कोभिड-१९

कोभिडविरुद्धको १५ लाख बुस्टर डोज : सरकारको प्राथमिकतामा को ?

इकागज |
फागुन ११, २०७९ बिहीबार १६:४६ बजे

काठमाडौँ- सरकारले कोभिडविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।

गत सोमबार कोभिड-१९ संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड-१९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य सुरु भएको पनि बताए ।


उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए । सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुने गरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरू उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुने गरी काम सुरु भइसकेको बताए । उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गए सहजै खोप लगाउन सक्ने उल्लेख गरे ।

अधिकारीले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरूलाई खोप लगाइदिन आग्रहसमेत गरे । आजबाट काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।

सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोभिडविरुद्धको खोप पहिला भएको संक्रमण र अहिले फैलिरहेको संक्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताए । उनका अनुसार यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टर मात्राका रूपमा लगाउन सकिन्छ ।


Author

थप समाचार
x