सिनेमा

१९ पाइलामै रोकियो राष्ट्रनिर्माताको यात्रा

सामीप्यराज तिमल्सेना |
पुस २७, २०७७ ८:३४ बजे

विराटनगरबाट काठमाडौं आएर मोडलिङमा नाम कमाउन संघर्ष गरिरहेका जीवन लुइँटेलले सन् २००२ मा मिस्टर नेपाल जिते । एक संस्करण मात्र गुजारेको यो प्रतियोगिता जितेपछि जीवनले संघर्षका दिन सकिए भन्‍ने ठानेका थिए तर त्यत्रो ठूलो उपाधि जित्दा पनि उनको जीवनमा कुनै चामत्कारिक परिवर्तन आएन । सँगैमा उस्तै शैलीको मिस नेपालको भने हाइहाइ थियो ।

मिस नेपाल हुने युवतीको जीवन रातारात स्टारडमको शिखर चढ्थ्यो । फिल्मदेखि विज्ञापन खेलाउनेसम्मको ताँती । तर, मिस्टर नेपाल भए पनि उनको संघर्षका दिनमा रत्तिभर अन्तर आएन । बरु उल्टै उपाधिको बोझले ठाउँ-कुठाउँ काम माग्‍न अप्ठेरो बनाएको थियो ।


ADVERTISEMENT

उसबेला जीवन कुपन्डोलमा डेरा गरी बस्थे । मोडलिङ र सिनेमावालाको चहलपहल हुने ठाउँ पुतली सडक र बागबजार लखर लखर हिँडेरै पुग्थे । तर, जुत्ताको तलुवा पातलो भइसक्दा पनि न सिनेमा, न मोडलिङ कतै पनि ठूलो सफलता हात लागेको थिएन ।

देशमा माओवादी द्वन्द्व उत्कर्षमा थियो । ८ बजेको समयमा सारा नेपाली देशको हालखबर बुझ्‍न टिभीमा आँखा गाड्थे । जीवन पनि समाचार सुनेर बसिरहेका थिए । समाचार सकिने बेलातिर उनले समाचारवाचकको मुखबाट सुने, ‘पृथ्वीनारायण शाहको जीवनीमा टेलिफिल्म बनिरहेको छ र कलाकारको खोजी भइरहेको छ ।’

यही समाचार पछ्याउँदै जीवन गोरखापत्र पुगे । गोरखापत्रमा विस्तृत सूचना थियो । अडिसन दिन चाहिने योग्यता, समय, स्थान सप्पै लेखिएको । गोरखापत्रमा बताए अनुसारको ठेगाना खोज्दै जीवन हेरिटेज प्लाजा पुगे । तर, त्यहाँको भिड देखेर जीवन आत्तिए । पुग नपुग एक डेढसय मानिस क्लियर ब्यागमा योग्यता पुष्टि हुने प्रमाणपत्र लिएर जीवनझैं पालो कुरेर बसिरहेका थिए । भिड देखेर उनलाई एक मन लाग्यो, ‘गाँस काटेर खिचेको दुइटा फोटो पनि किन खेर फाल्नु ।’ तर, अर्को मनले भन्यो, ‘बाह्रमा पुगेर बित्तामा किन हार्नु ?’

जीवन भाइ बनेको मुकेश ढकाल (देब्रे) र उपेन्द्र तिमल्सिनाका साथ ।

‘उसबेला आजजस्तो न त्यसरी अडिसन हुन्थ्यो, न अडिसनमा त्यति धेरै मान्‍छे हुन्थे,’ १७ वर्षअघिको दुविधाको कारण सम्झँदै अमेरिकामा रहेका जीवनले इकागजसँग भने, ‘फेरि अभिनयमा मेरो अनुभव पनि थिएन । बल्ल खोला तर्न जानेको मान्‍छेलाई समुन्‍द्रमा मिल्काए जस्तो थियो मेरो अवस्था ।’

जीवनलाई अडिसनका केही स्टेप पूरा गरिरहँदा मुख्य भूमिकामा न सही कुनै न कुनै महत्वपूर्ण भूमिकामा छनोट भए हुन्थ्यो भन्‍ने लागिरहेको थियो । तर, अडिसनमा कलाकार छान्‍न बसेका निर्देशक कृष्णमुरारी ढुंगेल र संवाद लेखक प्रचण्ड मल्लले पृथ्वीनारायण शाहको संवाद बोल्न लगाएपछि भने उनलाई ‘ए पाइयो भने पृथ्वीनारायण शाह नै बन्‍न पाइने रैछ’ भन्‍ने लाग्यो । उनले  सकेको बल लगाएर प्रयत्न गर्न थाले ।

