कोभिड-१९

स्वास्थ्यमन्त्री खतिवडा भन्‍छन्:

चैतदेखि ५ वर्षमाथिका बालबालिकालाई कोभिड खोप लगाइन्‍छ

इकागज |
फागुन १८, २०७८ बुधबार १७:५० बजे

फाइल तस्बिर

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चैतबाट पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकाले खोप लगाइने बताएका छन् । उनले खोप खरिदका लागि पत्रचार भइसकेकाे बताए ।

बुधबार काठमाडौँमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रुपमा आयोजना गरेको कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता विषय अन्तरक्रियामा उनले आगामी वैशाखभित्र  १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइसक्नेसमेत जानकारी दिए । 


यसअघि सरकारले १८ वर्षभन्दा माथि उमेर समूहलाई चैत मसान्तभित्र खोप लगाइसक्ने जनाएको थियो । उनले कोभिड भाइरसविरुद्धको लडाइँमा अहिलेसम्मको अनुभवले अब क्षति नगर्नेसमेत बताए। 'हामीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जुन किसिमको काम गर्‍यौं, त्यसको अनुभवले अब कोरोनाविरुद्ध लड्न सजिलो भएको छ', उनले भने।

मन्त्री खतिवडाले १२ वर्षभन्दा माथिका सबै जनसंख्यालाई खोप लगाउने सरकारको लक्ष्य हासिलका लागि थप सहयोग गर्न सांसदहरूलाई आग्रह गरे । 'कोभिड–१९ खोप अभियानको सन्दर्भमा नेपालले पहिले नै धेरै उपलब्धिहरू हासिल गरिसकेको कुरा बताउन पाउँदा म खुसी छु । विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्वीकार गरेको छ । अब अधिकांश स्थानीय तहमा खोप अभियानलाई सफल हामीलाई तपाईंको सहयोगको खाँचो छ,' उनले भने ।

विश्व स्वास्थ्य सङ्गठन, नेपालका प्रमुख डा.राजेश पाण्डवले कोभिड-१९ले मानिसलाई जीवन परिवर्तन गर्नसक्ने धेरै पाठ सिकाएको बताए । 'विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय संसद संघसँग सहकार्य गर्दछ र नेपालमा भइरहेको यस शृंखलाबद्ध बैठकहरूले विश्व स्वास्थ्य संगठन र सांसदहरूबीचको पारस्परिक सम्मान र सहकार्यको भावनालाई समेट्छ,' उनले भने ।

समाज, देश, प्रदेश र सहरहरूका लागि कोभिड-१९ बाट सिकेका पाठहरू ग्रहण गर्नलाई उनले आग्रह गरे । उपचारहरूको योजना बनाउन सांसद र संसदको भूमिका महत्वपूर्ण हुने उनको ठहर छ ।

उनले कोभिड-१९ को कारणले हामीले यस्ता महामारी रोक्नका लागि आपत्तकालीन प्रतिकार्य योजनासहित तयार अवस्थामा बस्नुपर्नेमा जोड दिए। उनले कोभिड–१९ को खोप वैज्ञानिकले अहिलेसम्मकै सबैभन्दा छिटो विकास गर्न सफल भएको धारणा राखे। उखले कोरोना महामारीले परिवारसँग पुनर्रमिलन, परिवारलाई हेरचाह गर्न र शारीरिक, मानसिक, तथा आर्थिक समस्याको सामना गर्न सिकाएको बताए। 

कार्यक्रममा कोभिड–१९ महामारीका सन्र्दभमा जनस्वास्थ्यका मापदण्ड पछाडिको विज्ञान, कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयको रणनीति, कोभिड–१९ पश्चात देखिने स्वास्थ्य समस्या तथा व्यवस्थापनलगायत विषयमा राष्ट्रियसभाका सदस्यसँग छलफल गरिएको थियो।  

यसअघि कर्णाली र सुदूरपश्चिमका प्रदेशसभाका सदस्यलाई पनि कोभिड–१९ र यसले पारेको प्रभावबारे मन्त्रालय तथा डब्लुएचओले प्रशिक्षण दिएको थियो । माथिल्लो सदनका सांसदहरूसँगको छलफल बैठक (ब्रिफिङ) सकिएको छ ।

यसअघि कर्णाली प्रदेशसभाका माननीय सदस्यहरूसँग गत फागुन १३ गने सुर्खेतमा र सुदूरपश्चिम प्रदेशसभाका माननीय सदस्यहरूसँग गत फागुन १५ गते धनगढीमा आयोजना गरिएको थियो । छलफल श्रृंखलाको सुरुवात गत फागुन ७ गते नेपालका सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख र सचिवहरूको ऐतिहासिक छलफल बैठक (ब्रिफिङ)बाट पोखरामा भएको थियो ।


Author

थप समाचार
x