अपराध

सिन्धुपाल्चोकबाटै तीन जना बेपत्ता, आश्रममा रहँदा बम्जनले के-के गरेका थिए ?

दुर्गा आचार्य |
पुस २६, २०८० बिहीबार १३:३४ बजे

तस्विरः नेपाल प्रहरी

काठमाडौँ- २०७१ असोजमा हेलिकोप्टर चार्टर गरेर राम बहादुर बम्जन सिन्धुपाल्चोको बाँडेगाउँ टोड्केभीर पुगे । उनी आफ्नो दिव्य ज्ञानलाई भक्तजनसमक्ष ल्याउन भन्दै सिन्धुपाल्चोकमा शान्त भूमि खोज्दै पुगेका थिए । सिन्धुपाल्चोकमा बसेर विश्वभर प्रचलनमा नआएको मैत्री भाषामा आर्जन गरेको ज्ञानलाई लिपीबद्ध गर्ने उनको योजना थियो । करिब ९६ रोपनी जग्गामा आश्रय लिएर बसेका थिए । सात वर्षसम्म तपस्यामा बसी हासिल गरेका ज्ञान उनी लिपीबद्ध गर्ने साेचमा थिए । कुनै अवरोध नहुने भएपछि २५ जनाको सहयोगीसहित बम्जन बाँडेगाउँमा बस्थे । बाँडेगाउँमा ८ वर्ष सम्म बस्न गएपनि उनले डेढ वर्षमै छाडेका थिए । हेलिकप्टरमा आएका उनी टोयोटा गाडी चढेर फर्केका थिए ।

बारादेखि सिन्धुपाल्चोकसम्मको यात्रा


बाराको हल्खोरिया जंगलबाट उनले २०६८ जेठ २ गते तपस्या समापन गरेका थिए । बारामा तपस्या गरेदेखि चर्चामा चुलिएका उनले विश्वभर आफ्ना भक्तजन बनाइसकेका थिए । तपस्यामा बसेदेखि अन्न नखाएका तपस्वी बम्जनले २०६८ चैत १९ गतेमा ३५ राष्ट्रमा छरिएर रहेका उनका भक्तजनहरुबीचमा अन्न ग्रहण गरे । त्यसबेला उनले आफ्नै चेलाबाट अन्न ग्रहण गरेका थिए ।

तपस्याकै क्रममा २०६८ असोजमा आफ्ना बाबु गुमाएका उनले बौद्ध संस्कार अनुसार कर्मसमेत गरेका थिए । बौद्ध धर्मअनुसार ४९ दिनको कर्म हुन्छ । उनले आफूले आर्जन गरेको ज्ञान र तपस्या गरेको मैत्रीमार्ग अनुसार बाबुको संस्कार गरेका थिए । उनले ७५ दिनमा बाबुको वार्षिकी गरेका थिए । बाराको रतनपुरी स्थायी घर भएका बम्जनको परिवारमा श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी छन् । आमा दुई जना दाजु, २ जना भाइ, तीन दिदी र एक बहिनी पनि छन् । उनी घरका साँइलो छोरा हुन् ।

स्थानीय रतनपुरी स्कुलबाट कक्षा तीनसम्म औपचारिक अध्ययन गरेका बम्जन त्यसपछि लामा पढ्न भारत गए । एक वर्ष भारतमा लामा शिक्षा अध्ययन गरेर नेपाल फिरेपछि उनी ध्यान गर्न हल्खोरिया गएका थिए । भारतमा पाएको लामा शिक्षा कै प्रभावबाट उनी तपस्यामा लागेका हुन् । बाराको जंगलमा आफ्नो तपस्या सम्पन्न गरेका उनी २०६९ जेठ ३१ गते थप तपस्याकै लागि सिन्धुली गएका थिए । सिन्धुलीको बजारमै आश्रम बनाएर उनले तीन महिना तपस्या गरेका थिए । तपस्यापश्चात उनले २०६९ भदौ २७ देखि ३० गतेसम्म महादर्शन कार्यक्रमबाट उनले भक्तजनहरुलाई दर्शन दिएका थिए । ‘शान्त भूमि’खोज्दै तपस्याका लागि उनी सिन्धुलीबाट सर्लाहीको पत्थरकोट गएका थिए । उनका सहयोगीकाअनुसार बम्जन पत्थरकोटमा १ वर्ष पाँच दिन तपस्या गरेर बसेका थिए । विभिन्न स्थानमा महादर्शन गरेर आफ्ना भक्तजनलाई दर्शन दिने क्रममा बम्जन पत्थरकोटबाट ५ दिने कार्यक्रम लिएर चितवनको शारदानगर पुगेका थिए । बम्जनले शारदानगरमा २०७० जेठ २७ देखि २९ सम्म महादर्शन कार्यक्रमबाट भक्तजनलाई दर्शन दिएका थिए । शारदानगरबाट सर्लाही फर्केका बम्जन बाँडेगाउँस्थित टोड्केभीरमा आएका थिए ।

