अपराध

कुशल जन्मिएको शिशु बेपत्ता पारेको आरोपमा डा.कर्णसहित तीन जना जेल चलान

बाबुराम भण्डारी |
असोज २४, २०८० बुधबार २२:३५ बजे

विराटनगर - मोरङको विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको आरोपमा पक्राउ परेका सोही अस्पतालका चिकित्सक डा. तपेश्वर लाल कर्णसहित तीन जना जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको एकल इजलासले उक्त घटनामा संलग्न रहेका ६ जना प्रतिवादीहरु मध्ये डा. कर्णसहित तीन जनालाई पुर्पक्षको लागि मोरङ कारागार चलान गर्ने आदेश दिएको हो । 

विराटनगरको कोशी अस्पतालमा पूर्व मेडिकल सुपरिटेन्डेन्टसमेत रहेका स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. कर्णले १० वर्षदेखि अविवाहित जोडीबाट इच्छाविपरीत जन्म हुने शिशुहरू अस्पतालभित्रकै स्वास्थ्यकर्मीहरू समेत संलग्न गराएर निसन्तान दम्पतीहरूलाई लाखौं रुपैयाँमा बिक्री गरेको रहस्य खुलेको थियो । उक्त अस्पतालमा पुगेका एक अविवाहित जोडीबाट जन्मिएको शिशु बेपत्ता भएपछि उनको धन्दा बाहिरिएको थियो ।


६८ वर्षीय डा. कर्णले पछिल्लो पटक पाँच लाख रुपैयाँ शिशु बिक्री गरेका थिए । बुधबार मोरङ जिल्ला अदालतले डा.कर्णसहित नवजात शिशु खरिद गर्ने मोरङ कटहरी गाउँपालिका–२ बस्ने ३० वर्षीय सुर्य नारायण राजवंशी र शिशुका बुवा भनिएका भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राईलाई कारागार चलान गर्ने आदेश दिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालका अनुसार ग्रिनक्रस हस्पिटलमा २६ वर्षीया युवतीले प्रेमी भनिएका राईसँगको शारिरीक सम्पर्कबाट गत असार १४ गतेका दिन जन्माएको शिशुलाई सोही दिन डा.कर्णले बिक्री गरेको खुलेको थियो ।

शिशु खरिद गरेकी सुर्य नारायणकी आमा दिलमाया राजवंशीले विवाह भएको एक दशक बितिसक्दा पनि छोराबुहारीबाट सन्तान नभएपछि सोही अस्पतालमा कार्यरत नर्स सुधा राजवंशीमार्फत सात लाख रुपैयाँ खर्च गरेर शिशु खरिद गरेको बताएकी थिइन् ।

उनले सात लाख रुपैयाँमध्ये दुई लाख रुपैयाँ शिशुको उपचारमा खर्च भएको र पाँच लाख रुपैयाँ भने डा.कर्णलाई बुझाएको दिलमायाले प्रहरीसमक्ष बताएकी हुन् ।

डा.कर्णले युवतीलाई सुत्केरी व्यथा लाग्ने औषधि खुवाएको र युवतीबाट शिशु नर्मल डेलिभरी भएपछि उनलाई शिशु बिनै डिस्चार्ज गरेर पठाइएको प्रहरी अनुसन्धानमा उल्लेख छ । पछि युवतिले आफुले जिवितै बच्चा जन्माएको भन्दै बच्चाको खोजी गर्न सुरु गरेपछि घटना सार्वजनिक भएको थियो । युवतीले बच्चाको खोजी गर्ने क्रममा साउन ३२ गते जिल्ला प्रहरी कार्यालय मोरङमा गोविन्दविरुद्ध किटानी जाहेरीसमेत दिएपनि प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ ।

अदालतले विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंशीलाई २ लाख, सिराहाको कल्याणपुर नगरपालिका–१२ वस्ने ३८ वर्षीया निर्मला यादवलाई १ लाख र मोरङको कटहरी गाउँपालिका–२ की ४६ वर्षीया दिलमाया राजबंशीलाई १० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

प्रहरीले डा.कर्णविरुद्ध ‘व्यक्ति बेपत्ता बनाएको कसुरमा’ मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x