कर्पोरेट

हल्ट प्राइज : परिवर्तनको एक संवाहक

इकागज |
मंसिर २२, २०८० शुक्रबार १९:१७ बजे

काठमाडौँ- विश्वविद्यालय स्तरका लागि ‘नोबल पुरस्कार’ मानिने हल्ट प्राइज एक दशकअघिदेखि युवाहरूको नवप्रवर्तनसम्बन्धी सोचलाई जागृत राख्‍न सफल भएको छ । हरेक वर्षझैँ यस वर्ष पनि हल्ट प्राइज अ्याट आइ. ओ. ई, पुल्चोक क्याम्पस उत्तिकै उत्साह र उर्जा बोकेर प्रस्तुत भएको छ ।

के हो त हल्ट प्राइज? र किन स्नातक तहका विद्यार्थीहरूका लागि यो नाम लोकप्रिय बन्‍न पुगेको छ ? यी प्रश्‍नहरूको उत्तर हल्ट प्राइजको परिचय सँगै जोडिएका छन् । द हल्ट प्राइज एक ख्याति प्राप्त वार्षिक अन्तराष्ट्रिय प्रतियोगिता हो जसले सामाजिक चासोका विषयहरू जस्तै खाद्य सुरक्षा, पानीको पहुँच, सामुदायिक सुस्वास्थ्य, गुणस्तरीय शिक्षा र जातीय विभेद वरपरका समस्याहरूलाई सम्बोधन गर्ने गर्दछ ।


विश्वव्यापी रूपमा मौलाइरहेका यस्ता समस्याहरूको समाधानका निम्ति विद्यार्थी वर्गलाई नविन विचारहरू मन्थन गर्ने गराइन्छ । सर्वोत्कृष्ट योजना बनाउने समूहलाई विजेता घोषणा गरिन्छ र साथसाथै आफ्नो योजनालाई वास्तविकतामा ल्याउन १ मिलियन डलरका साथ पुरस्कृत गरिन्छ । ‘द हल्ट प्राइज ’ युवाहरूका लागि आफ्नो प्रभावशाली विचार विश्‍वसामु ल्याउने मञ्च बनेको छ ।

विगत केही वर्षहरूमा हल्ट प्राइज अ्याट आइ. ओ. ई, पुल्चोक क्याम्पसको युवा नेतृत्वको टोलीले संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यमा योगदान गरे वापत् ५ वटा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनोट भएको छ । समाज परिवर्तनका लागि निर्वाह गरेको भुमिकाले गर्दा हल्ट प्राइज अ्याट आइ. ओ. ई, पुल्चोक क्याम्पस ‘दक्षिण एसिया प्रोग्राम अफ द यर’ उपाधिले सम्मानित भएको थियो । गत वर्ष क्याम्पस निर्देशक विशाल बस्यालले नेतृत्व गरेको टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुखद्वारा मान्यता प्रदान गरिएको थियो । मात्र तीन वर्षको अन्तरालमा वहाँले देशभरीका चौधभन्दा बढी इञ्जिनियरिङ क्याम्पसहरूका १८,००० भन्दा बढी विद्यार्थीहरूलाई तालिम प्रदान गरिसकेका छन् ।

सबैका लागि समाज, समाजका लागि सबै भन्‍ने प्रेरणा दिँदै यही आउँदो शुक्रबार द हल्ट प्राइज अ्याट आइ. ओ. ई, पुल्चोक क्याम्पसले आफ्नो अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ । सो कार्यक्रम दिउँसोको दुई बजेदेखि क्याम्पस परिसरमा भव्य रूपमा सञ्चालन गरिनेछ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका अध्यक्ष सन्तोस चालिसेको उपस्थिति हुनेछ । साथै कार्यक्रममा प्राध्यापक साश्‍वत कार्कीको पनि उपस्थिति रहने छ ।

यस वर्षको थिम ‘अनलिमिटेड ’ अर्थात असीमित रहेको छ । मानव जातिको चौतर्फी सम्पन्नता र फलिफाप माथि कुनै पनि बाधा आउनु भनेको हामी सबैका लागि चुनौती हो । जाती, धर्म, क्षेत्र, अथवा लिङ्गका नाममा सिर्जित भिन्‍नताले  संसारमा उपलब्ध सुविधा उपभोग गर्नबाट कोही वञ्चित भए यो सम्पूर्ण मानव जातिको कमजोरी हुन्छ । समाजलाई दिगो विकास तर्फ लम्काउने अथाह सम्भावना छन्, असीमित उपायहरू छन् ।

हल्ट प्राइज जस्ता समाजको हितका लागि स्थापित संस्थाहरू यही लक्ष्य राखी क्रियाशील छन् । यस्ता प्रयासहरूको उच्चतम प्रतिफलका लागि व्यापक सहभागिता महत्त्वपूर्ण रहन्छ । त्यसैले सामाजिक वर्गीकरणको सीमा नाघी सबै समुदाय यस कार्यक्रममा सहभागी हुनुपर्छ । हल्ट प्राइजको उद्देश्य पूरा गर्न हामी सबैको सामूहिक प्रयास आवश्यक छ ।


Author

थप समाचार
x