कोभिड-१९

कोसी अस्पतालका चिकित्सकसहित ४० बढीलाई संक्रमण पुष्टि

मोरङका सरकारी कर्मचारीमा पनि कोभिड संक्रमण बढ्दै‍

बाबुराम भण्डारी |
माघ ४, २०७८ मंगलबार १६:९ बजे

फाइल फोटो

विराटनगर – मोरङका महत्वपूर्ण सरकारी कार्यालयका कर्मचारीहरु कोभिड–१९ को चपेटामा पर्न थालेपछि दैनिक कामकारबाही पनि प्रभावित भएको छ ।मंगलबारसम्म कोसी अस्पतालमा कार्यरत आधा दर्जन चिकित्सकसहित ४० जना बढीलाई संक्रमण पुष्टि भइसकेको बताइएकाे छ ।

सेवाग्राहीको अत्याधिक चाप हुने जिल्ला मालपोत कार्यालय मोरङका ६ जना कर्मचारीलाई संक्रमण पुष्टि भएपछि अहिले उक्त कार्यालयको दैनिक सेवा प्रवाह बन्द गरिएको छ । अन्य कार्यालयका कर्मचारीहरु पनि कोभिडजन्य लक्षणका कारण बिदामा बस्न थालेको जनाइएको छ ।


सेवाग्राहीको चाप हुने जिल्ला प्रशासन कार्यालय मोरङका कर्मचारीहरुलाई भने अहिलेसम्म कोभिडजन्य लक्षण नदेखिए पनि जोखिम न्यूनीकरणका लागि बुधबारदेखि आलोपालो सेवा प्रवाह गर्ने तयारी भइरहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी महेशराज तिम्सिनाले मालपोत लगायतका बढि सेवाग्राहीको चाप हुने कार्यालयमा जोखिम बढेको बताए । उनले हालसम्म मालपोतमा ६ जनामा संक्रमण देखिएको र अन्य कार्यालयहरुमा पनि कर्मचारीहरु बिरामी भएर कार्यालय आउन नसकेको  जानकारी आइरहेको सुनाए ।
जोखिम न्यूनीकरणकै लागि जिल्ला प्रशासनमै भने सेवाग्राहीहरूलाई आलोपालो गरेर सेवा प्रदान गर्ने तयारी गरिएको तिम्सिनाले जानकारी दिए ।

तिम्सिनाका अनुसार आइतबार र बुधबार सुन्दरहरैंचा नगरपालिका, बुढीगंगा गाउँपालिका र जहदा गाउँपालिकाका नागरिकहरूलाई सेवा प्रदान गरिने छ । त्यसैगरी सोमबार र बिहीबार विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका र धनपालधान गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने जनाइएको छ । 

बेलबारी नगरपालिका, ग्रामथान गाउ“पालिका र केराबारी गाउ“पालिकाका नागरिकले भने मंगलबार र शुक्रबार सेवा प्राप्त गर्ने छन् । जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता बनाउने, प्रतिलिपि लिने, राष्ट्रिय परिचयपत्र बनाउने र राहदानी लिनेहरूको भिड उच्च रहेको छ । हाल दैनिक पाँच सय सेवाग्राहीको उल्लेखित सेवा लिन कार्यालयमा भिड लाग्ने गरेको जनाइएको छ ।

राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकता अनिवार्य भएकोले युवा उमेरका सेवाग्राहीको भिड अत्याधिक हुँदै आएको छ । 

कोसी अस्पतालमा ४० जना बढीमा संक्रमण
यसैबीच प्रदेश १ को राजधानी विराटनगरकै मुख्य सरकारी अस्पताल कोसीमा आधा दर्जन चिकित्सकसहित ४० जना बढीमा कोभिड संक्रमण भएपछि अस्पतालको सेवा प्रवाह नै अस्तव्यस्त बनेको छ । 

अस्पताल स्रोतका अनुसार मंगलबारसम्म ७ चिकित्सक, १५ नर्स र बाँकी विभिन्न तहका स्वास्थ्यकर्मी, सफाईकर्मी, कार्यालय सहयोगीहरुमा संक्रमण पुष्टि भएको छ । 
सोमबारमात्रै अस्पतालका ७ चिकित्सकसहित ४१ जनामा संक्रमण पुष्टि भइसकेको जनाइएको छ । विभिन्न रोगका बिरामीहरुले उपचार पाउने एकमात्रै मुख्य अस्पताल कोसीमा कोभिड संक्रमण दैनिक बढेपछि सेवा प्रवाह पनि प्रभावित भएको छ । 

अहिलेसम्म कुनैपनि विभाग बन्द नगरिएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले बताए । उनले थप संक्रमणको जोखिम विश्लेषण गरेर मात्रै रणनीति बनाइने जानकारी दिए । संक्रमणको दर नरोकिए दैनिक उपचारका लागि सञ्चालन हुने अस्पतालका विभिन्न विभागहरु बन्द पनि गर्न सकिने बताए । कोसी अस्पतालमा पीसीआर ल्याब समेत भएकोले लक्षण देखिएकै अधिकांश बिरामीहरु परीक्षणको माग गर्दै पुग्ने गरेका छन् । कोसी अस्पतालबाट हुने पीसीआर परीक्षणको विवरणअनुसार दैनिक संक्रमण दर ७० प्रतिशत हाराहारी देखिएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x