अदालत

प्रतिकूल बकपत्रका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश कार्की

इकागज |
साउन १६, २०८० मंगलबार १८:३ बजे

काठमाडाैँ– प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरूलाई न्याय दिन नसकिएको गुनासाे गरेका छन् । ​​मंगलबार इन्सेकले ३१ औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरूको संरक्षण गर्न नसक्दा उनीहरूलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताएका हुन् ।

उनले पीडित र पीडितका साक्षिको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भए पनि उनीहरूको संरक्षण सार्थक रूपमा हुन नसकेको गुनासाे व्यक्त गरे । पीडितको संरक्षण गर्न नसक्दा प्रतिकूल बकपत्र आउने गरेकोले न्याय दिन कठिनाइ भएको बताए । उनले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पिछडिएको कारणले पनि प्रतिकूल बकपत्र दिनुपर्ने अवस्थामा पीडितहरू पुगेका बताएका छन् ।


उनले भने, ‘संविधानमै राखेर हामीले सार्वजनिक सरोकारका विषयहरू अदालतमा प्रवेश गर्नलाई त्यसमा उसको निहित व्यक्तिगत विषयवस्तु समावेश हुनुपर्दैन । तर, जो कोही व्यक्तिको नाममा दुरुपयोग पनि धेरै हुन थालेको छ । धेरै कारणबाट यो सार्वजनिक सरोकारका विषय भनेर आउने गरेका छन् ।'

प्रधानन्यायाधीश कार्कीले न्यायालय स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी नभए मानव अधिकारको संरक्षण हुन नसक्ने जिकिर गरेका छन् । उनले न्यायालय स्वतन्त्र र निष्पक्ष हुन सकेन भने न्याय प्रदान गर्न पनि नसक्ने बताए ।  उनले न्यायालय हरेक दृष्टिबाट स्वतन्त्र र दबाबबाट मुक्त हुनुपर्ने जनाए । न्यायालय राजनीतिक हस्तक्षेप र आर्थिक प्रलोभनबाट पनि मुक्त हुनुपर्ने उनकाे भनाइ छ ।

उनले न्यायालयले कागजमा लेखिएको कुराभन्दा अरू हेर्न नसक्ने पनि बताए । पीडितलाई न्याय दिनु अनुसन्धानकर्ता, अभियोजनकर्ता र समाजका सबैको कर्तव्य भएको भन्दै उनले देखेको सत्य र यथार्थ कुरा बोल्नुपर्ने जिकिर गरे ।


Author

थप समाचार
x