अपराध

६ सय बढीलाई ठगेका सुजनले ४ करोड ऋण तिरेर क्रेटा कारमा काठमाडौँमै घुम्थे

पीडितले भनेः हामीलाई नदेखाइ कस्तो खालको पत्रकार सम्‍मेलन हो ?

अतिन आचार्य |
माघ १८, २०८० बिहीबार १५:५३ बजे

काठमाडौँ- युरोपका विभिन्न मुलुकमा पठाइदिने भन्दै रकम उठाइ फरार रहेका विकास वाइवा भन्ने सुजन तामाङ पक्राउ परेका छन् । ललितपुर कोन्जोसोम ४ का इमाडोल बस्ने ३२ वर्षीय तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरिएको हो । 


उनी बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकास वाइवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न कार्यालयका डिएसपी अनिल घिमिरे जानकारी दिए । उनका अनुसार  ६०० बढीलाई ठगी गरेका छन् ।

माल्टा, पोल्याण्ड, क्यानडा र क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि १८ लाखसम्म वाइबाले उठाउने प्रहरीले जनाएको छ ।

 

उनले क्यानडाका लागि १८ लाख, माल्टा ८ लाख, पोल्याण्ड ७ लाख र क्रोएसियाका  लागि ६ लाख ५० हजार पीडितसँग उठाउने गर्थे । नेपाल प्रहरीका एक अधिकारीसँग पनि उनले दुई लाख उठाएका थिए । उनले भिसा आयो भन्दै जागिर छोड्नसमेत लगाएका थिए । 

ठगीको रकमबाट उनले ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेको र ३५ लाखमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेको र उनीहरूको ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ ।

‘वाइबा २०७३ सालदेखि विभिन्न मेनपावरसँग जोडिएर एजेन्टको रुपमा काम गर्थे,’ डिएसपी घिमिरेले भने,’ पाँच वर्ष एजेन्टको काम गरी खाडी मुलुक पठाएका थिए । ‘

उनका अनुसार २०७७ मा ठगी तथा आपराधिक लाभ सम्बन्धी कसुर मुद्दामा फरार रही नेपाल तथा भारतको विभिन्न स्थानमा लुकीछिपी बसेका थिए । गत वैशाखमा उनले विकास वाइबा भनी नक्कली परिचय दिइ बालाजुमा युरो विङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरेका थिए ।

‘सरकारी सुरक्षाकर्मीलाई भिसा आयो भन्दै पैसा लिएर जागिरसमेत छोड्न लगाएका थिए,’ उनले थपे,’ विकास वाइबाको नामबाट बैंक खाता खोली आफैँले हस्ताक्षर गरी बैंक/वित्तीय तथा अन्य सम्पूर्ण कारोबार गर्थे ।‘

कार्यालय परिसरमा भेला भएका पीडितले वाइबाले २०७८ सालदेखि पैसा ठग्दै हिँडेको बताए । 'हामीलाई ठगेर हिँडेका वाइबालाई भेट्न चाहन्छौ,' ती पीडितले इकागजसँग भने,' प्रहरीले पीडितलाई नदेखाइ कस्तो खालको पत्रकार सम्मेलन गरेको हो । पीडितको पनि कुरा सुनिनुपर्छ ।'


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x