कोभिड-१९

चिकित्सकको सुझाव

कोभिड संक्रमण बढ्याे, समयमै सतर्कता अपना‍‍औँ

इकागज |
बैशाख ३, २०८० आइतबार २०:४० बजे

काठमाडौँ- कोभिड-१९ संक्रमण बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरू संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोभिड संक्रमितहरूको संख्या बढिरहेको छ । कोभिड संक्रमित बढ्न थालेसँगै अस्पतालहरूमा कोभिडविरुद्धको खोप लगाउनेहरूको उपस्थिति बाक्लिएको हो ।

केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरू बढिरहेका छन् । यस बीचमा केही नागरिहरूको कोभिड भाइरसका कारण निधन भएको छ । तर, कोभिड भाइरसको संक्रमणका कारण निधन हुनेहरूमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरू मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।


उनले कोभिड बढिरहनुका कारण हालको लागि ओमिक्रोन भेरियन्टको सवभेरियन्टहरू रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सवभेरियन्टहरू फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको बताए । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे ।

यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको डा.पुनकाे भनाइ छ । कोभिड संक्रमण बढेसँगै अहिले काठमाडौँको शुक्रराज अस्पतालमा पनि कोभिड संक्रमितहरू बढ्दै गएका छन् । अस्पतालमा कोभिडका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरू बढेको अस्पतालले जनाएको छ ।

डा.पुनले कोभिडको बुस्टर मात्रा नलगाएकाहरूले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोभिड संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित सतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए । 


Author

थप समाचार
x