क्रिकेट

इण्डो-नेपाल मैत्रीपूर्ण महिला क्रिकेट : पहिलो खेलमा भारत ९ विकेटले पराजित

बाबुराम भण्डारी |
चैत ४, २०७९ शनिबार १९:१७ बजे

विराटनगर- प्रथम रेडमग इण्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा विराटनगरमा सुरु भएको छ । शनिबारको पहिलो खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी (विसिसिए) ले भारतीय टोलीविरुद्ध विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको चारवटा श्रृंखलाभित्र तीनवटा टि–२० र एउटा वान–डे खेलाइने तयारी छ । पूर्व तयारी र खेलाडी थकानका कारण १७ ओभरमा खेलाइएको पहिलो ‘टि–२०’ खेलमा विसिसिएले भारतको अल इण्डिया वुमन टि–२० क्रिकेट एसोसिएसनलाई फराकिलो स्कोरमा हराएको हो ।


नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेलवर्न ज्वाला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले १७ ओभर पूरै खेल्दा ९ विकेट गुमाउँदै ६६ रनको स्कोर जोडेको थियो । भारतका लागि कप्तान रितु मोहन भोसलेले २० र दिक्षा सिंहले ११ रन जोड्ने बाहेक अरु ब्याटर खेलमा जम्न सकेनन् ।
विसिसिएका लागि अस्मिना कर्मचार्यले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिएर भारतलाई पेभिजियन फर्काइन् । अस्मिना नै पहिलो खेलको ‘प्लेयर्स अफ दि म्याच’ घोषित भइन् ।

नेपाली टोलीकी कप्तान रुविना क्षेत्री, टिका साह, सवनम राई र कविता गौतमले समान १–१ विकेट लिए ।

६७ रनको सामान्य लक्ष्यका लागि खेलेको विसिसिएले १० ओभरको समाप्तिमा मात्र एक विकेट व्यहोरेर जित निकालेको हो । नेपालका लागि राष्ट्रिय टिमकी विकेट किपर काजोल श्रेष्ठले ३७ रनमा अविजित खेलिन् ।

लक्ष्य भेट्याउन एक रन बाँकी हुँदा ओपनर सम्झना खड्का भारतकी मिनाक्षी कबदलबाट बोल्ड भइन् । सम्झनाले २१ रनसहित काजोलसँग ५९ बलमा ६६ रनको साझेदार गरिन् ।

त्यसपछि मैदान उत्रिएकी अप्सरी बेगमले १०औं ओभरको अन्तिम बल बोर्डरमा गुडाउँदै नेपाललाई जित दिलाएकी थिइन् ।

प्रतियोगिता चैत ७ गतेसम्म संचालन हुने नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विसिसिएको कप्तानी नेपाली राष्ट्रिय टोलीकी समेत कप्तान रुबिना क्षेत्रीले सम्हालेकी छन् । राष्ट्रिय टोलीकै काजोल श्रेष्ठ, सबनम राई, अपसरी बेगम, कविता जोशी, अस्मिना कर्मचार्य, कविता गौतम, सम्झना खड्का, सरस्वती चौधरी तथा यु–१९ राष्ट्रिय टिमकी सानु राजवंशी लगायत विसिसिएका लागि खेल्दैछन् ।

त्यसैगरी भारतीय टिमको नेतृत्व रिता मोहन भोसालेले गरेकी छन् । उनकै कप्तानीमा अल इण्डिया वुमेल ट्वेन्टी २० क्रिकेट एसोसिएसनले नेपाली टोलीको सामनाको सुरु गरेको हो ।

प्रतियोगिताको टाइटल स्पोन्सर विराटनगर–१० स्थित रेडमग कफी सपले गरेको छ । त्यस्तै बेलायतस्थित मेरिलिबोन क्रिकेट क्लव (एमसीसी) र विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले प्रतियोगिता संचालनका लागि आवश्यक प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करीव दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यस्तै प्रतियोगितामा बेष्ट ब्याटर, बेष्ट बलर, बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट, बेस्ट विकेट किपरलाई पुरस्कार र मेडलको व्यवस्था गरिएको जनाइएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x