अदालत

उच्च अदालत जनकपुरमा २५.५ प्रतिशत मुद्दाको मात्रै फैसला

सुभाष कर्ण |
फागुन १३, २०७७ बिहीबार २०:३ बजे

जनकपुरधाम : उच्च अदालत जनकपुरले चालु आर्थिक वर्षमा २५.५ प्रतिशत मुद्दामात्र फर्छ्यौट गरेको छ । अदालतले बिहीबार वार्षिक लक्ष्यको प्रगति विवरणबारे गरेको पत्रकार सम्मेलनमा २५ दशमलव ५ प्रतिशत मुद्दा फर्छ्यौट भएको जानकारी दिएको हो । 

चालु आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य अदालतको थियो । लक्ष्य भेटाउन माघ मसान्तसम्ममा २ हजार ३ सय ४५ मुद्दा फर्छ्यौट गर्नुपर्ने थियो । तर अदालतले माघ मसान्त सम्ममा ५ सय ९८ मुद्दा मात्रै फर्छ्यौट गर्न सकिएको उच्च अदालत जनकपुरका रजिष्ट्रार खगराज अधिकारीले जानकारी दिए । 


कोरोना महामारी र जनशक्ति अभावका कारण लक्ष्य भेटाउन गाह्रो भएको अधिकारीले बताए । उनले समयमा मुद्दा फर्छ्यौट हुन नसक्दा मुद्दाको चापसमेत बढ्दै गइरहेको बताए ।

उच्च अदालत जनकपुरमा ९६ कर्मचारीको दरबन्दी रहेकोमा ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको र त्यसमा पनि दक्ष कर्मचारीको आभावले लक्ष्य अनुसार काम गर्न नसकिएको उनले बताए ।

उच्च अदालत जनकपुरमा २०७७ साउनदेखि माघ मसान्त सम्म पेशी संख्या ६ हजार ८ सय ८ छ । त्यसमा पक्षबाट स्थगित ६ सय १५, कानुन व्यवसायीबाट स्थगित १ हजार ६ सय ८३, हेर्न नभ्याइएको १ हजार २ सय ३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित ५ सय ४ रहेका अधिकारीले बताए । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x