कोभिड-१९

रुपन्देहीमा एकै दिन तीन संक्रमितको मृत्यु

बिक्रम खड्का |
कात्तिक ५, २०७७ बुधबार १२:२७ बजे

बुटवल : कोभिडका कारण रुपन्देहीमा एकै दिन तीन जनाको मृत्यु भएको छ । उनीहरु मध्ये दुई जना बुटवलको कोभिड-१९ अस्पतालमा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।

बुटवल उपमहानगरपालिका-११ देवीनगरका ४७ वर्षीय पुरुष र बुटवल-१७ मोतीपुरका ८१ वर्षीय पुरुषको बुधवार विहानै मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । असोज २४ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएका देवीनगरका ४७ वर्षीय पुरुषको १ बजे नै मृत्यु भएको हो ।


त्यस्तै असोज २७ गते पोजिटिभ भई अस्पताल ल्याइएका बुटवलकै मोतीपुरका ८१ वर्षीय पुरुषको बुधबार बिहान ५ बजे मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । दुवै बिरामीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस्तै रुपन्देहीको तिलोत्तमामा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तिलोत्तमा वडा न २ निवासी ४७ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी लामो समयदेखि स्वासप्रश्वास र प्रेसरको समस्यामा थिए । उनको होम आइसोलेसनमै मृत्यु भएको क्रिमसन अस्पतालले जानकारी दिए ।

आफन्तले बुधबार विहानै अस्पताल ल्याएका उनको आइ नपुग्दै मृत्यु भइसकेको अस्पतालका सूचना अधिकारी शेखर पोखरेलले जानकारी दिए । उनको शव अहिले अस्पतालमा राखिएको छ । रुपन्देहीमा कोरोना संक्रमितको संख्या ५ हजार भन्दा बढी रहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहले जिल्लामा संक्रमितको संख्या ५ हजार १ सय ६० जना रहेका छन् । त्यसमध्य संक्रिय संक्रमितको संख्या २ हजार १ सय ४१ जना रहेका छन् । कोरोनाकै कारण रुपन्देहीमा ५६ जनाको मृत्यु भइसकेको छ । जिल्लामा संक्रमितको उपचारका लागि अस्पतालमा बेडसमेत उपलव्ध नभएपछि बिरामीहरुको बिजोग हुन थालेको छ । अहिले शवलाई सोही अस्पतालमा राखिएको परिवारले जनाए ।
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x