कर्पोरेट

नेपालमा युनिलिभरको नाफा बढ्यो, एक वर्षमा कमायो १८३ करोड

इकागज |
मंसिर २७, २०८० बुधबार १४:९ बजे

काठमाडौँ- युनिलिभर नेपाल लिमिटेडको ३०औँ वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको समुपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको छ । युनिलिभर नेपालले अतुलनीय लाभांश प्रतिफल र करपछिको नाफा १८३.४ करोड पुर्‍याएको छ, जुन गतवर्षको तुलनामा १९ प्रतिशतले बढी हो ।​

युनिलिभर नेपालका शेयरधनीहरू यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रतिशेयर रु १५८०/- का साथ लाभान्वित हुने भएका छन् । युनिलिभरले नेपालमा आफ्नो ३० औँ वार्षिकोत्सव 'हरेक घरमा, हरेक मनमा' भन्ने नाराका साथ मनाइरहेको छ ।


समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष बाजपेइले सबै शेयरधनीहरू, नियामक निकायहरू, कर्मचारीहरू र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिँदै भने 'न्यून लगानी, जैविक विविधतामा देखिएको नकरात्मक असर, भूराजनैतिक टकराव, सामाजिक ध्रुवीकरण र साइबर असुरक्षालाई बढी जोड दिइएको । किनकी विश्वव्यापी जोखिमहरू केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ ।'

'यहाँ हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौं । तर हामी विश्वस्त छौँ कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौँ । युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवर्द्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरीद, मानव पूँजी, प्रविधि, समावेशीता र स्थायित्वमा देखा परेका व्यवधानहरू हटाउँदै अगाडि बढ्ने प्रशस्त अवसरहरू रहेका छन्' बाजपेइले भने ।

सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु.१५४.२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताए । उनले उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।

उनले यो अद्भूत सफलता उत्पादनहरूको स्थानीयकरणमा गरिएको प्रयासहरू, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरूले युनिलिभरको ब्राण्डहरूमा देखाएको अतुलनीय रूचीका कारण प्राप्त हुन सकेको बताए । प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने  'हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो सञ्‍चालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।'

युनिलिभर नेपालको ८५ प्रतिशत शेयर संस्थापक शेयरधनीहरूको रहेको छ भने बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरूको रहेको छ ।


Author

थप समाचार
x