सिन्धुपाल्चोकमा के के गरे ?

बाराको रतनपुरी जंगलबाट तपस्या सुरु गरेका बम्जन शान्त ठाउँ खोज्दै सिन्धुपाल्चोक पहिलोचोटी आएका हुन् । बाँडेगाउँका स्थानीयका अनुसार बम्जन हेलिकोप्टरबाट ओर्लिएको दिन उनलाई हेर्न झण्डै ४ सयको हाराहारीमा गाउँले आएका थिए । उनी ओर्लिएपछि दर्शनका लागि उभिएका गाउँलेको शिरमा हात राख्दै बम्जन अघि बढेका थिए । उनी आउनु चार दिनअघि उनका सहयोगीहरुले आश्रमस्थलको निरीक्षण गरेर फर्किएका थिए । बम्जन सिम्रिक एयको होलिकोप्टरबाट सिन्धुपाल्चोक पुगेका थिए । उनको सुरक्षाका लागि आठ कुकुरसमेत थियो । कुकरका साथै दुई जोडी खरायो र दुई घोडासमेत थिए ।

तपस्यास्थलभित्र दुई खाइवा राखेर बम्जनले थान्कामा चित्र कोरेका समेत थिए । बम्जनको निर्देशन अनुरुप खाइवाहरुले थान्कामा उनको चित्र बनाउने गर्थे । बम्जन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म ध्यानमा रहन्थे ।

सिन्धुपाल्चोकबाटै तीन जना बेपत्ता

बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएका छन् । चारमध्ये तीन जना बेपत्ता सिन्धुपाल्चोकबाट भएका थिए । बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बम्जन प्रहरीको खोजीमा थिए । २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बम्जनको खोजीमा प्रहरी लागिरहेको थियो । बम्जनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ । नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन् । केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन् । उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा । हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए । सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन् । उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन् । यसैगरी, बम्जनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्। उनी निजगढ नगरपालिका ९१२ खुमजोरस्थित बम्जनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका-१५ बडहर्वाका हुन् ।​

तीन आनीसहित सञ्चमान नाम गरेका सहयाेगी आश्रमभित्रै बेपत्ता बनाएकाे भन्दै उनीविरुद्ध उजुरी परेकाे थियाे । उजुरीपछि सिन्धुपाल्चोकमा रहेकाे आश्रममा छापा मार्दा प्रहरीले मानिस जलाएकाे काेइला र कंकालसमेत फेला पारेकाे थियाे । खाडल खनिएकाे र खाडलमा मान्छे गल्ने नुनकाे पाेकाहरूसमेत फेला परेकाे थियाे । काेइलालाई परीक्षणका लागि प्रहरीले लगेकाे थियाे । पछि प्रहरी निष्कर्षमा केही पत्ता नलागेकाे प्रतिवेदन आएपछि उनीविरुद्ध उजुरी गर्ने पीडितका आफन्तले प्रहरीविरूद्ध राष्ट्रिय मानवअधिकार आयाेगमा उजुरी गरेका थिए । सिन्धुपाल्चोकमा लिपि लेख्न भनेर आएका उनी त्यसपछि तपस्याका लागि सिन्धुली लागेका थिए।


Author

थप समाचार
x