी गराउँदै आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । ‘अनलाइनमार्फत उजुरी परेको हो । सरकारी जग्गा र सरकारी अनुदान पनि खर्च भएकाले यसमा अनुसन्धान स्वतः आकर्षित हुन्छ । हामी अनुसन्धान अगाडि बढाउँछौँ,’ सहायक प्रवक्ता भण्डारीले इकागजसँग भने ।

उनले रंगशाला निर्माणमा सरकारको रकम र सरकारी जग्गा पनि जोडिएकाले अनुसन्धान गर्ने आधारहरू अख्तियारसँग रहेको बताए । धुर्मुस सुन्तलीले चितवनमा रहेको कृषि क्याम्पसको जग्गामा रंगशाला निर्माण थालेका थिए । 

धुर्मुस सुन्तलीले देश विदेशमा रहेका दाता तथा भरतपुर नगरपालिकासमेतबाट  ५७ करोड रुपैयाँ खर्च गरेको दाबी गर्दै आएका छन् । यसमध्ये १७ करोड रुपैयाँ ऋण रहेको भन्दै केही समयअघि धुर्मुस सुन्तलीले रंगशाला निर्माणबाट हात झिकेको घोषणा गरेका थिए । त्यसयता भरतपुर नगरपालिकाले जिम्मा लिएर निर्माणको काम अघि बढाउने घोषणा गरिसकेको छ । 

र याे पनि
 


Author

थप समाचार
x