नेपाल टेलिभिजन र हिमालय फिल्मस्को संयुक्त ब्यानरमा टेलिफिल्म बन्‍नेवाला थियो । बजारभरि टेलिफिल्मको हल्ला थियो । पृथ्वीनारायण बन्‍न चाहने आकांक्षीको संख्या ४ सय ७६ थियो । अन्तिम चरणमा छानिएका थिए, जीवन लुइँटेल, आर्यन सिग्देल, मुकेश ढकाल आदि आदि । जीवनझैं आर्यन सिग्देल पनि अभिनयमा मौका खोजिरहेका थिए । जीवन र आर्यनबीच को पृथ्वीनारायण बन्‍ने ? कडा प्रतिस्पर्धा थियो ।

टेलिसिरियलको एक दृश्यमा जीवन र अभिनेत्री गरिमा पन्त ।

प्रचण्ड मल्लले दुवैको भविष्य निर्धारण गर्ने संवाद बोल्न लगाए  ‘दक्षिणतिरबाट उर्लंदै आएको अंग्रेज र उत्तरतिरबाट आएको तिब्बतलाई साम, दाम, दण्ड, भेद जे गरी पनि रोक्‍न पर्छ ...’ जीवन स्कुले जीवनदेखि नै कविता लेख्‍ने र कण्ठस्थ पारेर सुनाउँथे ।  एक पेज लामो संवाद चौर औंला ठाडो पार्ने पृथ्वीनाराण शाहको सिग्‍नेचर स्टाइलसहित खर्ररै सुनाए । अनि आर्यन सिग्देललाई पछि पार्दै जीवन पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकाका लागि चुनिए । जीवन छनोट भएपछि प्रचण्डले उनलाई भनेका थिए रे, ‘अनुहारले पनि तिमीलाई साथ दियो ।’

‘केही दिनलाई सुटिङ रोकिएको छ । हामी पछि खबर गर्छौं ।’ तर त्यो पछि कहिल्यै आएन ।

जीवनलाई लाग्छ, हिरो हुन पालेको कपाल र पृथ्वीनारायणसँग मिल्ने सुलुत्त परेको अनुहारले उनलाई त्यो अवसर दिलायो । जीवनसँगै अन्य कलाकारको पनि छनोट भयो । पछि हिरो बनेका संयम पुरी बालक पृथ्वीनारायणको बाल्यकालको भूमिकाका लागि छानिए । पछि ‘झोला’ खेलेर चर्चित बनेकी गरिमा पन्त पृथ्वीनारायणकी कान्‍छी रानीका लागि चुनिइन् । उसैगरी पछि हिरो बनेका मुकेश ढकाल, उपेन्द्र तिमिल्सिना पृथ्वीनारायणको भाइको भूमिकाका लागि योग्य मानिए । निर्माता तथा कलाकार अर्जुन श्रेष्ठ पृथ्वीनारायण शाहको बुबाको भूमिकाका लागि अनुबन्ध भए । 
कक्षामा ६ मा जीवनको प्रिय कविता थियो ‘पृथ्वी महिमा ’ ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई थोरै शब्दमा अभिव्यक्त गरेको सो कविता जीवनलाई कण्ठस्थ थियो  । 
झुल्क्यो प्रभात झललल्ल हिमाल झल्क्यो
पहाडको शिखरमा नव कान्ति टल्क्यो
ब्युँझे झल्यास्स पृथ्वी दरबारभित्र
आँखा अगाडि उभियो सपना सचित्र
गोर्खालीकी भगवती मनकामनाले
होई स्वयम् प्रकट आशिष यो दिइन् रे
पृथ्वी ! तिमी अघि सरी जुन काम गर्छौ
पूरा हुनेछ सजिलै किन अल्मलिन्‍छौ ?
आफ्नो अठोट अब पूर्ण गराई छाड्छु
साना तिना सकल राज्य जुटाई छाड्छु

जिन्दगीले कहिलेकाहीँ मीठो सरप्राइज दिन्‍छ । जीवनका लागि यो भूमिका यस्तै मीठो सरप्राइज थियो । अन्जानमै मन पराएको कविताको नायककै जीवन निर्वाह गर्न पाउनु उनका लागि कम्ता सौभाग्यको कुरा थिएन । तर, सुटिङ सुरु नहुँदै युनिटलाई पहिलो धक्का लाग्यो । टेलिसिरियल निर्देशन गर्ने जिम्मेवारी पछिसम्म पनि कृष्णमुरारी ढुंगेलको काँधमा थियो । उनकै नेतृत्वमा पृथ्वीनारायणसम्बन्धी अनुसन्धान भएका थिए ।

