कर्पोरेट

स्मार्ट क्यु आर र नेपाल पे क्यु आर अन्तरआबद्ध भई सेवा सुचारु

इकागज |
असार २६, २०८० मंगलबार १८:१० बजे

काठमाडौँ–  नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरूले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति थियो ।


क्यु आर भुक्तानीलाई थप प्रवर्द्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धतासहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर  मार्फत आबद्ध भएका  विभिन्न  मोबाइल बै‌ंकिङ्ग  वालेट र कनेक्ट आइपिएसका प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्ध  सम्पूर्ण दुई लाख पचास हजारभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यसैगरी , स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बै‌ंकिङ्ग र वालेटहरूले नेपाल पे  क्यु आर  नेटवर्कमा आबद्ध तीन लाख पचास हजारभन्दा बढी मर्चेन्टहरूमा सजिलै भुक्तानी गर्न सक्ने छन् । 

ग्राहक तथा व्यवसायी दुवैलाई नेटवर्क पहिचान मा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ।


Author

थप समाचार
x