अदालत

न्यायाधीशले गोला नतानेपछि आलमको मुद्दाको सुनुवाइ स्थगित

इकागज |
पुस २९, २०८० आइतबार ११:५० बजे

फाइल तस्बिर

काठमाडौं - नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको मुद्दाको सुनुवाइ स्थगितको भएको छ । फाँट नम्बर ५ को गोला कुनै पनि न्यायाधीशले नतानेपछि उक्त मुद्दा स्थगितको सूचीमा परेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार उद्धव ढोडारीले जानकारी दिए । 

उनले भने, 'अदालतमा रहेका ७ न्यायाधीशमध्ये आइतबार दुई न्यायाधीश मात्रै उपस्थित हुनुभयो, उहाँहरुले गोला तान्दा आलमको मुद्दा परेन ।' आज अदालतमा न्यायाधीश तेजबहादुर खड्का र गेहेन्द्रराज पन्त मात्रै उपस्थित छन् ।  


अदालतले आलमलगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा सुनुवाइका लागि आज पेसी तोकेको थियो । 

गएको मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।

सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आइतबारका लागि पेसी तारेख दिएको थियो । आलम हाल थुनामा रहेका छन् ।


Author

थप समाचार
x