वरिष्ठ नाट्यकर्मी प्रचण्ड मल्लले अनुसन्धानसँगै संवाद लेखनको जिम्मेवारी निर्वाह गरेका थिए । चेतन कार्कीले पटकथा लेखेका थिए । तर, जब सुटिङको समय आयो, कृष्णमुरारीको ठाउँमा प्रदीप श्रेष्ठ आए । जीवन सम्झन्‍छन्, ‘हाम्रो अडिसन हुँदासम्म पनि उहाँ नै निर्देशक हुनुहुन्थ्यो । पछि प्रदीप श्रेष्ठले निर्देशन गर्नुभयो । बीचमा के भयो, हामीलाई थाहा छैन तर निकै भव्यताका साथ काम सुरु भएको थियो ।’

जीवनका अनुसार टेलिफिल्मका लाथि तीनतिर सेट लगाइएको थियो । एउटा त अडिसन भएको हेरिटेज प्लाजामा नै सेट थियो । अर्को सेट थियो, हनुमान ढोकामा । अनि तेस्रो सेट थियो, सिंहदरबारमा । ज्योति सिन्हा फिल्मको छायाँकार थिए । १ सय १ एपिसोडसम्म सुटिङ गर्ने गरी काम युध्दस्तरमा भइरहेको थियो । तर, ठीक यही बेला माओवादी पनि ‘ढाडमा टेकेर टाउकोमा हान्‍ने रणनीति’अन्तर्गत सहरतिर सल्बलाउन थालेका थिए ।

टेलिसिरियलको एक दृश्यमा सुदन थापा , जीवन ,उमेश खड्का र मुकेश ढकाल ।

राजा ज्ञानेन्द्रले शासन व्यवस्था हातमा लिएको समय थियो । माओवादीको मुख्य निसानामा राजदरबार थियो । नभन्दै एक दिन आन्दोलनकारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकको टाउको उखेले । त्यो खबर सुटिङ क्रुसम्म पनि पुग्यो । त्यसको एक दुई दिनपछि अचानक प्रोडक्सन म्यानेजरले जीवनलाई खबर गरे, ‘केही दिनलाई सुटिङ रोकिएको छ । हामी पछि खबर गर्छौं ।’

जब म ‘गेम अफ थ्रोन्स’ वा यस्तै कुनै राजदरबारसम्बन्धी फिल्म वा सिरिजको चर्चा सुन्‍छु । थकथकी लाग्छ । हामीसँग पनि यस्तै कथा थियो तर हामीले भन्‍नै सकेनौं ।’

तर, त्यस दिनयता सुटिङका लागि कहिल्यै पनि प्रडक्सन म्यानेजरको फोन आएन । कुर्दा कुर्दा जीवनले आस मारे । तर, आजसम्म पनि जीवनलाई किन र के कारणले सुटिङ रोकियो भन्‍ने पक्का जानकारी छैन । ‘माओवादीकै विरोधको कारण हो कि अरु केही कारण थियो मलाई आजसम्म पनि थाहा छैन,’ जीवन भन्‍छन्, ‘तर, जब म ‘गेम अफ थ्रोन्स’ वा यस्तै कुनै राजदरबारसम्बन्धी फिल्म वा सिरिजको चर्चा सुन्‍छु । थकथकी लाग्छ । हामीसँग पनि यस्तै कथा थियो तर हामीले भन्‍नै सकेनौं ।’

जीवनले सुनेका थिए, जतिबेला सुटिङ रोकियो, त्यतिबेलासम्म १९ एपिसोड तयार भइसकेको थियो । तर, यिनै एपीसोड पनि उनले प्रसारण भएको थाहा पाएका छैनन् । ‘आजजस्तै पृथ्वी जयन्तीका दिन पहिलो भाग प्रसारण भएको थियो भन्‍ने सुनेको थिएँ । अरु त भए कि भएनन् थाहा छैन ?’ उनले भने ।

पृथ्वीनारायण शाहको कर्मलाई लिएर नेपालमा थरीथरीका विचारको द्वन्द्व छ । जीवन यी सबै द्वन्द्वसँग परिचित छन् तर कुन सही र कुन गलत भनेर निर्क्यौल गर्नमा उनलाई रुचि छैन । तर, कलाकारिताको आँखाबाट हेर्दा भने पृथ्वीनारायण अपुरै हुँदा करिअरको एउटा गर्व गर्न लायक उपलब्धि खाली हुन गएको उनको निचोड छ । 

‘नेपालमा मुस्किलले यस्ता काम हुन्‍छन् र उत्तिकै मुस्किलले त्यस्ता कामको हिस्सा हुन पाइन्‍छ । यो प्रसारण भएको भए बाटोबाटोमा त नभनूँ दर्शकको मनमा चैं मेरा पनि एकाध सालिक चैं बन्थे होला,’ उनले विषाद् मिसिएको ठट्टा गर्दै भने ।



Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार