क्रिकेट

आयरल्यान्ड उल्भ्ससँग नेपाल 'ए' फेरि पराजित हुँदा अर्जुनको शतक गयो खेर

इकागज |
चैत २५, २०८० आइतबार १६:१५ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सले घरेलु टोली नेपाल 'ए' विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज 'क्लिन स्विप' गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न तेस्रो खेल ६९ रनले जित्दै आयरल्यान्ड उल्भ्सले सिरिज क्लिन स्विप गरेको हो । यसअघि आयरल्यान्ड उल्भ्सले पहिलो खेल २१ रन तथा दोस्रो खेल १ सय १४ रनले जितेको थियो ।


आइतबारको खेलमा २ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल 'ए' ले ३९ ओभर ४ बलमा सबै विकेट गुमाएर २ सय १५ रनमात्र बनाउन सक्यो ।

नेपाल 'ए' का लागि अर्जुन कुमालले १ सय २ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अर्जुन साउदले ३६ रन जोडे ।

आयरल्यान्ड उल्भ्सका लागि बेन ह्वाइटले सर्वाधिक ५ तथा गाभिन होएले ४ र म्याथ्यु पोस्टरले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड उल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो ।

आयरल्यान्ड उल्भ्सका लागि स्टेफेन डोहनीले १ सय ७ रनको योगदान गरे । पीटर मुरले ४४ रन तथा मोर्गन टोपिङले २१ रन बनाए । गाभिन होएले १४ रन बनाए ।

फियोन ह्यान्डले २० रन जोडे । म्याथ्यु हमफ्रेयसले २३ रन तथा बेन ह्वाइटले १९ रनको योगदान गरे ।

नेपाल 'ए' का लागि रिजन ढकाल र रञ्जित कुमारले समान ३-३ विकेट तथा विकास आग्री र शहाब आलमले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x